आगामी बर्षभित्र सिटी राष्ट्रिय स्तरको विकास बैंक 

5fd3232767867af81056512c5a995292

विश्वमोहन अधिकारी

कार्यकारी अधिकृत, सिटी डेभलपमेण्ट बैंक


पोखरामा प्रधान कार्यालय रहेको क्षेत्रीयस्तरको बैंक हो, सिटी डेभलपमेन्ट बैंक । सामाजिक बैंकको अवधारणा लिएर ग्रामिण भेगमा समेत शाखा कार्यालय स्थापना गरिरहेको बैंकले अहिले राष्ट्रियस्तरको बन्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । यसले अहिले पश्चिमाञ्चल तथा यसको आसपासमा समेत शाखा कार्यालय स्थापना गरी कारोबार गरिरहेको छ । १८ बर्षदेखि सेवाप्रवाह गरिरहेको बैंकले निम्न आयस्तरका व्यक्तिहरुको समेत आर्थिक आयस्तर बढाउनका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको छ । अहिलेसम्म कुनै सामाजिक छवि नगुमाएको र विवादमा पनि नपरेको बैंकका रुपमा सिटी बैंकलाई लिने गरिएको छ । यसै बैंकका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी बैंकिङ क्षेत्रमा एक कुशल र दक्ष अधिकृतका रुपमा चिनिन्छन् । डेपलपमेन्ट बैंकर एसोसियसनको सचिव समेत भई कार्यभार पूरा गरिसकेका र बैंकको स्थापनाकालदेखि प्रमुख कार्यकारीका रुपमा काम गरिरहेका अधिकारीसँग हटलाइनका सह–सम्पादक अमृत सुवेदीले बैंकको अवस्था र यसको भावी योजना तथा बैंकका विभिन्न सेवा सुविधाका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सार संक्षेप –


क्षेत्रीयस्तरका बैंकका समस्याहरु के–के रहेछन् ?

क्षेत्रियस्तरमा सिमित हुँदा कतिपय अवस्थामा देशको केन्द्रमा पहुँच कम भएको अनुभव हुने गरेको छ । साथै क्षेत्रियस्तरका वित्तिय संस्थाहरुको सञ्जाल (Branch Network)  सिमित हुँदा व्यवसाय विस्तारमा केहि असहजता हुने गर्दछ । यी असहजतालाई परिपुर्ती गर्न बैंकले तेस्रो सेवा मुलक संस्थाको सहकार्यमा ए.टि.म सेवा (ATM),  मोबाइल बैंकिङ्ग सेवा (Mobile Banking),  एल.सि.एम.एस सेवा (LCMS) जस्ता प्रविधीको प्रयोग गरिएको छ । उपरोक्त सिमितताको बाबजुत मोफसलका क्षेत्रीयस्तरका वित्तिय संस्थाहरु मध्ये पोखरामा केन्द्रीय कार्यालय भएका वित्तिय संस्थाहरुको कार्यकुशलता राम्रो रहेको देखिन्छ ।

बैंकिङ क्षेत्रमा बढ्दै गएका विभिन्न जोखिमहरुलाई कसरी हेर्नुभएको छ ? र यसलाई कम गर्न सिटीले के गरिहेको छ ?

बैंकिङ क्षेत्रमा परम्परागतरुपमा कर्जा सम्बन्धी जोखिमहरु (Credit Risk)  बढी हुने विश्लेषण गरिँदै आएकोमा हालका बर्षहरुमा विषेश गरेर संचालन जोखिमहरुमा (Operating Risks) वृद्धि हुँदै गएको देखिन्छ । संचालन जोखिमहरुमा बिषेश गरेर कर्मचारीहरुबाट हुने जोखिम र प्रविधि सम्बन्धि जोखिमहरुमा वृद्घि भएको देखिन्छ । सिटी डेभलपमेन्ट बैंक लिमिटेड बैंकिङ क्षेत्रमा बढ्दै गएका विभिन्न जोखिमहरुप्रति सजग छ । यी जोखिमहरु न्यूकरण गर्न विभिन्न समितीहरुको निर्माण गर्न गरिएको छ । यी समितीहरुले जोखिमहरुको विश्लेषण गरि बैक व्यवस्थापनलाई निर्देशनहरु दिने गर्दछन् । साथै कर्माचारीहरुलाई आवश्यक तालिमको समय समयमा ब्यबस्था गरिदै आएको छ । यसको साथ साथै जोखिम न्यूनीकरणको लागि प्राविधिक स्तरोन्नतीमा (Technological Upgradation) बैंकले ठूलो लगानी गर्दै आएको छ । यसरी बैकले बैंकिङ क्षेत्रमा बढ्दै गएका विभिन्न जोखिमहरुलाई न्यूनिकरणको लागि यथेस्ट व्यवस्था गरेको हुनाले ग्राहक वर्गहरु सुनिश्चित भई कारोबार गरेकोले समग्र कारोबारमा वृद्धि हुँदै गएको छ ।

कुनकुन क्षेत्र सिटीको लगानी प्राथमिकताका क्षेत्र हुन् ?

कर्जा, निक्षेप तथा अन्य सेवा सुविधाको लागि नयाँ नयाँ योजनाहरूको सुरुवात गर्ने, तथा स्वरोजगारमा एवं गरिवी निवारणमा सहयोग पुग्ने कृषि, पर्यटन र साना तथा मझौला उत्पादन मूलक उद्योगहरूका साथै जलविद्युत बैंकका प्राथमिकताका क्षेत्र हुन् ।

बैंक नाफामूखी हुन, नाफा कमाउनका लागि मात्रै उन्मुख छन् भन्ने आरोप एकातिर छ भने बैंक उच्च वर्गको पहुँचमा मात्र छ भनिन्छ ? किन सामाजिक विकास र निम्न आयस्तर भएका व्यक्तिसम्म पुग्न सकिरहेको छैन ?

264520_199323486781554_5393744_nसिटी डेभलपमेन्ट बैंक लिमिटेडले व्यवसाय विस्तारसँगै सामाजिक सेवालाई पनि आत्मसाथ गरेको छ । वाषिर्क रुपमा नियमित गरिने रक्तदान कार्यक्रम, बैंकका शाखा रहेका क्षेत्रमा स्थापित उच्च मा.वि. हरुका उत्कृष्ट विद्यार्थीहरुलाई दिइने छात्रवृत्तिका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै आईरहेको छ । २०७०÷०७१ मा गरिएका केहि सामाजिक सेवाको झलक यस प्रकार छ ।

नेपाल अन्धा कल्याण संघ, समुदायमा आधारित पुनस्र्थापना केन्द्र अन्तर्गत उच्च शिक्षामा अध्ययनरत छात्र छात्राहरुलाई छात्रवृत्ति स्वरुप वार्षिक रकम प्रदान गर्ने कार्यलाई निरन्तरता दिंदै आईरहेकोे छ । यसका अतिरिक्त विभिन्न स्थानमा रहेका शाखाहरुको वार्षिकोत्सबको अवसर पारी त्यस क्षेत्रका विभिन्न संघ सस्था तथा समुदायलाई आर्थिक सहयोग गर्दै आईरहेको छ । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइनेछ ।

बैंकहरुको चर्को व्याजदरकै कारणले पनि निम्न आयस्तर भएका व्यक्तिहरुको पहुँचमा अझै छैन । धेरै शहरमुखी छन् । ग्रामिण क्षेत्रसम्म पुग्न किन ढिलाई गरिरहेका छन् ?

 यस बैंकले आफ्ना अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा स्थापना गर्दै आएको छ । नेपालको अति दुर्गम मानिने मनाङ जिल्लाको सदरमुकाम चामेमा शाखा कार्यालय स्थापना गरी कारोवार सञ्चालन गरिसकिएको छ । महिला वर्गमा मात्र सिमित रहेको लघुवित्त कर्जालाई “युवासँग सिटी भन्ने” उद्घोषका साथ साना तथा न्यून आय भएका आफ्नो कार्य क्षेत्र भित्रका ग्रामीण तथा कृषि कार्यमा संलग्न पुरुषहरुको समूहलाई प्रदान गर्न सुरु गरिएको कार्यक्रम वास्तवमै लक्षित वर्गका लागि उपयोगी र प्रभावकारी हुन गएको महशुस गरेका छौ ।

 कर्जा लगानी बढ्न नसक्नुको कारण के हो ?

 बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको पर्याप्त उपलब्धता रहेपनि लगानीको पर्याप्त अवसरहरु उपलब्ध नहुँदा तरलताको वृद्धिको अनुपातमा कर्जा लगानी बढ्न नसकेको हो । शेयर बजार, घर जग्गाको कारोबार, बैदेशिक लगानी आदिमा बृद्धि भई समग्र व्यवसायिक वातावरणमा सुधार भएतापनि राजनितिक स्थायित्वको अभावमा ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका हुनाले कर्जा लगानी बढ्न नसकेको देखिन्छ । यस्तो विशम परिस्थितीमा पनि बैंकको लगानी भने उत्साहप्रद छ । आर्थिक बर्ष २०७०÷७१ अषाढ मसान्तको वितिय विवरण अनुसार बैकको कर्जा लगानी वार्षिक ३८ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

 बैंकिङ क्षेत्रमा अधिक तरलताको समस्याले गाँजेको छ भनिन्छ । सिटीको अवस्था के छ ?

नेपालको बैंकिङ क्षेत्र अस्थिर तरलताको मारमा छ तथापी यस्तो अवस्थामा पनि सिटी डेभलपमेन्ट बैंक लिमिटेडको आर्थिक बर्ष २०७१÷७२ पौष मसान्तको वित्तिय विवरण अनुसार सि.डी. रेसियो (CD Ratio) ७४.०६ प्रतिशत रहेको थियो । यो आर्थिक सुचाङ्कले यस बैंकले लगानी विविधिकरण गरी तरलताको यथेष्ठ परिचालन गर्न सफल रहेको देखिन्छ ।

 धेरै क्षेत्रीय स्तरका वैंकहरु मर्ज भएका छन् वा कतिपय बैंकहरु गाभिएर पनि राष्ट्रियस्तरका भएका छन् । राष्ट्रियस्तरको बन्ने कुरा र मर्ज हुने कुरामा सिटीको को के छ ?

यस बैंकले राष्ट्रिय स्तरको विकास बैकमा स्तरोन्नती गराउने लक्ष्य प्राप्त गर्न आठौं साधारण सभाको विशेष प्रस्तावबाट पारित आफैले पूँजी वबृद्धि गर्ने वा मर्जर÷एक्वीजिसनका माध्यमबाट अगामी आर्थिक वर्ष भित्र राष्ट्रिय स्तरको विकास बैकमा स्तरोन्नती गरिनेछ ।

रेमिट्यान्सको अवस्था कस्तो छ ?

 सिटी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न २० रेमिट्यान्स कम्पनी तथा रेमिट्यान्स कारोबार गर्ने बैंकहरुको एजेन्सी प्राप्त गरी सर्वसुलभ रुपमा नेपाल भित्र (Domestic Remit) र नेपाल बाहिरबाट (International Remit)  रकम प्राप्त गर्ने सेवा दिँदै आएको छ । यसको साथ साथै बैंकले आफ्नो १३ शाखाहरुको सन्जालबाट अन्तर शाखा रकमान्तर (Inter-Branch Fund Transfer)  को सेवापनि न्यूनतम शुल्कमा उपलब्ध गराउदै आएको जानकारी गराउन चाहन्छौं ।

 वर्तमान अवस्था कस्तो छ ? वैंकले के कस्ता सुविधा दिँदै आएको छ ?

बैंकको वित्तिय अवस्था राम्रो छ । सिटी डेभलपमेण्ट बैंकले २०७१ पौष मसान्त सम्ममा रु. ४ अर्ब ३३ करोड निक्षेप संकलन तथा रु ३ अर्ब ६४ करोड कर्जा लगानी र रु. ८ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको आठौं साधारणसभाबाट पारित २२ प्रतिशत शेयर लाभांश वितरण पश्चात बैंकको चुक्ता पुँजी रु ४६ करोड ८१ लाख ६० हजार भएको छ । समयअनुसार बैंकमा विद्यमान सूचना प्रविधिमा सुधार गरी समय सापेक्ष स्तरोन्नती गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरिएको छ र सम्भव भएसम्म मोबाइल बैंकिङ्ग र ई–बैंकिङ्ग पनि आउँदो आर्थिक वर्षदेखि नै सञ्चालन गर्ने तर्फ प्रयास गरिनेछ ।

 सिटीको भावी योजना के छ ?

सिटीको भावी योजनामा प्रमुख विषय निकट भविष्यमा राष्ट्रिय स्तरको विकास बैकमा स्तरोन्नती गराउने लक्ष्य हो । आठौं साधारण सभाको विशेष प्रस्तावबाट आफैले पूँजी बृद्धि गर्ने वा मर्जर÷एक्वीजिसनका माध्यमबाट अगामी आर्थिक वर्ष भित्र राष्ट्रियस्तरको विकास बैकमा स्तरोन्नती गरिने विकल्प पारित गरिएको छ । आफैंले पूँजी बृद्धि गर्नेे विकल्प अनुसार बैंकले २० प्रतिशत हकप्रद शेयर तथा आर्थिक बर्ष २०७१÷०७२ को मुनाफाबाट राष्ट्रियस्तरको विकास बैंक बन्नको लागि आवश्यक पूजीँ ६४ करोड पुर्याउने लक्ष्य रहेको छ । साथै मर्जर र एक्वीजिसनका वारेमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफलको प्रकृयालाई प्राथमिकताका साथ निरन्तरता दिइएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा नेपाल राष्ट्र बैंकबाट ४ नयाँ शाखा खोल्न स्विकृत प्राप्त भएकोमा चितवन जिल्लाको भरतपुरमा शाखा सञ्चालनमा आइसकेको छ भने बाग्लुङ्ग जिल्लाको कुश्मीसेरा, कास्की जिल्लाको लामाचौर, तनहुँ जिल्लाको बन्दिपुरमा पनि छिटै शाखा विस्तार गरिनेछ । विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको यस बैंकले कालान्तरमा सामाजिक बैकिङ्गको (Social Banking) अवधारणमा रुपान्तरण गर्ने लक्ष्य लिइएको छ ।

Comments are closed.