पाेखरा २ चैत /काठमाडौं उपत्यका बाहिर पहिलोपटक पोखरामा टेष्टट्युब बेबी सेवा संचालन हुने भएको छ ।
पोखराको प्रस्र्याङस्थित सहारा इण्टरनेश्नल फर्टिलिटी सेण्टरद्धारा संचालन हुन लागेको सेवाको मंगलबार काँग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा बाग्लुङ बसपार्कमा रहेको सहारा हस्पिटल प्रा.लि. अन्तर्गत रहेको सेवाले पश्चिमाञ्चल क्षेत्रका निः सन्तान दम्पत्तीलाई फाइदा पुग्ने सहारा हस्पिटलका अध्यक्ष डा. गिरधारी शर्माले बताए ।
सेण्टर संचालनका लागि प्राविधिक र व्यवस्थापन गरी करिब २ करोडको लागत खर्च भएकोे छ ।
भारतको नयाँदिल्लीस्थित इन्टरनेश्नल फर्टिलिटी सेण्टरको प्राविधिक र विशेषज्ञता सहयोगमा यो सेवा संचालन गरिएको हो ।
यो प्रविधि महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई बाहिरै टेष्टट्युबमा सेचन गरी ४८ घण्टापछि महिलाको पाठेघरभित्र राख्ने अत्याधुनिक प्रविधि भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राजेश अधिकारीले जानकारी दिए । यो प्रविधिबाट ४० प्रतिशत माथि सफलता प्राप्त गर्न सकिनेछ ।
नेपालमा पहिलो पटक काठमाडौस्थित ओम अस्पतालले यो सेवा सुरु गरेको थियो । विश्वकै तथ्यांक हेर्दा १० प्रतिशत दम्पत्तीमा बाँझोपनको समस्या रहेको पाइन्छ ।
Comments are closed.