पोखरा, १८ चैत / कास्कीमा रहेका सहकारीले रु नौ अर्ब ३८ करोड ८३ लाख एक हजार ४१७ निक्षेप सङ्कलन गरेका छन् । सहकारीले रु नौ अर्ब ८५ करोड १४ लाखभन्दा बढी ऋण लगानी गरेको देखिन्छ ।
सहकारी डिभिजन कार्यालय कास्कीको आर्थिक वर्ष २०७०÷०७१ को विवरण अनुसार करिब रु दुई अर्ब ७५ करोड २३ लाखजतिको सेयर पुँजी तथा रु २९ अर्ब १७ करोड ७५ लाख जतिको जगेडा कोष रहेको छ । यो सबै कारोबार विश्वासमा टिकेको छ । पच्चीस जना सेयर सदस्य जम्मा भई सहकारी डिभिजन कार्यालयमा जानासाथ सहकारी दर्ता हुन्छ । उद्देश्य जे लेखे पनि सहकारीले अहिले गर्ने भनेको निक्षेप सङ्कलन नै हो । पैसा उठाउने र लगानी गर्ने यस्ता सहकारी संस्था कसरी चलेका छन् भन्ने कुरा सहकारी डिभिजनलाई थाहै हुँदैन । नेपाल राष्ट्र बैंक समेत यसबारे कमै जानकार हुन्छ ।
“चलिरहेको सहकारीलाई खारेज गर्ने अधिकार हामीसँग छैन, हाम्रो काम त लेखा परीक्षण, माइन्यूट, कर चुक्ता, परीक्षण रिपोर्ट हेर्ने मात्र हो”, डिभिजन कार्यालयका प्राचार्य बद्रिनाथ अधिकारीले भने– “समुदायले चलाएकाले बदमासी हुँदैन भन्ने मान्यतामा सहकारी अडेको छ ।” सदस्यको जिम्मामा भएकाले धेरैजसो सहकारी राम्रै चलेका छन् । पैसा उठाएका छन् । मन लागेको ठाउँमा लगानी गरेका छन् । मनलाग्दो ब्याज असुलेका पनि छन् र नाफा कमाएका छन् । यतिसम्म त ठीकै छ । तर, कदकदाचित भनेजस्तो भएन भने ?
डिभिजन सहकारीका प्राचार्य अधिकारी भन्छन्–“सहकारीले ठूलो कारोबार गर्न थालेपछि खतरा बढ्दै गएको छ, ऐन संशोधनका लागि गएको छ, आएपछि बल्ल केही होला ।” सहकारीमा जम्मा भएको ठूलो रकम अहिले अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानीको सीमा राखिदिएपछि पनि यो क्षेत्रमा हुँदै आएको ठूलो लगानी सहकारीमार्फत नै भएको सिटी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीको अनुमान छ ।
“अहिले जग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी बढेको छ” उनले भने– “वाणिज्य र विकास बैंकले तोकिएको सीमारेखा नकाटे पनि बढेको लगानी कहाँबाट आएको हो अनुमान लगाउन गाह्रो छैन ।” सञ्चालकहरू समेत अल्पकालीनरुपले सहकारीमा रकम राख्ने र झिक्नेले घरजग्गालगायतका अनुत्पादक क्षेत्रमा नै लगानी गरेको स्विकार्छन् । “सदस्यहरू ऋण माग्न आउँछन्, काम एउटा देखाउँछन् र लगानी अन्यत्रै गर्ने गर्छन्”, नाम नलेखिदिने सर्तमा एक सञ्चालकले भने “अहिले कमाएका छन् र तिर्छन्, भोलि टाँट पल्टिए भने के गर्ने ? ।”
ऋण लिन झन्झट व्यहोर्न नपर्ने, केही व्यक्तिलाई प्रभाव वा विश्वासमा पार्नासाथ काम बन्ने र लिएको ऋणको भाखा नाघे पनि मिलाउन सकिने तथा खासमा आयकरजस्ता विषयबाट उन्मुक्ति पाइने भएकाले सहकारीप्रति यस्ता व्यवसायीको आकर्षण बढेको हो । कास्की जिल्ला सहकारी सङ्घका अध्यक्ष पूण्यप्रसाद पौडेलका अनुसार अनुत्पादक क्षेत्रमा लगानी गर्ने सहकारीको भविष्य राम्रो हुँदैन । समुदायले समुदायकै आर्थिक उन्नतिको लागि काम गर्नुपर्ने बताउँदै उनले भने–“अनुत्पादक क्षेत्रमा गर्ने लगानी दिगो हुँदैन र जुनसुकै बेला पनि संस्था धरासायी हुनसक्छ ।” रासस
Comments are closed.