पोखरा १८असार / शुक्रबार कवि, गितकार हरिभक्त कटुवालको ८० औं जन्मदिवस । विभिन्न तरिकाले साहित्यकारहरुले उनको सम्झना गरेका छन् । जन्मोत्सवको अवसरमा उनको जीवनमाथि तयार पारिएको वृत्तचित्र राजधानीमा प्रर्दशन भएको छ । कवि प्रोल्लास सिन्धुलीयको लेखन, नाटककार तथा निर्देशक पुरु लम्सालको निर्देशन र गजलकार सुरज गुरुङको सहनिर्देशनमा तयार पारिएको ‘अनि हरिभक्त फर्किएनन्’ सर्वनाम नाटकघरमा प्रर्दशन भएको हो । वृत्तचित्रले उनको जीवनका केही लुकेका र केही बाहिर आएका जीवनका आरोह–अवरोहलाई उजागर गर्ने प्रयास गरेको छ ।
भारतको आसामबाट नेपाल आएर गरेको साहित्य र जीवन सङ्घर्ष, उनीबारे उनका परिवार, नेपाल र भारतका साथीभाई, आफन्त र सरसंगतीले दिएका अभिव्यक्तिलगायत विषयलाई उजागर गर्ने प्रयास गरिएको लेखक सिन्धुलियाले बताए ।
कार्यक्रममा कटुवालसँग संगत गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णविभु घिमिरे, नगेन्द्रराज शर्मालगायतले उनीसँगका स्मृति सुनाएको निर्देशक लम्सालले जानकारी दिए । ‘हरिभक्त कटुवाल थोरै रचना लेखेरै पनि सफल लेखक हुन् । उनका जीवनका धेरै आरोहअवरोहहरु छन्’ निर्देशक लम्सालले भने ‘हामीले उनका केही पक्षलाई उजागर गर्ने र कटुवालको चिनारीलाई फराकिलो बनाउने प्रयास गरेका छौं ।’ याे वृतचित्रलार्इ अङ्ग्रेजीमा समेत अनुबाद गरि विश्व साहित्यमा चिनाउने प्रयास गरिने तथा विभिन्न देशमा सहकार्य गरी प्रदर्शनका लागि जमर्काे गर्ने निर्माण पक्षले लक्ष्य लिएकाे छ । महेश पौडेलले यसकाे अंग्रेजी अनुबाद गरेका छन् । एउटा व्यक्ति माथि यस्ताे खालकाे वृतचित्र नेपालमा नबनेकाे बतार्इएकाे छ । कटुवालकाे एउटा रङ्गीन फाेटाेसमेत नपार्इकाे अवस्थामा लामाे समय दुड्डख गरेर बृतचित्र निर्माण गरिएकाे लम्सालले बताए ।
उक्त अवसरमा उषा शेरचन, मोमिला, रावत, सोझो गाउँले, सौरभ कार्की, सन्ध्या पहाडी, शकुन्तला जोशी, रामगोपाल आशुतोष, आरएम डङ्गोल, एलबी क्षेत्री लगायतले कटुवालका कविता बाचन गरेका थिए ।
कटुवालको बाल्यकाल निकै आर्थिक अभावमा वितेको थियो । हरिभक्त कटुवाललाई धेरैले रसिक भनेर चिन्थे । तर, निक्कै पीडादायी जिन्दगी भोग्ने क्रममा ४५ बर्षको अल्पायुमा अल्सरका कारण उनको मृत्यु भयो । ‘मलाई नासोध कहाँ दुख्छ घाउ’, ‘पोखिएर घामको झुल्का भरि आगनैमा’, ‘हाँगाहाँगा बनभरी चैत फुलेछ थाहा नपाई मनभित्र बैंश फुलेछ’ जस्ता कालजायी गीतका रचनाकार कटुवाल २०२६ सालमा असमबाट काठमाडौं आएका थिए ।
कटुवाललाई नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको मुखपत्र प्रज्ञाको प्रबन्ध सम्पादकमा भर्ना गरिएको थियो । त्यही समयमा उनी सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजय मल्ल, ईश्वरवल्लभ, भूपी शेरचन, उत्तम कुँवर र अम्बर गुरुङका सम्पर्कमा पनि पुगे ।
नेपाली साहित्य संस्थानमा पनि कटुवाललाई सचिव बनाइएको थियो । अनि त्यस ठाँउमा साहित्यिक व्यक्तिहरुसँग कटुवाल रक्सी खाई बस्थे । त्यतिबेला उनीसँग साँगी लाग्न घरिघरि भूपी शेरचन र ईश्वरवल्लभ पनि पुग्ने गर्थे ।
रक्सी खाएका बेला कटुवाल निहुँमात्रै खोज्थे । त्यसैले विजुली खाएका बेला उनका छेउ स्रष्टाहरु प्रायः जान मान्दैन थिए ।धेरै ठेस लागेपछि कटुवालले जीवन बुझ्दै जान थाले । उनको जीवनको विशेषता उनी इमान्दार थिए । जस्तै कठोर जरीमाना भोग्नु परे पनि उनी असत्य बोल्दैन थिए । तर, उनले जिन्दगीलाई जित्न नसकेर रक्सीमा डुब्न थाले । अनि त्यही रक्सीले उनलाई डुबाई दियो ।
२० वर्षको उमेरदेखि कटुवालले आफ्ना रचना पत्रपत्रिकामा छपाउन थाले । लेख्तालेख्तै यिनले काठमाडौं आउँदा एउटा गीतसड्ग्रह, एउटा कविता सड्ग्रह र एउटा खण्डकाव्य लिएर आएका थिए । काठमाडौं आएपछि उनले ‘यो जिन्दगी खै के जिन्दगी’ प्रकाशनमा ल्याए । त्यसै कवितासड्ग्रहले यिनलाई चर्चाको शिखरमा पुर्यायो । त्यसपछि उनले कथासड्ग्रह ‘स्पष्टिकरण’ प्रकाशित गरे । अनि उनको शेषपछि भीमकान्त उपाध्यायको सङ्कलन र सम्पादनमा ‘वदनाम मेरा यी आँखाहरु’ प्रकाशनमा आयो । त्यस कृतिमा पनि उनका कालजयी गीतिकविता सङ्ग्रहित भए । विसं.१९९२ साल असार १८ गते भारतमा जन्मिएर साहित्कार कटुवाल विसं. २०३७ साल भदौ २५ गते भारतको डिबुगढमा पुगेर अस्ताएपछि ‘अनि हरिभक्त फर्केनन्’ ।
Comments are closed.