आर्थिक सम्बृद्धिका लागि उत्पादन– (अर्जुन पोखरेल) महासचिव पदका उम्मेदवार


निर्वाचन नजिकिँदै गएको छ । तपाईंको निर्वाचन जित्ने नारा के हो ?
उत्तर ः मुल कुरा त हाम्रो प्यानलको घोषणापत्रमा के छ भन्ने हो । त्यो हामीले सार्वजनिक गरिसकेका छौं । तर पनि म पोखराको उद्योग तथा व्यवसायको विभिन्न क्षेत्रमा आवद्ध भएका नाताले मेरो पनि छुट्टै नारा स्थापित गर्न खोजेको छु, ‘सँस्थागत सुशासन, उद्योग व्यवसायको प्रबद्र्धन, अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन’ भन्ने छ । पोखराको गरिमामय संस्थाको नेतृत्व लिनको लागि एउटा धैर्यता चाहिन्छ, अनुभव चाहिन्छ भन्ने मेरो मान्यता हो । त्यसैलाई मध्यनजर गर्दै उपमहासचिवसम्म पुगेको तथा युवा अवस्थामै विभिन्न व्यवसायको क्षेत्रमा लागेको हुनाले यसका साथै युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालको भएका कारणले पोखरा उद्योग वाणिज्य संघको गरिमालाई उचो बनाउनुपर्छ, अग्रजहरुलाई सम्मान गर्नुपर्छ भन्ने हिसाबले नै मैले महासचिवमा उम्मेदवारी दिएको हो ।

नारामा संस्थागत सुशासनको कुरा उठाउनुभो, अलिकति प्रष्ट पारिदिनुहुन्छ की ?
उत्तर ः के हो भने, पोखरा उद्योग वाणिज्य संघ एउटा पुरानो संस्था भएकोले र यसलाई आईटी मैत्री बनाउनुपर्छ भन्ने हो । छाता संगठन भएको हुनाले पोखरामा जति पनि उद्योगी व्यवसायी छन्, तीनको तथ्याँक राख्नुपर्छ । उद्योगी व्यवसायीले गरेका गतिबिधि र पोखरा उद्योग वाणिज्य संघले गरेका गतिबिधिलाई प्रष्ट रुपमा राख्नुपर्छ । यसकालागि एक कल फोनमा हुन्छ की मोवाईल एप्स तयार गरेर दिन सकिन्छ दिनुपर्छ । यस अर्थमा मैले संस्थागत सुशासनको कुरा गरेको हुँ ।

कुनै बेला पोखरा उद्योग वाणिज्य संघको विभिन्न बैदेशिक नियोगहरुसँग सुमधुर सम्बन्ध थियो तर त्यो अहिले छैन । त्यो सम्बन्ध स्थापित गर्नेबारे तपाईंहरु मौन हो ?
उत्तर ः होईन । तत्कालीन अवस्थामा स्थानीय निकायहरु नभएको अवस्थामा यसले जनताको पक्षमा महत्वपूर्ण भुमिका खेलेको थियो । अहिले पो स्थानीय निकायहरु आएको भएर मात्रै हो । नत्र लामो समयसम्म नागरिक जनप्रतिनिधिविहीन हुँदा पोखरा उद्योग वाणिज्य संघले काम गरेका धेरै उदाहरणहरु देख्न सकिन्छ नी । तर जर्मनीको एउटा परियोजना मात्रै हो । त्यसको अबधी सकिएको हो । एउटा परियाजनाको अबधी सकियो भन्दैमा पोखरा उद्योग वाणिज्य संघले वैदेशिक नियोगहरुसँग सम्बन्ध गाँस्न चाहेन भन्ने होईन । अब हाम्रो नयाँ टीम आएपछि पनि विभिन्न विदेशका निकायहरुसँग सम्बन्ध र पोखरा तथा यहाँको समग्र बिकासको लागि खाका तयार पार्ने काम हुन्छ । यो काम क्रमश हुँदैछ । नयाँ नयाँ डोनर खोज्ने काम पनि भएको छ ।
लामो ईतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघले उदाहरणीय सामाजिक कामहरु गरेको हामीले देख्न सकिन्छ । तर तपाईं र तपाईंको टीमले पहिचान गरेका केही सामाजिक कामहरु छन की नयाँ गर्नुपर्ने ?
उत्तर ः अहिले मुलुकमा आवश्यक निर्वाचनहरु भएर सबै ठाउँमा जनप्रतिनिधि छन् । स्थानीय निकायमा अभाव छैन । सरकारको काम निजी क्षेत्रले गरिदिनुपर्ने अवस्थाको अन्त्य भएको छ । यस्तो अवस्थामा पोखरा उद्योग वाणिज्य संघको काम भनेको समन्वयकारी भुमिका खेल्ने नै हो प्रमुख रुपमा । अबको एजेण्डा भनेको आर्थिक सम्बृद्धि नै हो । किनी नगरपालिका गाउँपालिकाका, प्रदेश तथा संघीय संसदको निर्वाचन भईसकेको अबस्थामा अबको बाटो विकास र सम्बृद्धिको हो । अब त्यतातिर पोखरा उद्योग वाणिज्य संघले लविङ् गर्ने हो । सामाजिक क्षेत्रमा कम समय दिने र उद्योग र वाणिज्यको विकास गर्नेतर्फ नै पोखरा उद्योग वाणिज्य संघको मुल ध्येय हुनुपर्छ ।

आर्थिक सम्बृद्धिको कुरा गर्नुभो कस्तो खालको सम्बृद्धि होला ?
उत्तर ः हेर्नुस पोखरा, पर्यटन, हाईड्रो लगायतको धेरै आकर्षक लगानीका क्षेत्रहरुको हब हो । पोखरा कृषिको पनि हब हो । यस्तो सम्भावना बोकेको पोखरामा अब पर्यटनका मुभमेण्टहरु बढाउने, जलविद्युतमा लगानीहरु बढाउने, कृषिमा आकर्षक योजना ल्याउने । विदेश जाने योजना बनाएका युवालाई यहिँ रोजगारी दिने, उनीहरुलाई स्वरोजगार बनाउने लगायतका विभिन्न कामहरु गरेर आर्थिक सम्बृद्धिको बाटोमा अगाडी बढ्न सकिन्छ । यस्ता किसिमका वातावरण बनाउन पोखरा उद्योग वाणिज्य संघले प्रमुख भुमिका खेल्ने छ । उत्पादन विना सम्बृद्धिको सम्भावना हुँदैन । त्यसैले उत्पादनमा जोड दिनुपर्यो । जस्तो की हेर्नुस पोखरा आउने पर्यटकले पोखराबाट के चिनो लिएर जाने ? भन्दा केही छैन । त्यसैले हस्तकलाका सामान उत्पादनमा विषेश जोड दिनुपर्यो । कृषि उत्पादनबाट पनि पोखरा भन्दा बाहिर जाने रकम रोक्न सकिन्छ ।

पर्यटन व्यवसायमा पनि लागेको हिसाबले धेरै पर्यटन व्यवसायीको गुनासो के भने, पोखराको ‘सोभेनियर’ भएन । यसमा तपाईंको केही धारणा छ ?
उत्तर ः विगतमा के भए तिनलाई कोट्टाउने होईन । अब के गर्ने भन्ने बारेमा हाम्रो ध्यान जानु जरुरी हुन्छ । अब हाम्रो ध्यान उत्पादनमा केन्द्रित हुनुपर्छ । घरेलु उत्पादन, हस्तकलाका उत्पादन, कृषि उत्पादन लगायतका उत्पादनमा जोड दिनुपर्छ । सोभेनियरको सन्दर्भमा भन्नुपर्दा अब पनि माछापुुछ«ेको फोटो राखेको फ्रेमले कति दिन चलाउन सकिएला ? पाल्पामा हेर्नुस करुवा ढाका टोपी जस्ता सोभेनियर छन् । जसका कारणबाट पाल्पामा करुवा र ढाकाको राम्रो उत्पादन हुन्छ । उत्पादनले सम्बृद्धि दिन्छ । त्यस्तै देशका अन्य भागमा पनि यस्ता सोभेनियरहरु छन् । पोखराले पनि यस्तै खालको आफ्नो मौलिक पहिचान सहितको सोभेनियर बनाएर यसलाई उद्योगको रुपमा विकास गर्न सक्नुपर्छ । त्यसको लागि पोखरा उद्योग वाणिज्य संघले बिउ पुँजी राखेर यस्ता उत्पादनमा जोड दिने योजना बनाएको छ । जसका कारण पोखराको सोभेनियर निर्माणमा पोखरा उद्योग वाणिज्य संघको पनि भुमिका देखिओस भन्ने हो ।

अन्त्यमा केही भन्नु छ ?
उत्तर ः उत्पादन विनाको आर्थिक सम्बृद्धि हुन नसक्ने हुनाले उद्योग वाणिज्य संघले उत्पादन मुखी क्रियाकलापको प्रबद्र्धनमा जोड दिनुपर्छ । जसका कारण सानो सामानको लागि पनि कुनै देशको अन्य सहरको वा बाहिरी देशको भर पर्न नपरोस । साथै अबको पोखरा उद्योग वाणिज्य संघ २१ औं शताब्दीको प्रबिधि अनुसार सञ्चालन हुनुपर्छ भन्ने हो ।

Comments are closed.