पोखरा १० चैत / आज (मंगलबार) मार्च २४ तारिक अर्थात् विश्व क्षयरोग दिवस कास्कीमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । यसवर्ष “सबै छुटेका क्षयरोगीलाई, उपचारमा ल्याई निको पारौं” भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा मंगलबार पोखरामा र्याली हुँदैछ भने सोमबार विश्व क्षयरोग दिवस मूल समारोह समितिले पत्रकार अन्र्तक्रिया गरेको छ । कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर कालु शर्माले मानिसहरु आफ्नो स्वास्थ्यलाई लिएर सचेत बन्न थालेको भएपनि कहाँ र कसरी उपचार पाईन्छ भन्ने बारेमा जानकारी नहुँदा सबैले उपचारको पहुँच नपाएको बताए ।
उनले पश्चिमाञ्चलमा नयाँ क्षयरोगीहरु पत्ता लाग्ने दर घट्दै गएको पनि जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्र पोखराका निर्देशक डाक्टर मुकुन्दप्रसाद आचार्यले पछिल्ला वर्षहरुमा क्षयरोगका बिरामीहरु घट्दै गएको भएपनि अझै धेरै व्यक्तिहरु उपचारको पहुँचमा सजिलै पुग्न नसकेको बताए ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरिक्षक रेकबहादुर थापाले कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रमा र जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका क्षयकुष्ठ निरिक्षक वसन्तनाथ भट्टराईले कास्की जिल्लामा क्षयरोगीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
Comments are closed.