पोखरा, १७ पुस
राप्रपा नेपालको मेची–महाकाली रथयात्रा बुधबार पोखरा आईपुगेको छ । पुस ९ गतेदेखि पूर्वी नेपालबाट शुरु भएको रथयात्रा देशका विभिन्न ठाउँ हुँदै आठौं दिन पोखरा आईपुगेको हो ।
नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहित मेची महाकाली रथयात्राको क्रममा बुधबार साँझ पोखरा आईपुगेका थापाले आफुले शुरु गरेको रथयात्रा सत्ता परिवर्तनका लागि नभएको बताए । थापाले राप्रपा नेपालले धर्मको नाममा राजनीति नगरेको र मेची–महाकाली रथयात्रा नेपालीको पहिचान तथा राष्ट्रियताको लागि भएको समेत जिकिर गरे ।
विदेशीको दवाव र प्रभावमा नपरी आउँदो संविधानमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न ठूला दलका शीर्ष दलका नेताहरुसँग आग्रह गर्दै उनले आफुलाई अधिकारकर्मी र नागरिक समाज बताउने केही व्यक्तिले विदेशीको हण्डी खाएर देशमा धर्म निरपेक्षताको कुरा गरेको आरोप पनि लगाए । मेची महाकाली रथयात्राबारे भएको टिकाटिप्पणीप्रति संकेत गर्दै थापाले राष्ट्रिय पहिचानको लागि अभियान थाल्दा आफूलाई हिनताबोध नभएको बताए । उनले सनातन मान्यता सबैभन्दा प्राचिन मान्यता भएको बताउँदै हिन्दुराष्ट्र घोषणा हुँदैमा अरु धर्मको अवमूल्यन नहुने ठोकुवा गरे ।
रथयात्राको क्रममा हजारौँ मुस्लिमहरुले पनि हिन्दुराज्यमा मात्र आफ्नो सुरक्षा भएको बताउँदै हिन्दुराज्यको माग गरेको थापाको दावी छ । जातीय राज्यको कुरा गर्नेले देशका ८४ प्रतिशत हिन्दुको अधिकारबारे नसोच्नु दुर्भाग्यपूर्ण भएको बताउँदै उनले हिन्दुराज्यको पक्षमा सडकमा देखिएको जनमतको कदर हुनुपर्ने औंल्याए ।
बुधवार स्याङ्जाबाट पोखरा आएको रथयात्रालाई पोखराको पृथ्वीचोकमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । विभिन्न जनजातिसहितको ¥यालीमा सहभागीहरुले हिन्दुराष्ट्रको माग गर्दै नारावाजी पनि गरेका थिए । रथयात्रा विभिन्न ३० जिल्लामा पुगि यहि पुस १८ गते काठमाडौंमा पुगेर समापन हुनेछ ।
Comments are closed.