कञ्चनपुर, २७ वैशाख ः कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिचवाकी बरफी रानाको सात महिनानै नपुगी जन्मिएको छोरा अपांग भएपछि घर परिवारदेखि गाउँमा कुरा काट्ने धेरै थिए । जन्मिँदैदेखि हातखुट्टा शरीरका केही भाग पनि नचल्ने भएपछि छोराको उपचारका लागि उहाँले गाउँका धामीझाँक्रीदेखि आर्थिक अवस्थाले भ्याएसम्म चिकित्सकलाई समेत देखाउनुभयो ।
तर उनका छोरा शिवपूजन निको हुने कुनै उपाय कसैले जुराउन सकेनन् । आर्थिक अवस्था निकै कमजोर भएकाले महँगो उपचार गराउने उनको परिवारमा क्षमता थिएन ।
चार सन्तानको लालनपालन गर्न दुई कट्ठा जग्गामा घरबास भएका रानाका श्रीमान्ले गाँउकै इँटाभट्टामा काम गरेर परिवारको दैनिक साँझ बिहानको छाक टार्न निकै चुनौतीको सामना गर्नुपरेको छ । एकजनाले शिवपूजनको हेरचाहमै दिन बताउनुपर्ने बाध्यता पनि राना परिवारमा रहेको छ । अपांगताको अधिकार र गाउँपालिकाबाट पाउने सेवा सुविधाका बारे समूहमा छलफल हुँदा जानकारी पाएपछि बरफीले भन्नुभयो, “परिचयपत्र बनाउन दुईपटक जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म पुगेँ, तर कर्मचारी नभेट्दा परिचयपत्र बनेन, निराश हुँदै घर फर्कनु प¥यो, तर पनि हिम्मत हारिन ।”
गाउँपालिकामै समूहमै छलफलका क्रममा अपांगता परिचयपत्र दिने टोली गाउँपालिकामा पुगेको कुरा सुनेपछि गाउँपालिका पुगेर निवेदन दिएँ, उहाँले भन्नुभयो, “निवेदन दिएको केही घण्टामै रातो परिचयपत्र प्राप्त भयो, हर्षका आँशु थाम्नै सकिनँ ।”
आर्थिक अवस्था निकै नाजुक रहेका राना परिवारले छोराको परिचयपत्र पाउँदा खुशीको आँशुमात्रै झार्नु भएन, मुहारमा खुशी छर्दै छरछिमेक र गाँउमा समेत शिवपूजनले पाएको परिचयपत्रका बारे बताएर खुशियाली साटासाट गर्न पछि पर्नुभएन । परिचयपत्र पाएपछि पाउने भत्ताको रकमले शिवपूजनको उपचारसँगै परिवारको खर्च चलाउनेमा उहाँ ढुक्क देखिनुभएको छ ।
अरु अपांगता भएकालाई समेत उहाँले हिम्मत दिँदै पछि नपर्न सल्लाह दिनुहुन्छ । गाउँकै समूहमा संगठित नभएको भए परिचयपत्र पाउनेबारे जानकारीनै हुँदैनथ्यो, उहाँ बताउनुहुन्छ । संस्थाले आँखा खोलिदिएपछि परिचय पाउन सकेकोमा उहाँ गौरवान्वित भएको महसुस गर्नुहुन्छ । (रासस)
Comments are closed.