अँग्रेजी नयाँ बर्षमा नेपालीको अपेक्षा

अँग्रेजी बर्ष सन् २०१४ हामीबाट बिदा भएको छ । आजैदेखि नयाँ बर्ष सन् २०१५ पनि सुरु भैसकेको छ । एउटा बर्ष सकिएर अर्को बर्ष आउनु स्वभाविक र नियमित प्रक्रिया नै हो । राजनीतिक, आर्थिक एवं सामाजिक परिवर्तनका हिसाबले सबै बर्षहरु उत्तिकै महत्वपूर्ण नहुने भएपनि नेपालीहरुका लागि गएको बर्ष सन् २०१४ केही महत्वपूर्ण र केही सामान्य बर्षका रुपमा बित्यो । आम नेपालीहरुको आशा र भरोसाका केन्द्रविन्दु मानिएका राजनीतिक दलका नेता र तिनमा आबद्ध नेताहरुले सन् २०१४ मा देशमा ठूलै क्रान्तिकारी परिवर्तनको अपेक्षा गरेका थिए । यदि राजनीतिक दल र नेताहरु नेपालीहरुको त्यो भरोसाको केन्द्र बन्न सकेमा सन् २०१५ को पहिलो महिनामै संविधान जारी हुनेछ । तर त्यो सम्भावना अहिले क्षिण बन्दै गएको छ । सत्तामोहको शिकार संविधानसभालाई बनाउँदा मुलुकमा अहिले झनै राजनीतिक र संवैधानिक संकट चुलिँदै गएको छ । लामो र कठिन संघर्षबाट प्राप्त भएका नागरिक उपलब्धिहरुसमेत यतिबेला धरापमा परेका छन् ।
नयाँं बर्ष सन् २०१५ ले सबैमा नयाँ जोश, सिर्जनात्मक शक्ति र परस्पर मेलमिलापको भावना पैदा गरोस् र मुलुकमा दीगो शान्ति, समृद्धि र राजनीतिक स्थिरता कायम गर्न सकोस् भन्ने सम्पूर्ण नेपालीहरुको चाहना र कामना हो । विगतका घट्नाबाट शिक्षा लिने बाहेक अरु केही गर्न नसकिने भएकाले विगत वर्षको इमान्दार र वस्तुनिष्ठ समीक्षा गरी आगामी बर्षमा देश र संविधानलाई सही दिशातर्फ डोर्याउनुपर्ने आवश्यकता छ । केही समयअघिसम्म सहमतिको नजिक पुगेका मुख्य दलका शिर्ष नेताहरु फेरी टाढिँदै गएका छन् । देशको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थामा नेपाली जनताले सोचेजस्तो सुधार र प्रगती यो बर्षमा दिन सक्नुपर्छ । तैपनी हरेक नयाँ बर्षमा राजनीतिक सहमति, स्थिर सरकार वा यस्तै अपेक्षा गरिएपनि जनताले यसको अनुभूति कहिल्यै गर्न पाएनन् ।
तरपनि नेपाली जनताले सन् २०१५ मा नयाँ कुरा खोजेका छैनन् । सबैको चाहना विगतमा भएका सहमतिलाई एकत्रित गर्दै छिटोभन्दा छिटो संविधानको मस्यौदा जारी भएको हेर्ने छ । व्यक्तिगत, दलीय र समुहगत स्वार्थ पन्छाउँदै देश र नेपालीका लागि स्वार्थ र अपेक्षा पुरा गर्ने काममा सफल हाम्रा सभासद र नेताहरु लाग्न सकुन्, यहि नै शुभकामना ।

Comments are closed.