पोखरा, ३ पुस
संघीय समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन अग्रगामी विद्यार्थी युनियनको पोखरा भएको प्रथम राष्ट्रिय सम्मेलनले विवेक राईको अध्यक्षतामा सर्वसम्मत ८७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । संघीय समाजवादी शिक्षा प्राप्तीका दिशामा हाम्रो अभियान, पहिचान सहितको संघीय संविधानको पक्षमा प्रथम राष्ट्रिय सम्मेलन नाराका साथ पुस १ गतेदेखि तमुवानभुमिको पोखरामा भएको सम्मेलनले उपाध्यक्षहरुमा सुवास लाबुङ, हिमेश विक, सञ्जय राई, महासचिवमा केशव चामलिङ, सचिवहरुमा सरीता राई, रजनी श्रेष्ठ, फरेन्द्र थापामगर, विशाल आङ्देम्बे र कोषाध्यक्षमा नेम्बर राई चयन भएका छन् ।
सर्वसम्मत केन्द्रीय समितिको नाम अध्यक्ष मण्डलका अध्यक्ष संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले घोषणा गरेका थिए भने पार्टीका उपाध्यक्ष बीरबहादुर लामाले नवनिर्वाचित केन्द्रीय समितिलाई सपथ ग्रहण गराएका थिए । सम्मेलनले १२ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सम्मेलनबाट जारी प्रस्तावहरुमा संविधानसभाबाट पहिचानको आधारमा राज्यको पुनसंरचना गरी नेपालको अग्रगामी संघीय, समानुपाति, लोकतान्त्रिक, धर्मनिरपेक्ष, जातिय छुवाछुत मुक्त गणतान्त्रिक संविधान निर्माण हुनुपर्ने, संघीय शिक्षा निती लागु गराउन परम्परागत शिक्षा नितीलाई विस्थापित गरी मातृभाषामा प्राथमिक शिक्षाको व्यवस्था हुनुपर्ने उल्लेख छ । यसरी नै शिक्षा व्यवहारिक, व्यवसायिक बजारमुखी र निशुल्क हुनुपर्ने, पहिचानसहितको नामाकरणसहितको राज्यको नामसँग विश्वविद्यालयको नामकरण गरिनुपर्ने, राज्यका हरेक तहमा जनसंख्याको आधारमा समानुपातिक समावेशीताको संबैधानिक सुनिश्चितता लगायतका बुँदाहरु रहेका छन् ।
Comments are closed.