आदर्शवस्तीमा खानेपानी अभाव

पोखरा, ७ चैत / पोखरा उपमहानगरपालिका वडा नं. २६ लभ्लीडाँडा आर्दशबस्तीका बासिन्दाले खानेपानीको अभावमा समस्या भोग्नुपरेको बताएका छन् । पोखराको चिप्लेढुङ्गा बजारबाट २ कि. मि र प्रस्याङ्गचोकबाट पश्चिमतिर १० मिनेट पदयात्राको दूरीमा रहेको सो बस्तीका बासिन्दाहरुले १ घण्टा टाढाको कुवामा गई डोकामा पानी बोकी निर्वाहमुखी जीवन बिताईरहनुपरेको बताएका छन् ।
धारापानी आदर्श बस्ती खानेपानी उपभोक्ता समितिले शुक्रबार पत्रकार सम्मेलन गरि बस्तीमा खानेपानीको व्यवस्था गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेका छन् । समितिका अध्यक्ष शिवप्रसाद कोइरालाले लामो समयदेखि खानेपानीको समस्या रहँदै आएको भए पनि सम्बन्धित निकायहरुले चासो नदिएको बताए । चिसाखोला सामुदायिक वन क्षेत्रमा रहेको कुवाबाट ल्याएको पानी ट्यांकीमा जम्मा गर्दै खाइरहेका भए पनि कुवा सुक्दै जाँदा समस्या परेको कोइरालाले जनाएका छन् ।
अहिले त्यसक्षेत्रका बासिन्दाले दैनिक एक घण्टा हिडेर डोकोमा पानी ल्याउने गरेको स्थानीय गोपाल खड्का बताउँछन् । आदर्श बस्तिकै धारापानी श्रोतवाट वजार क्षेत्रमा पानी लगिएको तर सो पानी प्रयोग गर्नवाट वञ्चित हुनु परिरहेको खड्काको भनाई छ । खानेपानी उपभोक्ताहरुले आफ्नै खर्चमा धारापानीबाट पानी ल्याउन सर्भे डिजाईन नक्शांकन गरेका छन् । कार्यान्वयनको लागि खानेपानी संस्थान, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिकामा वडाबाट योजना माग गरिएको स्थानीयको भनाई छ । वस्तीमा २५० घरधुरी छन् । त्यस क्षेत्रमा वेदविद्याश्राम र गोपालधाम जस्ता शैक्षिक तथा धार्मिक स्थल पर्दछन् । उपभोक्ताहरुको गुनासो र माग खानेपानी मात्र रहेको तर नगरपालिकाले योजना तर्जुमा गर्दा खानेपानीको अभावलाई वेवस्ता गरी अन्य योजनाहरुलाई प्राथमिकता दिइएको उनीहरु बताँउछन् ।

Comments are closed.