आगामी मंसिर ५ गतेतेखि कास्कीमा ट्राफिक सप्ताह सडक दुर्घटना न्यूनिकरणका सरोकारवालाबीच समन्वय आवश्यक

trafic-week-1
पोखरा ३ मंसिर । कास्कीमा सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सप्ताह हुने भएको छ । सप्ताहको पूर्वसन्ध्यामा शुक्रवार सरोकारवालासहितको समन्वय बैठक सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सबैको सहयोगले मात्र दुर्घटना न्यूनिकरण हुने बताउदै सचेत रहन आग्रह गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको संयुक्त आयोजनामा बैठक भएको हो । सप्ताहको अवसरमा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरि एक हप्ताभर विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । सडक प्रयोगकर्ता, चालक, सहचालक लगायत सरोकारवाला सबै निकायलाई ट्राफिक नियमको वारेमा सचेतना दिलाउने उद्देश्यले बार्षिक रुपमा ट्राफिक सप्ताह गरिएको हो ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले सडकमा पुगेपछि हतार गर्ने प्रवृत्तिले दुर्घटना बढेको बताउदै सडक प्रयोगकर्ता सचेत भएमा न्यूनिकरण हुने दाबी गर्नुभयो । बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक सप्ताह महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
गण्डकी अञ्चल व्यवस्था कार्यालयका प्रमुख तिलक पौडेलले यस क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्यूनिकरणका लागि नियमित अनुगमनको खाँचो रहेको औल्याउनुभयो । यस क्षेत्रमा करिव १ लाख ५० हजार सवारीसाधन दर्ता रहेको सो अवसरमा उहाँले जानकारी दिनुभयो । रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमील्सीनाले सवारी चालकलाई सचेत गराउदै सडक प्रयोगकर्तालाई सचेतना दिलाउन पनि सप्ताहको आयोजना गरिएको बताउनुभयो । नेपालमा दैनिक ५ देखि ७ जनाले सवारी दुर्घटनाले ज्यान गुमाउने गरेको तथ्यांक छ ।
कार्यक्रममा पृथ्वीराजमार्ग बस सञ्चालक समितिका उपाध्यक्ष ज्ञान बहादुर केसीले आवश्यकता अनुसार सवारी संख्या हुनुपर्नेमा जोड दिनुभयो । रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उपमहानगरपालिकाका इन्जिीनीयर सुरेन्द्र पौडेल, डिभिजन सडकका इन्द्र प्रसाद पौडेल, व्यवसायी कृष्णप्रसाद ढकाल, सोम गुरुङ, शोभाकान्त पौडेल, सहारा क्लवका अध्यक्ष विरभद्र आचार्य, पत्रकार शिवराज बस्ताकोटी, प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रमका फिल्ड अफिसर प्रतिभा सापकोटा पाख्रेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम अनुसार पहिलो दिन मंसिर ५ गते विहान ७ः३० बजे जिल्ला ट्राफिक कार्यालय चोकदेखि मानवअधिकारचोकसम्म प्रभातफेरी हुने छ । दोस्रो दिन अमरसिंह उच्च माविका युवाहरुलाई ट्राफिक सचेतना, ढिकुरपोखरी, हेम्जा, पोखरा र लेखनाथमाका विभिन्न स्थानमा जेव्रा क्रसिङमा स्वयंम सेवक परिचालन गर्ने कार्यक्रम छ । तेस्रो दिन ड्राइभिङ इन्स्टिच्युटका प्रतिनिधीलाई सचेतना र सिमुलेसलन प्रदर्शन, चौथो दिन मंसिर ८ गते वक्तृत्वकला प्रतियोगिता, ट्राफिक कक्षा र चालक परामर्श कार्यक्रम हुने छ । पाँचौ दिन ट्राफिक सचेतनाका साथै चित्रकला प्रतियोगिता र अन्तिम दिन सिमुलेशन र समापन कार्यक्रम रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

Comments are closed.