पोखरा, ११ बैशाख/ आज नवौं लोकतन्त्र दिवस । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र प्राप्ति भएको आज आठ बर्ष पूरा भएको छ । दोस्रो जनआन्दोलनको सफलताले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सम्झनामा आज देशैभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । लोकतन्त्र दिवसको अवसरमा राष्ट्रपति डा. रामवरण यादव लगायत उच्च ओहोदा र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।
तत्कालीन सात राजनीतिक दलको नेतृत्वमा भएको दोस्रो जनआन्दोलनमा व्यापक जनदवाव र २५ जना नेपालीले सहादत प्राप्त गरेपछि निरंकुश राजा ज्ञानेन्द्र शाहको सरकार घुँडा टेक्न बाध्य भएको थियो । त्यसकै फलस्वरूप २०६३ साल वैशाख ११ गते देशमा लोकतन्त्र पुनस्र्थापना भएको हो । यद्यपि सात दल र तत्कालीन विद्रोही नेकपा (माओवादी) को १२ बुँदे सहमतिको आधारमा आन्दोलन प्रारम्भ भएकाले माओवादीको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगले पनि जनताको भेल उर्लेर आन्दोलनलाई सफल पार्न थप ऊर्जा प्रदान गरेको थियो ।
के गाउँ के सहर सबै क्षेत्र र वर्गका जनता उर्लेको यो आन्दोलनले अन्ततः २३९ वर्ष लामो राजतन्त्र पनि समाप्त भएको थियो । वैशाख ११ मा भएको जनताको जितले गणतान्त्रिक नेपालको नक्सा कोरेको थियो । लोकतन्त्र प्राप्तिको नौ बर्षको अवधिमा देशमा दुईपटकसम्म संविधानसभाको निर्वाचन भएको छ । पहिलो संविधानसभा संविधान नै नदिई अवसान भयो भने दोश्रो संविधानसभाले पनि तोकिएको समयमा संविधान निर्माण गर्न सकेन । अहिले प्रमुख राजनीतिक दलहरु विभिन्न बिषयमा अड्किरहेका छन् । जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई दिगो र संस्थागत गर्न शान्ति प्रक्रियाको टुङ्गो र जनचाहनाअनुरूपको संविधान निर्माण कार्य अझै सुनिश्चित हुन सकेको छैन ।
Comments are closed.