अख्तियार पुगेपछि चितवन नापीमा भागाभाग

 

१७ असार, चितवन

चितवनको नापी कार्यालयमा अख्तियारको टोली पुग्दा कर्मचारी र बिचौलियाको भागाभाग भएको छ ।

बिचौलियामार्फत् घुस लेनदेन हुन लागेको सूचना पाएपछि क्षेत्रीय कार्यालय हेटौडाबाट अख्तियारको टोली मंगलबार नापी कार्यालय चितवन पुगेको थियो । प्रहरीले घुस रकम त फेला पा‍र्यो तर कर्मचारीलाई भने पक्रन सकेन ।

किनकी अख्तियारको टोली आएको सूचना पाएलगत्तै नापी कार्यालयका सहायक प्रमुख रामकान्त आचार्य उम्किएर भाग्न सफल भए । भरतपुर आँखा अस्पताल परिसर बाईपास मार्गबाट मोटरसाइकल चढेर आचार्य भागेको अख्तियार क्षेत्रिय कार्यालय हेटौंडाका प्रवक्ता महेन्द्र भट्टराईले जानकारी दिए ।

उनी बुधबार पनि सम्पर्कमा आएका छैनन् । उनको खोजी भैरहेको प्रवक्ता भट्टराईले बताए ।

आचार्यले भरतपुरका मोतिबहादुर बराईलीसँग एक लाख रुपैयाँ घुस मागेको खबर पाएपछि अख्तियारको टोली हेटौडाबाट चितवन आइ दुई दिनदेखि नापी कार्यालयमा गोप्य निगरानी गरेको थियो ।

अख्तियारको टोलीले बिचौलिया पिठुवा ९ का दिलबहादुर बुढाथोकीलाई भने नियन्त्रणमा लिएको छ ।

Comments are closed.