पोखरा, ८ बैशाख/ “छन्द बचाऊँ अभियान – २०५३” प्रारम्भ भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी छन्द दिवस मनाईंदैछ । छन्दनायक एवं महाकाव्यकार माधव वियोगीद्वारा राष्ट्रव्यापी आन्दोलनका रुपमा संचालित अभियान सुरु भएको दिन वैशाख ८ गतेलाई नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले छन्द दिवसको मान्यता दिएपछि, छन्ददिवस मनाउन सुरु गरिएको हो ।
छन्दलाई एकादेशको कथा हुन नदिने, काव्यसँस्कृतिको रक्षा गर्ने, छन्दलाई जीवन शैलीको रुपमा विकसित गर्ने, युवा पुस्तालाई छन्दप्रति आकृष्ट गर्ने र छन्द प्रशिक्षणको संचलन गर्ने उद्देश्यका साथ संचालित यो अभियान अन्तर्गत अहिलेसम्म ३ हजार भन्दा बढीले छन्दज्ञानसम्बन्धी प्रशिक्षण लिएको छन्दनायक वियोगीले जानकारी दिएका छन् ।
गद्यमा कविता लेखनको क्रम बढ्दै गएका बेला आफूले सुरु गरेको आन्दोलन व्यापक बन्दै गएकोमा खुशी व्यक्त गर्दै वियोगीले नेपाली कवितामा छन्दको प्रयोगलाई यथास्थानमा नल्याई आन्दोलनबाट विश्राम नलिने प्रतिबद्धता जनाएका छन् ।
Comments are closed.