पोखरा १५ चैत।गत बुधबार अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी फर्किने क्रममा बेपत्ता भएका दुईजना पर्यटक अझै भेटिन सकेका छैनन् । हिमाल आरोहण गरेर फर्किँदै गर्दा प्रतिकूल मौसमका कारण एक नेपाली र एक विदेशी पर्यटक चिप्लिएर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा फिनल्याण्डका ३६ बर्षीय सिक्सा सामुली र संखवासभाको मकालु गाविसका ३६ बर्षीय पेम्बा शेर्पा रहेका छन् ।
शनिबार दिनभर हेलिकोप्टरबाट खोजीकार्य जारी राखिएपनि उनीहरु बेपत्ता भएको स्थान निकै अप्ठेरो भएका कारण अवतरण गरी उद्धार गर्न नसकिएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । हेलिकोप्टरबाट खोजी गर्ने क्रममा लाशजस्तो शंकास्पद वस्तु देखिएपनि अवतरण गनए नसकेकाले हराएका पर्यटक नै हुन् या होईनन् पुष्टि हुन भने नसकेको प्रहरीको भनाई छ । उद्धारको प्रयास शनिबार असफल भएपछि आइतबार पुनः उद्धार कार्यमा जुट्ने प्रहरीको तयारी छ ।
गत बुधबार ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण गरी फर्कने क्रममा उनीहरु चिप्लिएर बेपत्ता भएका थिए । आरोहण गरेर सात हजार मिटरसम्म झर्दै गर्दा हिमपात भएपछि चिप्लिएको घटनास्थल पुगेको प्रहरीले जानकारी दिएको छ । बुधबार नै हराएको खबर आएपनि शनिबार मात्रै हेलिकोप्टरबाट घटनास्थलमा खोजी गरिएको थियो ।
अन्नपूर्ण हिमाल आरोहणका लागि १८ जनाको टोली त्यसतर्फ गएको थियो । आधार शिविरमै अलपत्र परेका १२ जनालाई शनिबार हेलिकोप्टरबाट उद्धार गरी नारच्याङ पुर्याईएको छ । उद्धार गरिएकामध्ये ६ जना विदेशी र ६ जना नेपाली आरोही छन् ।उद्धार गरिएकाहरुमध्ये केही पोखरा फर्किएका छन् भने केहीलाई बेपत्ता पर्यटकको उद्धारका लागि बाटो पहिल्याउन आधार शिविरमै राखिएको छ ।
Comments are closed.