पोखरा १९ भदौ
इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौरमा साहित्यिक पुस्तकालय स्थापना भएको छ । इन्जिनियरिङ्ग साहित्यिक सञ्जाल (इन्सास) ले इन्सास कर्नर नामक पुस्तकालय स्थापना गरेको हो । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकहरुमा पठन संस्कृतिको विकास गर्नका लागि पुस्तकालय स्थापना गरि साहित्यको प्रवद्र्धन तथा साहित्यको माध्यमबाट प्रविधिलाई थप सिर्जनशील र बौद्धिक बनाउने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको इन्सास अध्यक्ष विष्णु रिजालले जानकारी दिए । पुस्तकालयको संस्कृतिकर्मी तथा साहित्यकार तीर्थ श्रेष्ठले उद्घाटन गरेका छन् ।
पुस्तकालय उद्घाटन गर्दै कवि श्रेष्ठले पुस्तकालयले पठन संस्कृतिको विकास गर्दै साहित्यको मूल्य तथा महत्व बृद्धि गर्ने र यसले साहित्यप्रतिको अभिरुचि विकास गर्ने बताए । ‘भविष्यका इन्जिनियरहरुले पुस्तकालय स्थापना गरेर उदाहरणीय काम गरेका छन्’ कवि श्रेष्ठले भने ‘पुस्तकालय स्थापना गर्न युवाहरुले गरेको उर्जाशील प्रयास देख्दा खुसी लागेको छ ।’ यसैगरी ¥याण्डम रिडर्स अफ नेपालका अध्यक्ष गनेस पौडेलले पोखराका पठन संस्कृतिको विकास हुँदै गएको भन्दै एक महिनामा एक पुस्तक पढ्नै पर्ने र त्यसले जीवन जिउने कला सिकाउने भनाइ राखे ।
क्याम्पस प्रमुख नारायण गौतमले इन्जिनियरिङ्गका विद्यार्थीहरुले क्याम्पसमा पुस्तकालय स्थापना गरेर क्याम्पसको गरिमा बढाएको बताए । उनले प्राविधिक ज्ञान सँगै पुस्ताकालयले सिर्जनशील हुन सहयोग गर्ने भन्दै इन्सास कर्नरका लागि क्याम्जसले संरक्षण र सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘क्याम्पसका देशभरका विद्यार्थीहरु अध्ययनरत छन् । धेरै विद्यार्थीको साहित्यप्रति रुचि रहेको पायौं’ अध्यक्ष रिजालले भने ‘विद्यार्थीहरुको चहानालाई मध्यनजर गर्दै हामीले सबैको सहयोगमा पुस्तकालय स्थापना गरेका हौं ।’ साहित्यिक कर्ममा लागेका व्यक्तिहरुको साथ र सहयोगले पुस्तकालय स्थापना गर्न सफल भएको उनले बताए । पुस्तकालयका लागि पोखरा तथा देशका विभिन्न साहित्यकार तथा साहित्यकर्मीले पुस्तक तथा आर्थिक सहयोग गरेको र सहयोग आउने क्रम जारी रहेको इन्सासले जनाएको छ । कार्यक्रममा मोति भुजेल, लोकनाथ पुडासैनी, शिव त्रिपाठी, शरण आसुँ लगायतले बोलेका थिए । कार्यक्रममा टिका रेग्मीले इन्सास कर्नर अवधारणाका बारेमा प्रस्टाएका थिए ।
पुस्तकालयमा अहिले देश तथा विश्व प्रशिद्ध लेखकका चर्चित कृतिहरु रहेको सचिव सन्दिप गौतमले बताए । पुस्तकालय उद्घाटनसँगै विशेष साहित्यिक रचना वाचन पनि भएको छ । विभिन्न समयमा विभिन्न साहित्यिक कर्म गर्दै आएको साहित्यिक सञ्जालले साहित्यको विकासका लागि काम गर्दै आएको छ । सञ्जालले कविता, गजल, मुक्तक लगायतका विधाका विभिन्न अन्तक्र्रिया, छलफल र रचना वाचन कार्यक्रम गर्दै आएको छ । विशेष रचना वाचनमा किरण रिजाल, सुमन लम्साल, टिका रेग्मी, राजीव रिमाल, विशाल थापा, सन्दिप गौतम, साधुराम लामिछाने, प्रतिक्षा सस्मित, राजन नगर खनाल, अमिर खनाल, गौरव खनाल, प्रतिक ढुङ्गाना, समिर हुमागाई लगायत दुई दर्जनले विभिन्न साहित्यक रचना वाचन गरेका थिए ।
Comments are closed.