अलपत्र आमाहरुको उद्धारमा महङ्गो भाडामा हेलिकप्टर

अमृत सुवेदी/ पाेखरा १७ बैशाख

सिन्धुपाल्चोकमा अलपत्र परेका पोखरा छोरेपाटनका आमाहरुको उद्धारमा स्थानीयले पैसा उठाएर हेलिकप्टरको व्यवस्था गरेका छन् । गएको शुक्रबार छोरेपाटनको गुप्तेश्वर महिला जागरण समाजका आमाहरु खासा भ्रमण गएका थिए । शनिबार र आइतबार गएको भूकम्पले सिन्धुपाल्चोकको कोदारी चौकीडाडाँमा ३३ जना आमाहरु अलपत्र परेका हुन् । ६ दिनदेखि अलपत्र परेका आमाहरु विरामी पर्न थालेपछि स्थानीय रुपमा पैसा उठाएर हेलिकप्टरको व्यवस्था गरिएको स्थानीय गोपि बरालले जानकारी दिए । बिहीबार दिउँसो हेलिकप्टर सिन्धुपाल्चोकका लागि उडेको भएपनि मौसमका कारण समस्या परेको बताइएको छ । बिहीबार साँझसम्म ४ जनालार्इ सिन्धुपाल्चाेककै चाैतारासम्म पुर्‍याइएकाे छ भने शुक्रबारसम्म सबैलार्इ चाैतारा पुर्‍याइने र त्यहाँबाट गाडीमा पाेखरा अाउने बताइएकाे छ ।

‘उद्धारका लागि हामीले प्रशासनदेखि सबैलाई गुहारौं’ बरालले भने ‘कसैले चासो नदिएपछि महङ्गोमा हेलिकप्टर भाडामा लिएर पठाइएको छ ।’ एक घण्टाको एक लाख रुपैयाँ भाडा तिर्ने गरी हेलिकप्टर भाडामा लिइएको स्थानीय नारायण पौडेलले जानकारी दिए । अलपत्र परेका परिवारबाट पैसा उठाइएको उनले जानकारी दिए । कसैले चासो नदिँदा उद्धारमा महङ्गो भाडा तिरेर मुक्तिनाथ एयरवेजको हेलिकप्टर भाडामा लिनुपर्दा दुःख लागेको बरालले बताए । ‘सबैजना विरामी पर्न थाले’, बरालले भने ‘यहाँ परिवजारलाई भोक न निन्द्रा भएको छ । रिन खोजेरै भएपनि उद्धारमा हेलिकप्टर भाडा लिएका हौं ।’ एकपटकमा तीन जनासम्म अट्न सक्ने हेलिकप्टरको साह्रै महङ्गो भाडा तिर्नु परेको स्थानीयको गुनासो छ । चार जनालाई भने बिहीबार राहत लिएर सिन्दुपाल्चोक गएको हेलिकप्टरले काठमाडौं ल्याइदिएको छ । अब २९ जना आमाहरु उद्धारको पर्खाइमा छन् ।

उनीहरुलाई लिएर गएका गाडी ड्राइभर भने गाडीमा क्षति पुगेपछि भागेर पोखरा आइपुगेका छन् । उनीहरुलाई स्थानीय क्लवले त्रिपाल दिएर बस्ने व्यवस्था मलाएको हो । विनासकारी भूकम्पले ठूलो ठूलो जनधनको क्षति पुर्‍याएको सिन्धुपाल्चोकमा पहिरोले राजमार्गसमेत बन्द छ ।

Comments are closed.