अनिल दाईसँग विताएका पलहरु सिङ्गै किताबमा अट्दैन

10979390_10202380721439716_719671737_n-भाइ तथा सहपाठी हरिप्रसाद पराजुली

अनिल दाईसँग बिताएका रमाइला पलहरु सम्झिंदै जाने हो भने एउटा सिङ्गै किताबमा पनि अट्दैन । तर, आज हामीले एउटा यस्तो दाजु-सहपाठीलाई गुमाएका छौं, जसको अभाव हामीलाई जीवनभर खट्कीरहने छ । 


अनिलदेव घर्ती । मेरा लागि पुरानै र आत्मीय नाम । अनिल दाईसँग मेरो चिनजान त्यस्तै २० बर्ष पहिलाको हो । मेरा प्रिय दाई हुनु अघि उहाँ मेरो लागि मेरै एकजना मिल्ने साथी (विश्व) को फुपुको छोरा मात्र हुनुहुन्थ्यो । उहाँको बसाई धेरै बर्ष ललितपुर बंगलामुखीमा थियो । समयले मलाई पनि काठमाडौँ बुद्धनगरमा पुर्‍याे   । समयले नै उहाँलाई मेरो साथीको फुपुको छोराबाट मेरो सबैभन्दा नजिकको मित्र नै बनाइदियो । उमेरको कुरा गर्ने हो भने त मैले भन्दा ३÷४ वटा भोटो बढी नै फटाल्नु भएको हो । तर, पनि हाम्रो सम्बन्ध साथीको नै रह्यो । सम्बोधन भने मैले दाई नै भनेर गर्थे । कुरा २०६०÷६१ साल तिरको हो । हामी यति नजिक भयौं की जति बेलापनि सँगै हुन थाल्यौं । सँगै खाने, सँगै हिड्ने र सुत्ने पनि । हामी कहिले मेरो डेरामा त कहिले उहाँकोमा समय विताउँथ्यौं । हामी एकै परिवारको जस्तो भएर बस्यौं । अनिल दाईसँग उहाँको डेरामा जाने आउने गर्दागर्दै अनन्त दाई र बिमला दिदी (अनिल दाईको दाई र दिदी) पनि मेरै दाई र दिदी जस्तै लाग्न थालेको थियो । उहाँहरुले पनि मलाई निक्कै माया गर्नुहुन्थ्यो । अनिल दाईसँग बस्दा, घुम्दा समय गएको पत्तै हुदैनथ्यो । कसैसँग पनि नरिसाउने हँसिलो अनुहार मानौं की कोही केही कुराले रिसाएर आएका छन् र अनिल दाईको हसिलो अनुहार को अगाडी प¥यो भने रिस त्यसै हराएर जान्थ्यो । काठमाडौंमा उहाँ मार्फत् धेरैलाई भेट्ने मौका पाएँ । उहाँले भेटाएका मान्छेहरु पनि सबै उहाँ जस्तै नै भेटें मैले । कति जनासँग त मेरो अहिलेसम्म पनि निकै गहिरो सम्बन्ध छ । उहाँसँग हिँडडुल गर्दा मैले महशुस गरेको सबै भन्दा ठुलो कुरा केहो भने उहाँले संगत पनि जो पायो त्यहीसँग नराख्नु हुँदोरहेछ । आफैं जस्तै आँखामा राखे पनि नबिझाउने मान्छेहरुको समूह नै रहेछ उहाँसँग । हाँसखेल गरेर मात्र समय बिताउने भन्दा पनि उपलब्धिमुलक काम गर्नुपर्छ भन्ने मान्यता राख्ने अनिल दाईसँग मिलेर हामीले (प्रकाश सुवेदी, उत्तम पौडेल, सूर्य पोख्रेल, राजु जो मेरै भाइ होे लगायतका साथीहरु) नेपाल टेलिभिजनको लागि “मुग्लान तिरका पाइलाहरु” (निर्देशक सुधन लम्साल दाई हुनुहुन्थ्यो) नामक कार्यक्रम पनि उत्पदान गर्‍याै‌। मैले पहिलो पटक क्यामरा फेस गर्ने मौका पाएँ । त्यति बेला नेपाल टेलिभिजनमा आफ्नै अनुहार देख्दा म पनि दङ्ग थिएँ । समयको अन्तरालसँगै हामीले पछि एउटा Event Management Company  दर्ता गर्‍याै‌ र काठमाडौँ सुन्धारामा Fashion Show & Musical Evening  र नयाँ बानेश्वरको एभरेष्ट होटेलमा Fashion Show & Musical Extravaganza आयोजना गर्‍याै‌ । पछि हामीले “खोज सुनौलो भाविष्यको” भन्ने अनाथ बालबालिकाहरुको बारेमा वृत्तचित्र पनि तयार पार्‍याै‌ । हाम्रो सबै कामको संयोजन अनिल दाई आफैं गर्नुहुन्थ्यो । निकै फुर्तिको साथ काम गर्ने अनिल दाई समयको पनि पक्को हुनुहुन्थ्यो । भनेको समयमा कुनै पनि हालतमा उपस्थित हुने बानि थियो अनिल दाईको । कोटेश्वर तिनकुनेमा हाम्रो कार्यालय थियो । म बुद्धनगरबाट कार्यालय पुग्नु भन्दा पहिले उहाँ बंगलामुखीबाट छिटो आइपुग्नु हुन्थ्यो । अनिल दाई कै नेतृत्वमा हामीले भ्खभचभकत ऋयििभनभ,थापाथलिका विद्यार्थीहरुलाई पोखरा लगायत घान्द्रुक र लान्द्रुक भ्रमण पनि लगेका थियौं । सबैको प्रिय अनिल दाई पहिला अस्ट्रेलियामा आफ्नो उच्च शिक्षा हाँसिल गरेर आउनु भएको थियो । हामी यति नजिक हुँदा पनि उहाँले कहिले पनि अस्ट्रेलियाको किस्सा भने सुनाउनु भएन, किन हो थाहा छैन । धेरै वर्ष उहाँ सँगसँगै हुँदा उहाँ अलिक भावनात्मक हुने बाहेक अरु केही नराम्रा बानी थाह पाइएन । आफु पनि नराम्रो बाटोमा नहिड्ने र हामीलाई पनि नहिड्न सल्लाह दिनुहिन्थ्यो बारम्बार । समय बित्दै जाँदा म पनि काठमाण्डौ छोडेर २०६६÷६७ तिर पोखरा आए । त्यसपछि हाम्रो भेटघाट टेलिफोनमा नै सिमित रहन थाल्यो । तर, पछि अनिल दाई पोखरा फर्किएर आफ्नै व्यापार गर्न थालेपछि हाम्रो भेट फेरी बाक्लिंदै गयो ।

1016528_10151678877748950_845149171_n (1)
काठमाडांै नयाँ बानेश्वरको नोबेल एकेडेमीको दस जोड दुई व्यवस्थापन संकायको पहिलो ब्याजको अनिल दाई लगायत, सुधन दाई, अभिषेक राजभक्त माथेमा, बिबेक गुरुङ, रबिन्द्र पासा र अरुसँग पनि मेरो भेटघाट भएको थियो । त्यति बेलाको एउटा घटनाको आज साह्रै याद आएको छ । हुन त घटनाको म प्रत्यक्षदर्शी र पात्र त होइन तर अनिल दाई र सुधन दाईबाट थाहा पाएको भएर पनि अहिलेको परिस्थितिमा साह्रै मन छोएको छ । कुरा १५ वर्ष अगाडीको हो । एकदिन सुधन दाई र अभिषेक दाई, अनिल दाईको डेरामा बस्नु भएको थियो रे । रातिको करिब १२ः३० मा एकजना उज्ज्वल भन्ने साथीको घरमा फोन गर्दा उसको बाबाले फोन उठाउनु भएछ । त्यसपछि उज्ज्वललाई बोलाइदिनुहोस न, अर्जेन्ट छ भनेर भन्दा उज्ज्वलको बाबाको मुखबाट अचानक किन र कोही बित्यो र बाबु भन्ने प्रश्न निस्किएछ । जवाफमा हो भन्दा साथीहरुबीच को बित्यो भन्ने छलफल चल्दा चल्दै अनिल दाईले म बित्यो भन्न भने पछि उज्ज्वल लगायत अरु साथीहरुलाई फोन गरेर सबैलाई हाम्रो साथि अनिल वितेको हुनाले आर्यघाटमा फुल माला सहित आउने सुचना दिएर आफूहरु सुतेछन । भोलिपल्ट कलेजमा हंगामा नै चलेको रहेछ । त्यति बेला एउटा ठट्टा गरेर रमाइलो गरेका अनिल दाई आज साच्चै नै यो संसारबाट टाढा जानु भयो । अनिल दाईका अन्य साथीहरु त्यो दिनको ठट्टा सम्झिएर यसपालिको पनि ठट्टा नै होस् भन्ने कामना गर्दै होलान् । अहिलेको घटना पछि मेरो सुधन लम्साल दाईसँग त्यही बिषयमा पनि कुरा भएको थियो । सायद अनिल दाईका ति साथीहरुलाई पनि गाह्रोे भएको होला यति बेला । उहाँहरुले कहाँ सोच्नु भएको थियो र त्यति बेलाको ठट्टा यति छिट्टै हकिकतमा परिणत हुन्छ भन्ने । यो दैव संजोकलाई पनि धिक्कार्नु भएको होला ।


‘इन्द्रै बिन्ति गरुन झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो, आया टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो’ भनेको धेरैचोटी पढेको र सुनेको थिए । त्यस दिन हामीले गरेको कामना पनि सुनेन । यस्ता मिलनसार, सहयोगी र आँखामा राखेपनि नबिझाउने दाजु र सहपाठीलाई गुमाउनु पर्दा साह्रै नै मर्महात भएका छौ । उहाँको परिवारमा त झन कति विचल्ली भएको होला कल्पना पनि गर्न सक्दैनौं ।


 

खैर, अनिल दाईसँग बिताएका रमाइला पलहरु सम्झिंदै जाने हो भने एउटा सिङ्गै किताबमा पनि अट्दैन । तर, आज हामीले एउटा यस्तो दाजु÷ सहपाठीलाई गुमाएका छौं, जसको अभाव हामीलाई जीवन भरि खट्कीरहने छ । अनिल दाई र योजना भाउजुको विवाह भएको ६ वर्ष मात्र भएको थियो । उहाँहरुको एउटी छोरी थिइन् । छोरी रोजेट भर्खर ४ वर्षमा प्रवेश गरेकी थिइन् । यस्तो लाउँलाखाउँला भन्ने कलकलाउँदो उमेरमा नै दैवले तीनै जनालाई चटक्कै टिपेर लग्यो । धादिङ शसुरालीमा काका शसुराको बिहेको निम्तो मान्न जाँदा बिद्युत्त शर्ट भएर घरमा आगलागी हुँदा तीनै जनाको त्यही घटनामा दुखद् निधन भएको सुन्नेहरुको जिउ पक्कै पनि लगलग कामेको होला । जलेर चिन्नै नसकिने भएको पार्थिव शरिरलाई पोखरा रामघाटमा अन्तिम संस्कार गरिएको थियो । आफै कल्पना गर्नुहोस् तीनै जनाको सब एउटै चितामा राखेर बिदा गर्दा कस्तो भयो होला ।

घटना घटेको माघको १८ गते हो । हामी सबै आ–आफ्नै काममा थियौं । १० बजे कार्यालय आउने बित्तिकै मैले ईन्टरनेटमा समाचार देखे । ‘पाहुना समेत ४ जनाको जलेर मृत्यु’ (अनिल दाईको शासुरा बुवाको पनि सोहि घटनामा मृत्यु भएको थियो) यसो अलिअलि पढेर अरु छोडे र बिचार कस्तो घटना घटेछ भन्ने लग्यो । मान्छेको मननै हो आफुले चिनेको नपरेसम्म त्यति वास्ता नगरिँदो रहेछ ।पछि सबै साथीहरुसँग सम्पर्क हुँदा त छाँगाबाट खसे जस्तो भयो । सबैलाई पत्याउनै गाह्रो भएको थियो । यो खबर सत्य नभए हुने थियो भनेर कामना गर्दैगर्दा यो खबर पुष्टि भैसकेको थियो । ‘इन्द्रै बिन्ति गरुन झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो, आया टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो’ भनेको धेरैचोटी पढेको र सुनेको थिए । त्यस दिन हामीले गरेको कामना पनि सुनेन । यस्ता मिलनसार, सहयोगी र आँखामा राखेपनि नबिझाउने दाजु र सहपाठीलाई गुमाउनु पर्दा साह्रै नै मर्महात भएका छौ । उहाँको परिवारमा त झन कति विचल्ली भएको होला कल्पना पनि गर्न सक्दैनौं ।
बिस्तारै म लगायत सबै साथीहरु (निर्मल दाई, मनोज सर, उत्तम, प्रकाश भान्जा, श्रीराम मामा) भेट भयौं । विश्व पहिलेनै अनिल दाईको घर बुढीबजार गएका थिए । अनिल दाई विश्व कै फुपूको छोरा हुनुहुन्थ्यो तेसैले घरतिरै गएर सबैलाई सम्झाउने र भेला पार्ने काममा व्यस्त थिए सायद । हामी भेला भएर रामघाट पुग्यौं । त्यँही नै कुरेर बस्यौं । पछि सबैजना आएपछि अन्तिम संस्कार गरेर सधैका लागि विदा गरियो । यो घटना भएको आज १३ औं दिन हो । आज १३ औं दिनको पुण्य तिथिमा दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक समवेदना ब्यक्त गर्न चाहन्छु । अनिल दाईको भौतिक शरीर हामी माझ नभएपनि सदैव हाम्रो मनमुटुमा रहीरहनु हुनेछ ।

 

Comments are closed.