अख्तियार पोखरामा उजुरी बढ्यो, बढेन फछ्यौट,शिक्षामा सबैभन्दा बढी

पोखरा, ३० जेठ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखरामा उजुरीको संख्या बढ्दै गएको छ । उजुरी दिनेको संख्या बढेपनि धेरै उजुरी छानविनकै अवस्थामा छन् भने थोरै मात्र उजुरी फछ्यौट भएका छन् । चालु आर्थिक बर्षको जेठ २८ गतेसम्म १ हजार ७ सय ४८ वटा उजुरी परेका छन् । जसमा ८ सय ७५ वटा फछ्यौट भएको छ भने ८ सय ७३ उजुरी अनुसन्धानको क्रममै रहेको तथ्याङ्क आयोगले सार्वजनिक गरेको हो । CIAA-Pokhara-390x351आयोगमा परेका उजुरी मध्ये शिक्षा सम्वन्धि उजुरी सबैभन्दा बढी छन् । क्षेत्रीय कार्यालय पोखराले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नक्कली शैक्षिक प्रमाणपत्र, छात्रबृत्तिमा अनियमितता, जिल्ल विकास समिति, नगरपालिका, शिक्षा कार्यालयले दिएको अनुदान रकमबाट विद्यालय भवन बनाउँदा आर्थिक चलखेल भएको लगायतका ७ सय २७ उजुरी शिक्षासँग सम्वन्धित छन् ।

शिक्षामा परेका उजुरी मध्ये ३ सय ८६ फछ्यौट भएका र ३ सय ४१ बाँकी रहेको अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रवक्ता नरेन्दप्रसाद भट्टराईले जानकारी दिए । गत आर्थिक वर्षबाट चालु आर्थिक वर्षमा जिम्मेवारी सरेका ५ सय ५५ र चालु आर्थिक वर्षमा १ हजार १ सय ९३ उजुरी गरी १ हजार ७ सय ४८ पुगेको हो ।

शिक्षापछि स्थानीय निकायका उजुरी अख्तियारमा धेरै छन् । स्थानीय निकायसँग सम्वन्धित ३ सय ३७ उजुरी मध्ये १ सय १२ वटा फछ्यौट भई २ सय २५ उजुरी अनुसन्धानमा छन् । जिविस, नगरपालिका, मालपोत कार्यालय सम्वन्धि उजुरी बढि आउने गरेको छन् । क्षेत्रीय कार्यालय पोखराका अनुसार भुमी सुधार सम्वन्धि १ सय २७, बनमा १ सय ३२, स्वास्थ्य सम्वन्धि १ सय २१ उजुरी परेका छन् ।

उजुरीको बारेमा छानविन गर्दा अनियमितता वा अनुचित कार्य पुष्टी भएका १९ वटा मुद्धा विशेष अदातलमा दायर गरिसकिएको अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रमुख शंकरबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार १० वटा तामेली र ७ वटा केन्द्रबाट नै विस्तृत अनुसन्धान भइरहेको छ ।

भट्टराईका अनुसार आर्थिक वर्ष ०७०÷०७१मा विभिन्न अन्र्तगत ६ वटा उजुरीको छानविनको क्रममा आर्थिक ऐन विपरित अनियमित तरिकाले खर्च भएको १९ लाख ३८ हजार ४ सय ३७ र चालु आर्थिक वर्षको वैशाख २८ गतेसम्म ६६ लाख ७४ हजार ९ सय ५६ रुपैयाँ विभिन्न निकाय र कर्मचारीबाट असुल उपर गरिएको छ ।

अख्तियार क्षेत्रीय कार्यालय पोखराका डिएसपी श्याम राईले अख्तियार एक्लैले केही गर्न नसक्ने बताउँदै भष्ट्राचार, अनुचित गतिविधि तथा अनियमितता सम्वन्धि सुचना अख्तियारलाई दिन संचारकर्मीसँग आग्रह गरे ।

Comments are closed.