उज्यालिँदै मिजुरे

केही वडामा पुरै बिजुली, केहीमा विस्तार हुँदै


पोखरा १४ बैशाख/ कास्कीको मिजुरेडाँडा गाउँ विकास समितिमा विद्युत विस्तार हुँदै गएको छ । कास्कीमै पनि विकट गाविसको रुपमा रहेको मिजुरेका केही वडा झलमल्ल भैसकेका छन् भने केही वडामा विद्युतीकरण हुँदैछ ।
मिजुरेको वडा नंं. २ नागीधार, ४ पाखुरीकोट, ६ र ७ गोर्जे, ९ कुवेरडाँडा तथा रखलगाउँ लगायत गाउँ टोलमा केही समय अघि मात्र विजुली पुगेको थियो । बैशाख अन्तिममा जिलुली छोडिएको र जेठ १ गते पुरै निर्माण सकिएपछि सो गाउँका करिव ३ सय ५० घरधुरीमा उज्यालो छाएको थियो । केन्द्रीय प्रसारण लाइनबाट एकैचोटि विद्युतीकरण भई गाउँ झिलिमिलि भएको छ ।

जिल्ला विकास समिति र नेपाल विद्युत प्राधिकरण लेखनाथको संयुक्त लगानी र स्थानीयको सक्रियतामा विद्युत विस्तार भएको हो । सो गाउँमा विद्युत विस्तारका लागि करिव १ करोड रुपैयाँ खर्च लागेको बताइएको छ । जसमा पाँच वडा ट्रान्समिटर जडान गरिएको छ । ‘कास्कीकै गाविस भएपनि मिजुरे विकट जस्तै थियो । विजुली नहुँदा गाउँलेलाई सकस्ती थियो’ मिजुरेडाँडा विद्युत विस्तार उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश गुरुङले भने,‘ अब मिजुरे उज्यालिँदै छ । केही वडा उज्यालो भैसक्यो केही समयपछि पुरै मिजुरे उज्यालो हुनेछ ।’

विद्युतीकरणको यहि आउँदो जेठ १६ गते शनिबार मिजुरेडाँडा गाविसमा औपचारिक उद्घाटन हुँदैछ । सभासद यज्ञबहादुर थापाले विद्युतको उद्घाटन गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उद्घाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्राविधिकहरुद्घारा ग्रामिण विद्युतीकरण सम्बन्धि गाउँबासीहरुलाई आवश्यक सुझाव दिनुका साथै सचेतना कार्यक्रम गर्ने विद्युत विस्तार उपभोक्ता समिति मिजुरेडाँडाका वरिष्ठ उपाध्यक्ष यमबहादुर गुरुङ नेन्थेले जानकारी दिए ।

गाविसकै वडा नं. ६ गोर्जेको वनपाले, पातीखोला, वडा नं. २ नागीधारको सुन्दरबेशी, वडा नं. १ र ३ रबैडाँडा, हर्षे, पोसी, परक्यु, साम्ले, वडा नं. ४ पाखुरीकोटको लुम्दी लगायत गाउँ टोलहरुमा भने अझै विजुली पुगेको छैन् । सो ठाउँका लागि भइरहेको पहल तथा योजनाका बारेमा स्थानीयबासीहरुलाई जानकारी दिइनेछ ।

Comments are closed.