आज माघे संक्रान्ति पर्व मनाइँदै

 तरुल, सखरखण्ड, खुदो चिउरा, फुरौला, तिलको लड्डु खाने दिन

मनिषा लामिछाने,
पोखरा,
आज मकर संक्रान्ति, अर्थात माघे संक्रान्ति । नेपालीहरु आज तरुल, सखरखण्ड, फुरौला, तिलको लड्डु, चाकु, खिचडी र अन्य कन्दमूल खाएर यो पर्व मनाइरहेका छन् । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ । पृथ्वीचोकस्थित सस्तो बजारमा तरुल सखरखण्ड खरिद तथा विक्री गरिंदै । पोखरामा यसवर्ष पनि लाखौंको तरुल सखरखण्डको व्यापार भएको छ । सस्तो बजारदेखि तरकारी बजारहरुमा तरुल सखरखण्डकै व्यापार देखिएको छ । बन तरुल, गाउँले तरुलको मुल्य केहि महंगो भएपनि तराईबाट आएको तरुल सस्तो पर्ने उनीहरु बताउँछन् । पोखरामा खुदो मिसाएको चिउरा, उसिनेको तरुल, सखरखण्ड, तिल वा भुजाको लड्डु, चाकु, र अचार खाने चलन छ ।
भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्ड्, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने मान्यता छ । उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन् । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्ड् सहितको सिदा दान गर्छन् ।
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

Comments are closed.