अस्ताए सूर्य, गृहजिल्लाको भविष्य अध्याँरो

धकुटा : पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भएपछि उनको जन्मथलो धनकुटा शोकमग्न भएको छ । सूर्यको तेजझैं देश विदेशमा कहलिएका नेता र जिल्लाको भविष्यका आशाको केन्द्र र अभिभावक थापाको निधनले धनकुटाबासी दिउँसै अध्यारो भएको महुशुस गर्न थालेका छन् ।बलियो राजनीतिक पहुँच भएका थापाको निधनपछि उनकै समकालिन अन्य नेता नहुँदा धनकुटाले ठूलो क्षति ब्यहोरेको धनकुटा नगरपालिका–४ का मोहन श्रेष्ठले बताए ।

बिहीबार धनकुटा सदरमुकामस्थित पार्टी कार्यलयमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्न सयौंको संख्यामा नेता कार्यकर्ता र शुभेच्छुक भेला भए ।जिल्ला र गाउँस्तरका कार्यकर्ता र शुभेच्छुकसँग भेटमा राजनीतिक भन्दा पारिवारिक सोधखोजमा बढी चासो राख्ने थापाको अभावमा धनकुटाबासीले राजनीतिकरुपमा जिल्लाको पहुँच अतिकमजोर भएको बताउन थालेका छन् ।

जिल्लाका साझा अभिभावक

पाँच पटकसम्म प्रधानमन्त्री भएका थापाले राजनीतिक परिवर्तनसँगै आफूलााई परिवर्तन गर्नसक्ने नेताकारुपमा स्थापित गर्नु नै उनको महानता रहेको जिल्लाबासी बताउँछन् ।धनकुटाबासी भनेपछि यो वा त्यो पार्टी वा समुहको भनी विभेद नगर्ने राजनेता एवम् अभिभावक गुमाएको जिल्लाबासीको भनाइ छ ।

यी योगदन अविस्मरणीय

पूर्व ब्रिटिसहरुका लागि व्यवसायिक कृषि उत्पादनमा मद्दत गर्न ब्रिटिस सरकारको सहयोगमा पाख्रीबासमा कृषि अनुसन्धान केन्द्र, धनकुटा–६ मा भूपू सैनिकका छोराछोरी पढाउन स्वास्थ्य क्याम्पस र विकट धनकुटासम्म पुग्ने धरान–धनकुटा ५२ किलोमिटर मोटरबाटो सूर्यबहादुर थापाकै पहलमा बनेका हुन् ।

पछिल्लो सयम भारत सरकारको सहयोगमा सदरमुकामका लागि बृहत खानेपानी योजना र अन्य गाविसमा सुविधासम्पन्न विद्यालय भवन बनाउन पहल गर्ने अभिभावक गुमाउँदा कठिनाई भएको नेपाल शिक्षक संघका अध्यक्ष गंगारमा ढुंगानाले बताए ।

राणाकालिन गाँैडा हुँदै पूर्वाञ्चलको सदरमुकाम रहेको धनकुटा २०४६ सालको प्रजातन्त्र प्राप्तीपछि मोरङको विराटनगर सार्न लागिएको क्षेत्रीय कार्यलय रोक्न थापाले नै लिएको अडान निर्णायक भएको थियो । सोही कारण उनी मरेर गएपनि कहिले विर्सन नसकिने धनकुटाबासी बताउँछन ।

सबै विचारसँग समान व्यवहार
स्वास्थ्य, शिक्षा र बाटो खर्च माग्दै उनको दैलोमा पुग्ने दुःखी गरिबले कहिल्य रित्तो हात फर्कनु परेन । विकास निर्माण र रोजगारीका समस्यामा परेकाहरुलेसमेत उनीबाट दिल दुखाएर फर्कनु नपरेका कारण उनको निधनमा धनकुटेली बढी दुःखी भएका राप्रपा धनकुटा अध्यक्ष कुमारबहादुर थापाले बताए ।पटक–पटक मन्त्री–प्रधानमन्त्री भएका उनी गृहजिल्ला आउँदा अधिकांश समय सदरमुकामकै डेरामा बस्थे ।

जन्मथलोको घर भग्नावेशमात्र
Suryabahadur Thapa Home_Muga

क्षेत्र नं. २ मा पर्ने साविक मुगा गाविस–२ हाल पाख्रीबास नगरपालिका–१४ मा रहेको उनको पुख्र्यौली घर हाल जीर्ण भएर भग्नावशेषमात्र बाँकी छ । काठमाडौंबाट कालिगढ झिकाएर बनाइएको एक सय झ्यालढोका र २४ कोठासहितको तीन तले दरबार शैलीको घरमा २०५९ सालमा माओवादिले बम पड्काएका थिए ।

घरमा संस्कृत ग्रन्थसहितको पुस्तकालय, पुराणघर, अतिथीगृह रहेका थिए । घरछेउमा रहेको शिव, राम र हनुमान लगायतका मन्दिरमा नित्य पुजा पनि मूर्ति तोडफोड भएपछि रोकियो ।

कार्यकर्ता भेटघाट, पार्टी कार्यक्रम एवम् जिल्ला दौडाहमा धनकुटा आउँदा सदरमुकामस्थित भीमनारायण चोकका शंकर श्रेष्ठ डिठ्ठाको घरमा डेरामा बस्ने थापा गाउँ घुमेर बेलुका डेरामै आइपुग्थे ।सदरमुकाममा बुबा टेकबहादुर थापासँग ५ वर्षको उमेरमा सोही घरमा बसेका थापा बिहे गरेपछि पनि धनकुटा आएका बेला खान बस्न बाहिर गएनन् ।

सबै सञ्चारकर्मी समान
सञ्चारसंस्थाहरु र सञ्चारकर्मीको सम्मान गर्ने थापाले राज्यका निकायमा काम गर्नेभन्दा सूचना प्रवाह गर्ने पत्रकारहरु बढी जिम्मेवार हुनुपर्नेमा जोड दिने गरेका थिए ।

सबै सञ्चारकर्मीलाई समान नजरले हेर्ने थापामा पत्रकारले कडा स्वरमा गरेका प्रश्नमा सुझाव दिँदैघुमाएर प्रहार गर्ने बानी थियो । राष्ट्रिय–अन्तराष्ट्रिय पहुँच भएका थापालाई उनका विपक्षीहरुलेसमेत निर्णायक व्यक्तित्वको रुपमा मान्ने गरेका थिए ।

पञ्चायतकालमा धनकुटाको छिन्ताङ हत्याकाण्डले थापा विवादित बनेका थिए । उनकै निर्देशनमा छिन्ताङमा हत्याकाण्ड मच्चाइएको आरोप लाग्ने गरेको छ । ०४६ सालपछि होस् वा ०६२÷६३ को को परिवर्तनपछि थापाले समयानुसार आफूलाई परिवर्तन गर्दै अघि बढेका थिए ।

विकास निर्माणदेखि राज्यका सबै प्रशासनिक क्षेत्र र राजनीतिको केन्द्रमा रहेर सन्तुलन बनाउन सक्ने खुबी थापामा थियो । सोही कारण धनकुटेलीमाझ उनी साझा अभिभावक बन्न सफल भएको धनकुटेली नागरिक र सञ्चारकर्मी बताउँछन् ।

Comments are closed.