आगामी तीन बर्षमा सबै पोखरेलीलार्इ शुद्ध खानेपानी

mardi-khanepani-aayojana
पोखरा, २९ चैत/ पोखराको खानेपानी वितरण व्यवस्थापनमा जापान सरकारले करिब ३ अर्ब रुपैयाँ गर्ने भएको छ । यससम्बन्धि सम्झौतापत्रमा शुक्रबार नेपाल सरकार र जापान सरकारबीच काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा पोखरामा आगामी तीन बर्षमा जापान सरकारले मर्दीखोलामार्फत् पोखरा ल्याईने पानी पूर्णरुपमा प्रशोधन गरी वितरण गर्ने उल्लेख छ । पानी प्रशोधनपछि, २० इन्चको डक्ट आइरन पाइपबाट मर्दीबाट पोखरामा पानी ल्याइनेछ भने पोखरा उपमहानगरपालिका क्षेत्रभित्र करिब ६० किलोमिटर खानेपानीको पाइप लाइन समेत विस्तार हुने भएको छ ।

यो योजनाको सर्भे गर्नका लागि मात्रै एकबर्ष लाग्ने विकासका लागि बहस समाज पोखराका अशोक पालिखेले जानकारी दिए । बाँकी दुईबर्षमा पोखराका विभिन्न ठाउँमा पाईप बिच्छ्याउने र अन्य पूर्वाधार निर्माण गरिनेछ । यसअघि सन् २००४ मा मर्दीको मुहानदेखि विन्ध्यवासिनीसम्म ११ किलोमिटर लामो २० इन्च डक्ट आइरन पाइप जापान सरकारको सहयोगमा बिछ्याइसकिएको छ ।9059851916_11c05a57e1_b

नयाँ सम्झौता अनुसार कालमुढा, भोटीखोला र बालधाराबाट पोखरामा वितरण हुने पानीको प्रशोधन खानेपानी संस्थानले गर्ने जनाईएको छ । पोखरामा अहिले दैनिक साढे चार करोड लिटर खानेपानीको माग भएपनि साढे तीन करोड लिटर खानेपानी मात्र वितरण हुँदै आएको संस्थान पोखराका अधिकृत दिनेश कुमार यादवले जानकारी दिए । नेपाल सरकारका तर्फबाट सहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र देवकोटा र जापान सरकारका तर्फबाट जाइकाका वरिष्ठ सल्लाहकार मात्सु मोटोबीच सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

आयोजनाको स्थलगत निरीक्षण

जाइकाका वरिष्ठ सल्लाहकार मात्सु मोटो नेतृत्वको १३ जना जापानी प्राविधिकहरुको टोलीले आयोजनाको स्थलगत निरीक्षण समेत गरेको छ । टोलीले मर्दी खोलाको मुहान क्षेत्रको निरीक्षण गरेको हो । टोलीमा नेपाल खानेपानी संस्थान केन्द्रीय कार्यलयका प्रबन्धक डा. भुपेन्द्र प्रसाद समेत सहभागि थिए । स्थलगत निरीक्षणमा आएको जापानी टोलीको सम्मानमा विकासका लागि बहस समाज पोखराको संयोजनमा स्वागत कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा जाइकाका वरिष्ठ सल्लाहकार मात्सु मोटोले पोखराको विकासका लागि सहयोग गर्ने आश्वसन दिएका थिए ।

Comments are closed.