११ चैत, काठमाडौ– सोमबार अष्ट्रेलियामा संसद् भवनभित्र भएका यौन गतिविधिको भिडियो स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएपछि सरकार दबावमा परेको छ ।अष्ट्रेलियाका सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार संसदमा काम गर्ने एक पूर्व कर्मचारीले भिडियो तथा तस्वीर सार्वजनिक गरेका हुन्, जसमा संसद् भवनका कर्मचारीहरु एक महिला सांसदको कार्यकक्षमा यौनजन्य क्रियाकलाप गरिरहेको देखिन्छ ।अष्ट्रेलियाको संसद् भवनमा यस्ता घटनाहरु नौलो नभएको समेत उनको दाबी छ ।संसद् भवनको प्रार्थना हलमा संसद्का कर्मचारीहरुले यौनजन्य क्रियाकलाप गर्नुका साथै सत्तारुढ गठबन्धनका सांसदलाई खुसी पार्न यौनकर्मीहरु संसद् भवनमा बोलाइने गरेको दाबी गरे ।भिडियो सार्वजनिक भएसँगै भिडियोमा देखिएकी महिला कर्मचारीलाई निश्कासन गरिएको छ । प्रधानमन्त्री स्कट मौरिसनले सार्वजनिक भिडियो अपमानजनक र लज्जास्पद रहेको प्रतिक्रिया दिएका छन् ।संसद् भवनलाई सही प्रणालीमा ल्याउनु जरुरी रहेको भन्दै उनले भने, ‘यो निकै नराम्रो कुरा हो र कुनै पनि हातलमा स्वीकार्य हुन सक्दैन ।’
प्रधानमन्त्री मौरिसनले संसद् भवनको वातावरण सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदलाई महिलामैत्री बनाउँदै अझै धेरै महिलालाई संसद्मा आउन प्रेरित गर्नेसमेत उनले बताएका छन् । साथै कन्जरर्भेटिभ पार्टीबाट निर्वाचन लड्न महिलाका लागि निश्चित कोटा छुट्याउने विषयमा छलफल गर्न तयार रहेको पनि बताएका छन् । विपक्षी लेबर पार्टीमा भने लामो समयदेखि निर्वाचनमा जान महिलालाई केही निश्चित कोटा छुट्याइएको छ ।
तर अष्ट्रेलियाका महिला नेतृहरुले सोमबार सार्वजनिक भएको भिडियोसँगै संसद् भवनको खराब संस्कृतिको आलोचना गरेका छन् । सोमबारको भिडियो संसद् भवनको संस्कार महिलाप्रति अपमानजनक छ भन्ने प्रमाण रहेको उनीहरुले बताएका छन् । केहीले भने संसदका कर्मचारीहरुलाई आफूले चाहेको जे पनि गर्न सक्छु भन्ने लागेकाले यस्तो गतिविधि भएको बताएका छन् ।अष्ट्रेलियाका वित्तमन्त्री सिमोन ब्रिमिंघमले यो घटनाले संसद्मा काम गर्ने अन्य मानिसहरुको अपमान भएको बताएका छन् । अनलाइन खबरबाट सााभार
Comments are closed.