अमरसिंह उच्च माविकाे विवाद साम्य भएन

पाेखरा १३ साउन/ विगत दुई महिनादेखि तनावग्रस्त पोखराको अमरसिंह उच्च माविमा उत्पन्न विवादले अझै उग्र रुप लिँदै गएको छ । प्रधानाध्यापक नियुक्तीको विवादमा ताला लगाउने र फोड्ने क्रम जारी छ ।

मंगलबार पुनः शिक्षकहरुले बिहानदेखि तालाबन्दी जारी राखेपछि दिउँसो विद्यार्थीहरुले त्यसलाई पनि फोडिदिएका थिए । उता लामो समयसम्म तनाव उत्पन्न भएपछि पढाईको वातावरण सिर्जना गर्न माग गर्दै मंगलबार नै विद्यार्थीहरुको अर्काे समूहले तालाबन्दी गरेपछि घटनाक्रम थप तनावग्रस्त भएको हो । मंगलबार नै अखिल क्रान्तिकारी र एकिकृत अखिल नेपाल शिक्षक संगठनका कास्की जिल्ला समितिले समेत विद्यालयमा तालाबन्दी गरेको छ ।Untitled

विद्यालयका प्रधानाध्यापक नवराज पौडेलको कार्यकाल सकिएपछि नयाँ प्रधानाध्यापक नियुक्तीको बारेमा नेकपा एमाले र एकिकृत माओवादी शिक्षकहरुबीच विवाद हुँदै आएको छ । जिल्ला शिक्षा कार्यालयले विद्यालयको प्रधानाध्यापकमा केशव आचार्यलाई नियुक्ती गरेपछि एमाओवादी पक्षधर शिक्षकहरुले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरी आचार्यलाई असहयोग गर्दै आइरहेका थिए ।

मंगलबारको घटना पछि दुवै पक्ष एक अर्का विरुद्ध लाग्ने अभिव्यक्ति सार्वजनिक भएसँगै अझै तनाव हड्ने अवस्था छैन । अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले दुई हप्ता अगाडी विद्यालयमा प्रधानाध्यापक केशव आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेका छन् । अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष कृष्णराज दाहालले विद्यालयको प्रधानाध्यापकमा केशव आचार्यलाई गरिएको नियुक्ती नै अवैधानिक भएको बताएका छन् । उनले यसको बारेमा जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय लगायतमा समेत पुगेको जानकारी दिँदै न्यायको पक्षमा लड्न तयार रहेको पनि बताए ।

Comments are closed.