उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत वालिङका नवउद्यमी र कोरोना प्रभावितलाई नगद अनुदान

कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यवसाय शुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।

स्याङ्जा,

रोजगारी गुमाएका तथा आफ्नै व्यवसाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले नगद अनुदान उपलव्ध गराएको हो ।
उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रुपमा २० जना युवायुवतीलाई जनही ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । पालिकाले यसअघि पनि आफ्नै व्यवसाय शुरु गर्न चाहाने युवायुवतीहरुका लागि स्टार्टअपका रुपमा नगद अनुदान दिदै आएको छ ।
“कोरोना संक्रमणका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशीलता तर्फ लाग्न प्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरिएको छ ।” नगरप्रमुख खाँणले भने, “सोही कोषमार्फत आफ्नै व्यवसाय शुरु गर्न चाहाने तथा व्यावसायको थप प्रबद्र्धन गर्ने युवायुवतीलाई सहयोग गर्दै जाने नगरपालिकाको योजना रहेको छ ।”
विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन बृद्धि गर्न ‘उद्यमशीलता व्यवसाय प्रबद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक सञ्चालन कार्यविधि-२०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा स्थापित कोषबाट आर्थिक सहयोग गर्दै आएको नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमण र अन्य कारणबाट बेरोजगारी समस्या बढ्दै गएको बताउँदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालले स्वरोजगार बनाउन र उत्पादन मुलक क्षेत्रमा पे्ररित गर्न नगद अनुदानले निक्कै सहयोगी हुने विश्वास गरेको छ ।
बिभिन्न समस्याका कारण रोजगारी गुमाएका र अव के गर्ने, के नगर्ने ? अन्यौलमा रहेका युवायुवतीलाई उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रुपमा बिगत दुई वर्षदेखि नगद अनुदान दिन थालिएको युएनडिपीको स्थानीय साझेदार दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिईन् ।
नगरपालिकाले बिगत २ बर्षदेखि नवउद्यमी तथा कोभिड प्रभावितहरुलाई अनुदान र नविनतम सोचलाई पुरस्कृत गर्दै आएको छ । नवउद्यमीलाई अनुदानको सहि प्रयोग गर्दै नविनतम र उत्पादनलाई बढाउन नगरपालिकाले आग्रह गरेको छ ।
उद्यमशीलताको क्षेत्रमा नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गर्न लागेको नगरका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए । उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने गरी क्रियाकलाप सञ्चालनमा रहेको उनले बताए ।

Comments are closed.