अन्याेलमा प्लाष्टिकमुक्त अभियान, पटक पटक मिति ताेकियाे तर घाेषणा भएन

हचुवाको तयारी, अन्योल नै अन्योल

– नवराज ढुङ्गाना

प्लाष्टिकमुक्त घोषणा गर्न कहिले कहिले तोकियो मिति ?

  • २०७० मंसिर
  • २०७० माघ
  • २०७१ साउन
  • २०७१ असोज

माघ १५ गते-
पोखरा उप–महानगरपालिकालाई प्लाष्टिक मुक्त नगर बनाउने अभियान अन्यौलमा परेको छ । प्लाष्टिक मुक्त नगर घोषणाका लागि गतबर्ष तीन पटकसम्म मिति तोकिएपनि नगरपालिकाले आवश्यक तयारी गर्न नसक्दा अभियान नै अन्यौलमा परेको हो ।
यसअघिका कार्यकारी अधिकृत झलकराम अधिकारीले गतबर्ष मंसिरमै पोखरालाई प्लाष्टिकमुक्त घोषणा गर्ने योजना बनाएका थिए । तर संविधानसभा निर्वाचनका कारण मंसिरमा अभियान प्रभावित हुने भएकाले माघ १ गते प्लाष्टिकमुक्त नगर बनाउन भन्दै व्यापक प्रचारप्रसार गरेका थिए ।

अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै यसैबर्षको साउन १ गते प्लाष्टिकमुक्त नगर घोषणा गर्नेगरी मिति सारिएको थियो । करिब ६ महिनाको समयमा समेत कार्यकारी अधिकृत अधिकारीले आवश्यक तयारी गर्न नसकेपछि, पुनः यो मिति असोज १ गतेका लागि सारियो । अन्ततः आवश्यक तयारी विनै अघि सारिएको यो महत्वाकांक्षी योजना असोजमा पनि पूरा हुन सकेन । र पोखरालाई प्लाष्टिकमुक्त शहरका रुपमा हेर्ने धेरैको अपेक्षा अपेक्षामै सिमित हुनपुग्यो ।

अहिले यो अभियान सुरु गरेका कार्यकारी अधिकृत झलकराम अधिकारी पोखराबाट सरुवा भएर अन्यत्रै गैसकेका छन् भने पहिले निकै चर्चा पाएको प्लाष्टिकमुक्त नियन्त्रण अभियान पनि यतिबेला सेलाएको छ । पोखरालाई प्लाष्टिक मुक्त नगर बनाउन अहिले कुनै तयारी थालिएको छैन भने व्यवसायीहरुसँग छलफल समेत गरिएको छैन ।

  • महेश बराल, कार्यकारी अधिकृत- “दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान प्लाष्टिकमै प्याक भएर आउँछन्, जंक फूड लगायतका खाद्यान्न पनि प्लाष्टिककै खोलभित्र राखिएको हुन्छ । यो सजिलो काम होईन, नियन्त्रण गर्न सकिन्छ तर तयारी गर्न भने समय लाग्छ ।”
  • चुडामणि तिवारी, फोहोरमैला व्यवस्थापन शाखा- “सस्तो लोकप्रियताका लागि हचुवाको भरमा अभियान घोषणा गरियो । गर्नुपर्ने काम अझै धेरै छन्, पूर्ण प्लाष्टिकमुक्त घोषणा गर्नु चानचुने कुरा होईन ।”
  • अध्यक्ष, विन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य संघ- “हामीले कहिल्यै पनि प्लाष्टिकमुक्त अभियानलाई सहयोग गर्दैनौं भनेका छैनौं ।नगरपालिकाले योजना बनाएर छलफलका लागि बोलाउनुपर्यो, धेरै व्यवसायीहरुसँग यस बिषयमा छलफल गर्नुपर्ने हुन्छ, नगरपालिकाले वैकल्पिक व्यवस्था गरिदिन्छ भने सबै व्यवसायी तयार हुन्छन् ।”

अहिले यो अभियान सुरु गरेका कार्यकारी अधिकृत झलकराम अधिकारी पोखराबाट सरुवा भएर अन्यत्रै गैसकेका छन् भने पहिले निकै चर्चा पाएको प्लाष्टिकमुक्त नियन्त्रण अभियान पनि यतिबेला सेलाएको छ ।

पोखरालाई प्लाष्टिक मुक्त नगर बनाउन अहिले कुनै तयारी थालिएको छैन भने व्यवसायीहरुसँग छलफल समेत गरिएको छैन ।
व्यवसायीसँगको आपसी समन्वय र तयारी विना नै अभियान घोषणा गरिएकाले सफलता पाउन नसकेको उप–महानगरपालिकाकै कर्मचारीहरु स्विकार्छन् ।
“सस्तो लोकप्रियताका लागि हचुवाको भरमा अभियान घोषणा गरियो ।” उप–महानगरपालिकाका फोहोरमैला व्यवस्थापन शाखाका चुडामणि तिवारीले भने– “गर्नुपर्ने काम अझै धेरै छन्, पूर्ण प्लाष्टिकमुक्त घोषणा गर्नु चानचुने कुरा होईन ।”
उनले यो अभियानलाई पूर्णता दिनका लागि गृहकार्य भने भैरहेको बताए । अब कार्यकारी अधिकृतसहित व्यवसायीहरुसित छिट्टै एउटा बैठक बसेर कसरी अभियानलाई सफल पार्ने बिषयमा छलफल गरिने उनको भनाई छ ।
पोखरा उप महानगरपालिकाका अहिलेका कार्यकारी अधिकृत महेश बरालले पूरै नगरलाई प्लाष्टिक मुक्त घोषणा गर्ने काम त्यति सजिलो नभएको बताए ।
“दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान प्लाष्टिकमै प्याक भएर आउँछन्, जंक फूड लगायतका खाद्यान्न पनि प्लाष्टिककै खोलभित्र राखिएको हुन्छ ।” नेपाल रिपाेट्स सँग कुराकानी गर्दै उनले भने– “यो सजिलो काम होईन, नियन्त्रण गर्न सकिन्छ तर तयारी गर्न भने समय लाग्छ ।”
यसका लागि निजी क्षेत्रका उद्योगी र व्यवसायीको साथ र समर्थन सबैभन्दा महत्वपूर्ण हुने उनले बताए । पोखरा भित्रिने सामानमा प्लाष्टिकको सट्टा अन्य वैकल्पिक सामग्रि प्रयोग गर्नका लागि व्यवसायीसँग गम्भिर छलफल गर्नुपर्ने र तत्काल तयारी सुरु गरेमा पनि कम्तिमा अझै ६ महिना समय लाग्ने उनको भनाई छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखरा उप–महानगरपालिकाको यो अभियानमा आफुहरुको पूर्ण सहयोग र समर्थन रहने बताए । पोखरालाई सफा र स्वच्छ राख्नका लागि नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा संघसहित सम्पूर्ण व्यवसायीको साथ रहने उनको भनाई छ ।
“हामीले कहिल्यै पनि प्लाष्टिकमुक्त अभियानलाई सहयोग गर्दैनौं भनेका छैनौं ।” उनले भने–
“नगरपालिकाले योजना बनाएर छलफलका लागि बोलाउनुपर्यो, धेरै व्यवसायीहरुसँग यस बिषयमा छलफल गर्नुपर्ने हुन्छ, नगरपालिकाले वैकल्पिक व्यवस्था गरिदिन्छ भने सबै व्यवसायी तयार हुन्छन् ।”
नगरपालिकाले व्यवसायीलाई प्लाष्टिक उद्योग र यसको प्रयोगको वैकल्पिक व्यवस्था गर्नका लागिसक्दो सहयोग गर्नुपर्ने र पर्याप्त समय दिनुपर्नेमा उनले जोड दिए ।
गतबर्ष पोखराका सबैजसो पसल तथा ठाउँमा २० माईक्रोनभन्दा कम साईजका प्लाष्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने गरी अभियान घोषणा गरिएको थियो । तर अभियान सुरु हुन नपाउँदै यो कार्य अन्यौलमा परेको हो ।
यसअघि २०६८ सालमा नै पोखरामा कालो प्लाष्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाईएपनि सबै प्रकारका प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाउन भने ठूलै मेहनत र तयारी गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थले मानव स्वास्थ्य तथा वातावरणमा प्रत्यक्ष असर गर्ने भएकाले पोखरालाई प्लाष्टिकमुक्त नगर घोषणा गरी कागज, कपडा, जुट वा अन्य पदार्थबाट बनेका झोला र सामग्रि प्रयोगमा जोड दिनुपर्नेमा सरोकारवालाहरुको जोड छ ।
पोखरामा अहिले प्लाष्टिकबाट बनेका झोला, चिया खाने गिलास, चम्चा लगायतका सामग्रिको प्रयोग बढ्दो छ ।

Comments are closed.