अहिलेको बजारले जे खोज्छ त्यो चल्छ

IMG_5291प्रमोद खरेल अहिलेका चल्तीका गायक हुन् । १९८० नोभेम्वर ५ उनको जन्मदिन हो भने भारतको आसम उनको जन्मस्थल । बनियानी–५ झापा, उनले हुर्केबढेको ठाउँ, अहिले उनी काठमाण्डौंका स्थायी बासिन्दा बनिसकेका छन् । अर्गानिक केमेस्ट्रीमा मास्टर डिग्री गरेका खरेलले प्रयाग संगित महाविद्यालय भारतबाट क्लासिकल म्युजिकमा सिनियर डिप्लोमा गरेका छन् । हालसम्म ‘प्राप्ती–१९९९’, ‘सेन्टिमेन्ट्स–२००३’, ‘प्रणय–२०१०’, ‘प्रवेग–२०११’, ‘निर्झरी–२०१२’ र ‘हंगामा–२०१३’, जस्ता एल्वमहरु आफ्ना श्रोताहरु समक्ष पस्किसकेका प्रमोदले ३०० भन्दा धेरै कलेक्सन एल्वमहरुका लागि आवाज दिइसकेका छन् । सयौंको हाराहारीमा नेपाली चलचित्रका लागि आफ्नो पाश्र्व आवाजको जादु छरेका प्रमोदले हाराहारी एक दर्जन गीतका लागि संगित पनि दिएका छन् । आफ्नो सांगितिक करिअरमा पाँच दर्जन देशहरुको भ्रमण गरिसकेका उनि पछिल्लो समय देशभित्रकै पनि विभिन्न मेला महोत्सव तथा कार्यक्रमहरुमा सर्वाधिक आमन्त्रित हुने गायकका रुपमा चिनिन्छन् । दर्जनौ एवार्डहरुबाट सम्मानित खरेलका‘ म विना कसैकसैलाई मुस्किल छ पोखरामा….’, ‘याद गर्न पनि…’, डुवायो पापी मायाले लगायत दर्जनौ गीतहरु चर्चित छन् । अहिलेका निकै व्यस्त र चर्चाका गायक प्रमोद खरेलसंग मन क्षेत्रीका ७ प्रश्न…..


कुनै एउटा सुन्दर गीतका लागि गीतकार, संगितकार, गायकसंगै एरेञ्जर र रेकर्डिस्टको पनि महत्वपूर्ण भूमिका हुन्छ । तर, नेपालमा गायकमात्रै चर्चित र बिकाउ देखिन्छन् । किन होला ?

एउटा पूर्ण गितका लागि गीतकार, गायक, संगितकार मात्र नभै बाद्यवाधक, रेकर्डिस्ट, प्रचारपसारको यो जमानामा सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ । यो भूमिकामा गीत संगित सुन्ने श्रोताहरु अझ महत्वपूर्ण छन् । तर पनि फ्रन्टमा गायक देखिने हुँदा गायकको अलिक बढि चर्चा हुने गर्छ । दर्शक तथा श्रोताहरुलाई गायकको अनुहार याद हुन्छ । बन्द कोठामा हुने अन्य कामको तुलनामा एक्सपोज हुने कलाकार बढी विक्ने कुरा स्वभाविक पनि हो । अडियन्सलाई बन्द कोठामा के भयो ? कसरी भयो ? भन्ने भन्दा पनि गायकले कुन गीत कसरी गायो, प्रस्तुत कसरी ग¥यो ? भन्ने कुरा नै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ । फेरी संगितकारहरुले पनि कमाइरहेका हुन्छन् तर त्यो कमाई, बन्द कोठाको जस्तो हुने भएकाले नदेखिने वा दर्शक श्रोताहरुलाई थाहा नभएको हुनसक्छ । गायक अव, यताउता कुदिरहेको हुन्छ, म्युजिक भिडियोहरुमा आईरहेको हुन्छ । आदी कारणहरुले पनि गायक अलिक विकाउ देखिएको हो र यो इन्टरनेशनल्ली पनि यस्तै छ । बरु हामीकहाँ बाहिरजस्तो गीतकारहरु चाहीँ प्रोफेशनल छैनन् ।

एउटा गायकले सुमधुर आवाज दिएर बाहेक, नेपाली सांगितिक क्षेत्रको विकास र उत्थानका लागि कस्तो भूमिका निर्वाह गर्न सक्छ ?

गायकको काम स्वर दिनु र स्वरकै विकासमा लाग्नु हो जस्तो लाग्छ । यसका अलावा गायकले नेपाली जनजीवनमा लुकेर छिपेर बसेका हाम्रा आफ्ना पहिचान र मौलिकता बोकेका गीतहरुको उत्खनन र उजागर पनि गर्न सक्छन् । यस क्षेत्रमा लाग्न चाहने नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र हौसला पनि प्रदान गर्न सक्छन् तर यो भन्दा अघि बढने हो भने त नेपाल जस्तो देशमा राजनीतिमै उत्रनुपर्छ नत्र सम्भव नै छैन ।

नेपाली संगित यतिवेला अल्पायूका गीतसंगितको उत्पादनमा छ । कालजयी गीतहरु बनेनन् भन्ने जस्ता आरोपहरुका पछाडी गायकहरु मेला महोत्सव भनौ न, कन्र्सट वा स्टेज केन्द्रीत भएकाले हो भन्ने पनि गरिन्छ । यहा“ त मेला महोत्सवमा पनि सर्वाधिक रुचाइएका गायक मध्य एक पर्नुहुन्छ क्यारे ! के लाग्छ ?

यो कालजयीको परिभाषा नै थाहा छैन मलाई त ! सधैं बाचिरहने गीत भनेको कस्ता गीतहरु हुन् । अब, हिजोका गीतहरु चाँही निश्चित थोरै गीतहरु थिए । ति थोरै गीतहरु धेरै मान्छेहरुले धेरै पटक सुने र पो ति सधै याद भैरहने भए । समय हिजो जस्तो पनि छैन् । एउटा गीत दिनभरी सुनेर बस्ने मान्छे पनि छैनन् । हिजोका जस्तो गीतहरु बनाउनु भो भने पनि अहिले चल्दैनन् । अहिलेको बजारले जे खोजेको छ त्यो चल्छ । नचलेका गीतहरु मान्छेले सुन्दैनन् । नसुनिकन मान्छेले मैले कालजयी गीत बनाउने हो भनेर गर्व गर्ने हो भने ठिक छ । त्यो टाइपका गीत बनाउँदा हुन्छ । तर, जुन मार्केटमा विकाउ हुन्छ । जुन गीतहरु बजारमा चल्छन । अहिले त्यही गर्ने हो । संसारभर हेर्नुभयो भने पनि यस्तै छ । पुरानो जमानाको जस्तो गीतहरु हलिउड, बलिउड र नेपालमै पनि बन्दैनन् । अहिले जमाना फास्ट छ । सुन्ने र फेरी नयाँ गीत खोज्ने जमाना छ । एउटा गीत राम्ररी सुनिसकेका हुँदैनन् तपाईको नयाँ गीत कहिले आउँछ भनेर सोधिराखेका हुन्छन । अव रह्यो कन्सर्ट ओरियन्टेड गीतको सवाल, त्यो त बन्नै प¥यो नि ! गायक, संगीतकार, म्युजिक कम्पनी नि बाँच्नु पर्छ नि ! गीत बनायो, फ्रि मै मोवाईल–मोवाईलमा बाँड्ने, ल्यापटपमा, पेन ड्राइभमा बाँड्ने अनि अडियन्सले सुन्ने तर गायकले स्टेज नि नपाउने, कमाइको अरु विकल्प पनि नहुने भएपछि गायक त मर्छ । गायकलाई पनि अहिले बाँच्नका लागि कन्सर्ट नै मुख्य भएकाले कन्सर्ट ओरियन्ट गीत बन्नुपर्छ । अडियन्सले पनि त स्टेज ओरियन्टेड कलाकारको डिमाण्ड गरिराखेको छ नि !

गीत संगितको स्तरियताको मापन केलाई मान्ने ?

स्तरीय भनेको राम्रो सुर भएको गायकले सुर ताल कर्डसहरुको कम्बिनेशन मिलेको सुन्दर शब्दहरु गाउने हो । अब यसमा मैले अघि नै भनेजस्तो सवै पक्षहरुको महत्वपूर्ण भूमिका हुन्छ । फेरी यस्ता सवै गीतहरु चल्छन भन्ने पनि छैन् ।  तपाईले श्रोताहरुलाई दिनै मन लागेको तर सांगितिक क्षेत्रको हालको व्यावसायिक फर्म्र्याटको कारणले दिन नपाएको वा नसकेको कुनै चिज छ ?
त्यस्तो त थुप्रो छन् । बनाएर राखेको पनि छु, कतिपय आउने क्रममा पनि छन् । तपाईले अघि भनेजस्तो ति गीतहरु नचल्न पनि सक्छन, कतिपय स्टेज ओरियन्टेड पनि छैनन् तर मेरो आफ्नो सन्तुष्टिका लागी बनाइ राखेको छु । जुन मेरो म्युजिक ग्यालरीमा सुरक्षित छन् । जो मेरो अलिक फुर्सदमा आफ्नै शव्द, संगित र स्वरमा बाहिर आउँछन् ।

अहिले के गर्दै हुनुहुन्छ ? आगामी योजनाहरु के–के छन् ?

प्राय रेकडि· र कन्सर्टमै व्यस्त छु । कलेक्सन गीत र फिल्मका रेकडि·हरु छन् । “ओए ! झुमा, झुमा झुक्का वाली” रिलिजको तयारीमा छ । अर्को, मेरो आफ्नै शव्द, संगित र स्वरको एल्वमको तयारीमा छु । तर यो हतारमा गर्ने काम नभएको हुँदा विस्तारै मार्केटमा ल्याउने तयारी गरिरहेको छु । कतार र त्यसपछि कोरियाको कन्सर्ट पुग्नु छ । जापान र अमेरिकाको पनि कुरा हुँदैछ, यस्तै हो । व्यस्त नै छु ।

तपाईका श्रोताहरु र हाम्रा पाठकहरुका लागि केहि भन्नुहुन्छ ?

पोखरा हटलाईनका पाठक एवम् मेरो गीतसंगित मन पराइदिनुहुने सम्पूर्णमा धेरै धन्यवाद दिन चाहान्छु । मेरा गीत सुनेर अथवा यो अन्तर्वार्ता पढेर प्रतिकृया दिन चाहनुहुने मित्रहरुले मेरो प्रमोद खरेल भन्ने पेज लाईक गरेर त्यहाँ सुझाव र प्रतिकृयाहरु दिन सक्नुहुनेछ । साथै, तपाई र हटलाईन परिवारका प्रति आभारी छु । धन्यवाद

Comments are closed.