कास्कीमा लाखौंको तरकारीबालीमा क्षती
नवराज ढुङ्गाना/ पाेखरा ९ बैशाख ।
पोखराको छिनेडाँडाका कमल विक मङ्गलबार बिहानैदेखि बारीमा फलेका तरकारी टिप्ने तयारी गर्दै थिए । बिहान पोखराको मौसम घमाईलै थियो । दिउँसो एक्कासी असिनासहितको पानी पर्छ भन्ने कसैलाई लागेको थिएन । पोखरामा आजभोली दिउँसोको समयमा चरक्कै घाम चर्किन थालिसकेको छ । त्यही भएर पनि विकले साँझपख भएभरका तरकारी टिपेर भोलीपल्ट तरकारी बजार पुर्याउने योजना बुनेका थिए । टिप्न भरेभोली भएको तरकारी अघिल्लै दिन टिप्नुपर्ने भएपनि अझै राम्रो बजार भाउ पाईन्छ की भन्ने आशाले मङ्गलबार साँझ टिपेर बुधबार बिहान बजार पुर्याउने सोच बनाए ।
तर, दिउँसो एक्कासी असिनासहितको ठूलो पानी परेपछि, विकको बारी केही मिनेटमै उजाडसरह भयो । तरकारी टिप्न डोको र बोरा ठिक्क पारेकै बेला एकाएक असिना बर्सिन थालेपछि, भोलीपल्ट तरकारी बेचेर पैसाको मुठो समात्ने विकको सपना असिनासँगै चुटियो । असिनाले महिनौं मेहनत गरेर उब्जाएको तरकारी निमेषभरमै छियाछिया परेपछि, विकले मन थाम्न सकेनन् । “पोहोर भन्दा यो लटको तरकारी असाध्यै राम्रो फलेको थियो ।” निराश हुँदै विकले पोखरा हटलाइनसँग भने– “असिनाले सबै चुट्नु चुट्यो, खानै नलेखेपछि कसैगरी नहुँदो रहेछ ।”
करिब २५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेका विकले यसपटक बारीभर जुकेनी फर्सि, सिमी, बन्दा, काउली लगायतका तरकारी फलाएका थिए । अघिल्लो पटकको तरकारी राम्रो उत्पादन भएपछि, अहिले पनि त्यस्तै हुने आशामा अझै बढी तरकारी लगाएको विक बताउँछन् ।
“मैले यहि ठाउँमा तरकारी खेती गर्न थालेको ५÷७ बर्ष भैसक्यो ।” उनी भन्छन्– “बर्षको डेढ लाख रुपैयाँ जग्गाको भाडा तिर्नुपर्छ, राम्रो आम्दानी हुने तरकारी सबै असिनाले चुटेपछि अब के खानु के तिर्नु ?”
विक त एक प्रतिनिधि पात्रमात्रै हुन् । मङ्गलबार पोखरामा परेको असिनापानीबाट विकजस्तै धेरै किसान पीडित भए । करिब साढे २ बजेतिर करिब २० मिनेटजति परेको असिनापानीले पोखराको छिनेडाँडा, हेम्जा, मालेपाटन, चाउथे, विरौटा लगायतका ठाउँमा लगाईएको लाखौंको तरकारी बाली र भर्खरै फुल खेल्न सुरु भएको सुन्तला, लिची लगायतका फलफूलबालीमा बढी क्षति पुगेको छ ।
“पोखरा र आसपासका क्षेत्रमा मङ्गलबार ठूलै असिनापानी पर्यो ।” जिल्ला कृषि विकास कार्यालय कास्कीका वागवानी विकास अधिकृत मनहर कडरियाले भने– “धेरै ठाउँबाट किसानहरुको फोन आएको छ, कति क्षति भयो भन्ने विवरण अाउँदै छन् ।”
कडरियाका अनुसार यसअघिको तुलनामा यसपटक किसानको बारीमा धेरै तरकारी भएकाले क्षति पनि धेरै नै भएको छ । स्थानीयस्तरमा मौसमी तरकारीमा असिनाले ठूलो क्षति पुर्याएपछि, पोखराको तरकारीबजारमा बुधबारदेखि तरकारीको भाउ बढ्ने अनुमान गरिएको छ । कास्कीमा अहिले करिब ३ हजार किसानहरु व्यवसायीक तरकारी खेतीमा आबद्ध छन् भने करिब २ हजार ६ सय हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ ।
Comments are closed.