अमेरिका ईयू, र क्यानडाद्वारा चीनमाथि प्रतिबन्ध ः

चीनको प्रतिबाद

ऐजेन्सीः उइगर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै कैयौँ पश्चिमा देशहरूले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन्।धेरैजसो मुस्लिम भएको उक्त समुदायका मानिसहरूलाई चीनले शिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरमा थुनामा राखेको छ।त्यहाँ उनीहरूलाई यातना दिइएको, श्रममा लगाइएको र यौन दुर्व्यवहार गरेको भन्ने आरोप चीनमाथि लागेको छ।आफूबीच समन्वय गरेर युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले आर्थिक प्रतिबन्धहरू लगाएका हुन्।
के भन्छ चीन?
चीनले आफूले दुर्व्यवहार गरेको भन्ने आरोप अस्वीकार गरेको छ। आतङ्कवादसँग जुध्नका लागि ती शिविरहरू “पुनः शिक्षा“ को सुविधाका लागि बनाइएको चीनको दाबी छ।प्रतिक्रियास्वरूप चीनले पनि युरोपेली अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।युरोपेली सङ्घले सुरुमा प्रतिबन्ध घोषणा गरेपछि चीनले सोमवार त्यसलाई “केवल मिथ्या सूचना र असत्यमा आधारित“ भनेको थियो।चीनले १० जनामाथि प्रतिबन्ध लगाउने र युरोपमा रहेका “चीनको सार्वभौमसत्ता र स्वार्थकलाई आघात पु¥याउने अनि मिथ्या सूचना फैलाउने“ चारवटा संस्थालाई पनि प्रतिबन्ध लगाउने जनाएको छ।चीनको प्रतिबन्ध लागेका व्यक्तिहरूले कुनै पनि प्रयोजनका लागि चीनमा प्रवेश गर्न पाउनेछैनन्।तर यूकेका विदेशमन्त्री डोमिनिक राबले उइगरमाथिको व्यवहार “मानवअधिकारको डरलाग्दो हनन“ गर्ने खालको भएको बताएका छन्।युरोपेली सङ्घले सन् १९८९ मा चीनमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि सेनाले गोली चलाएयता मानवअधिकार हननको विषयलाई लिएर चीनमाथि प्रतिबन्ध लगाएको थिएन।
प्रतिबन्ध
उइगर मुस्लिमको मानवअधिकार हनन भएको आरोप लागेका शिन्जियाङका वरिष्ठ अधिकारीलाई यात्रामा प्रतिबन्ध र सम्पत्ति रोक्का गर्ने भनिएको छ।प्रतिबन्ध लगाइएका व्यक्तिमा शिन्जियाङका जनसुरक्षा ब्यूरोका निर्देशक, कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका सदस्यसहित पाँच जना छन्।विदेशमन्त्री राबले शिन्जियाङमा उइगर मुस्लिमहरूमाथिको दुर्व्यवहारलाई “हाम्रो समयकै मानवअधिकारको एउटा नराम्रो सङ्कट“ भनेका छन्।अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले पनि एउटा विज्ञप्तिमा चीनले “मानवताविरुद्ध नरसंहार र अपराध“ गरेको बताएका छन्। बी बीसी बाट सााभार

Comments are closed.