पोखरा, १३ साउन/ पश्चिमाञ्चल होटल संघ पोखराले देशविदेशका पर्यटकलाई ढुक्क भएर अन्नपूर्ण क्षेत्रको भ्रमण गर्न आग्रह गरेको छ । ख्यातीप्राप्त अन्तराष्ट्रिय एक संस्थाले विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र सुरक्षित भनी दिएको प्रतिवेदनको स्वागत गर्दै संघले पर्यटकलाई यस्तो आग्रह गरेको हो । यस क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको मियामोतो इण्टरनेशनलले अन्नपूर्ण क्षेत्र भूकम्पपछि पनि सुरक्षित भएको प्रतिवेदन हालै सरकारलाई बुझाएको थियो ।
मियामोतोले सत्यतथ्यमा आधारित प्रतिवेदन तयार पारेकोमा संघले खुशी व्यक्त गर्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले मंगलबार एक विज्ञप्ति जारी गरी बताएका छन् । भूकम्पले पर्यटन क्षेत्र नराम्रो गरी प्रभावित भएको यस्तो अवस्थामा उक्त प्रतिवेदन आउनु निकै सकारात्मक भएको अध्यक्ष पराजुलीले बताए । उक्त प्रतिवेदनसँगै सरकारले अन्नपूर्ण क्षेत्र भूकम्पपछि पनि सुरक्षित रहेको भन्दै पदयात्रा (ट्रेकिङ)का लागि सुरक्षित र खुला भएको घोषणा गरेको छ ।
सो प्रतिवेदन यही साउन ७ गते राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै अन्नपूर्ण क्षेत्र पदयात्राका लागि खुल्ला भएको घोषणा गरिएको हो । यो संस्थाले विभिन्न ३१ गाउँ र कूल दुई सय २१ किलोमिटर लामो क्षेत्रको अध्यन अवलोकन गरेको मियामोतो इण्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत डा किट मियामोतोले जानकारी दिएका थिए । उक्त क्षेत्रमा पर्ने कुल ३० ओटा पुलसमेत पूर्ण रूपमा सुरक्षित रहेका छन् । अधिकांश क्षेत्रमा हेलिकोप्टर र कतिपय क्षेत्रमा पैदलयात्रा गरी अन्नपूर्ण क्षेत्रको अध्ययन गरिएको मियामोतोले कार्यक्रममा जानकारी दिएका थिए ।
देशविदेशमा मान्यताप्राप्त संस्थाबाट आएको प्रतिवेदनपछि विदेशी पर्यटकबीच सकारात्मक सन्देश जाने आसासहित अध्ययनको जिम्मेवारी मियामोतो इण्टरनेशनललाई दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले बताएका थिए । तर यही समयमा पदयात्रा गराउने र पर्वतारोहण गराउने संस्थाकै जिम्मेवार व्यक्तिबाट अन्नपूर्ण क्षेत्र अझै सुरक्षित नभएको भन्ने भनाई बाहिर ल्याइनु गैरजिम्मेवार र लज्जाजनक भएको समेत होटल संघले बताएको छ ।
अन्नपूर्ण क्षेत्र विश्वकै उत्कृष्ट पदयात्रा क्षेत्र मध्ये एक पर्छ । सन् २०१४ मा उक्त क्षेत्रमा झण्डै एक लाख ३० हजार पर्यटकले पदयात्रा गरेका थिए । अन्नपूण चक्रीय पदयात्रा लम्जुङ सदरमुकाम वेशिशहरबाट सुरु भई मनाङ, मुस्ताङ, म्याग्दी हुँदै कास्कीको नयाँपुलमा झरेर टुंगिन्छ । अन्नपूर्ण क्षेत्र पाँच जिल्लाका ५७ गाविस अन्तर्गत सात हजार छ सय २९ वर्गकिलोमिटर क्षेत्रमाफलमा फैलिएको छ ।
Comments are closed.