पोखरा, ८ बैशाख/ आज बैशाख शुक्ल तृतीय तिथी, हिन्दु नेपालीहरुले स्थान, दान, पूजालगायत विभिन्न धार्मिक कार्य गरी मनाउँदैछन् । धार्मिक ग्रन्ध अनुसार आज विशेष गरी गर्मी छल्नका लागि घामबाट बच्न छाता, तातो जमिनबाट बच्न जुत्ता र तिर्खा मेट्न सर्वत दान गर्ने चलन छ ।
आज गरिएको दानले अक्षय फल प्राप्त हुने भएकाले यसलाई अक्षय तृतीय भन्ने गरिएको हो । अलैँची, सुकुमेल र घिउ मिसाइएको जौको सातु तथा मरिच पिपला तथा सखर हालेर तयार परिएको सर्वत दान गरिन्छ । पौराणिक कथा अनुसार शिव पार्वतीको विवाह भएको आजको दिनदेखि सत्य युगको सुरुवात भएकाले आजको दिनलाई युगादी पनि भन्ने चलन छ ।
आजको दिन करिब दुईसय बर्ष यताकै शुभ दिन रहेको पनि भारतीय ज्योतिषहरुले दावी गरेका छन् । आज एक सय ९१ बर्ष यताकै सबैभन्दा शुभ दिन रहेको उनीहरुको दावी छ ।
बैशाख मासको शुक्ल पक्षको अक्षय तृतीया अर्थात् मंगलबार दिन कृतिका नक्षत्र, सौभाग्य योग, बृष राशिमा चन्द्रमा आउनेछ । यो दिन बिहान देखी रातीसम्म शुभ संयोग रहने ज्योतिषहरुको भनाई छ ।
यस दिनमा मंगल कार्य, दान, भवन निर्माण र सवारी खरिदका लागि उत्तम रहेको छ । बिहान सवा ६ बजे देखी दिउँसो पौने १२ बजेसम्म सर्वार्थ सिद्धि र दिउसो १२ः५८ बजे सम्म देखी सूर्यास्त सम्म रवि योगको विशिष्ट संयोग रहेको छ ।
भारतका प्रखर ज्योतिष पंडित अमर डब्बावालाका अनुसार सोही दिन दिउँसो मंगलादित्य र बुधादित्यको महायोग पनि रहेको छ । मुहर्त तथा योगको यस्तो अद्धितिय संयोग धेरै बर्षमा मात्र आउने ज्योतिषहरुको भनाई छ ।
यो शुभ अवसरमा विवाह, गृह प्रवेश, गृह आरम्भ, उपनयन संस्कार, नयाँ वस्तुहरुको खरिद र अझ त्यसमा पनि सुन र पीत्तलको खरिद अत्यन्तै फलदायी हुन्छ ।
यो दिन भएका शुभ कार्यले अरु बेला भन्दा तीन गुना बढी फल दिने धार्मिक विश्वास रही आएको छ । यस दिन खरिद गरेको वस्तुले स्थायी समृद्धि प्रदान गर्नेछ ।
Comments are closed.