उपभोक्ता अनविज्ञ हुँदा गाडीबाट पाउनुपर्ने सुविधाबाट वञ्चित

318344_187566284665136_216387283_nपोखरामा गाडी, मोटरसाइकल र पाट्सहरु विक्री पर्ने १ सय ३० कम्पनी तथा पसल छन् । यही अटो व्यवसायीको संस्था हो नेपाल अटोमोबाइल डिलर्स एशोसिसन । यही संस्थाको पश्चिमाञ्चल डिलर्श एशोसिएसनका अध्यक्ष हुन माधव पौडेल । एशोसियसनले पोखरामा २०६१ सालमा स्थापना भएर अटो व्यवसायीहरुलाई गोलबद्ध तथा तिनका समस्यालाई उठाउँदै आएको छ । औधोगिक क्षेत्रमा रहेको सन्तोष ट्रेडिङका संचालकसमेत रहेका एशोसिएसनका अध्यक्ष पौडेल १५ बर्षदेखि यही क्षेत्रमा क्रियाशिल छन् । उनै पौडेलसँग भूकम्पले अटो क्षेत्रमा पारेको प्रभाव र अन्य केही व्यावसायिक विषयमा कुराकानी गरेका छौं ।

प्रस्तुति–अमृत सुवेदी

भूकम्पले अटो क्षेत्रमा कस्तो असर पारेको छ ?

भूकम्पले देशका हरेक क्षेत्रमा असर पुर्‍याएकाे छ । यसबाट अटो क्षेत्र पनि अछुतो रहेन । देशको अर्थतन्त्रलाई नै शिथिल बनाइदिएपछि यसैसँग जोडिएको अटो क्षेत्र सुरक्षित हुने कुरै भएन ।
भूकम्पका कारण अटो बजारमा मन्दी आएको छ । अटो व्यवसायी अन्य व्यवसाय सरह नै रहेको हुँदा समग्रमा व्यवसायमा परेको असरमा अटो व्यवसाय पनि परेको छ ।

भूकम्पपछिको अवस्थामा गाडी तथा मोटरसाइकल र पाट्सहरु विक्री वितरणको अवस्था कस्तो छ ?

भूकम्प आउनुभन्दा पहिलेको अवस्था भन्दा अहिले चाँही ३० प्रतिशतको हाराहारीमा अटो व्यवसाय खस्केको अवस्था छ । एक महिनाकोबीचमा नै यसको रिजल्ट त आउँदैन । तर, जतिपनि ग्राहकहरुले गाडी, मोटरसाइकल खरिद गर्ने सोंच थियो त्यसलाई मानसिकरुपमा नै परिवर्तन गरिदिएको छ । पोखरामा क्षति कम भएपनि मानसिक त्रास र व्यापारमा मन्दी लागेका कारण त्यसको प्रत्यक्ष असर हामीलाई पनि परेको छ । यहाँका मुख्य आयात कम्पनीका मुख्य कार्यालयहरु नेपालको मुख्य शहर काठमाडौंमा भएकाले पनि कतिपय कार्यालयहरु अझै खुल्न सकेको अवस्था छैन ।

भनेपछि आयात हुन सकिरहेको छैन ?

समग्र देश नै यो महाविपत्तिमा राहत र उद्धारमा लागेको हुँदा र सम्पूर्ण हामीसँग आवद्ध व्यक्ति तथा व्यवसायीहरुसमेत सेवामा लागि परेका छन् । त्यसै पनि अहिले चाँही बस्तु आयातलाई रोकिएको छ । कतिपय भन्सारमा बढेको चापको कारणले पनि आयात बढाउन समस्या भैरहेको छ ।

बजारलाई पहिलेकै अवस्थामा फर्काउन केके गर्न सकिएला ?

सबैभन्दा पहिले त काठमाडौं नै भूकम्पको कारणले बढी प्रभावित भएको हुँदा र नेपालको अर्थतन्त्र नै कृन्द्रीकृत अवस्थामा रहेकाले त्यसबाट नै सम्पूर्ण अर्थव्यवस्था संचालित भैराखेको थियो । जसले गर्दा काठमाडौं लगायत पूर्व क्षेत्रमा परेको भूकम्पका कारणले सम्पूर्ण नेपाललाई नै आर्थिक रुपमा बन्दको अवस्थामा छ । त्यसैको असर यस क्षेत्रमा पनि परेको हो । त्यसलाई पहिलेकै अवस्थामा ल्याउनका लागि बन्द अवस्थामा रहेका सम्पूर्ण क्षेत्रहरु खुलेर सकारात्मक सन्देश प्रवाह गर्न सकियो भने फेरी तंग्रिन सक्छ । विशेष गरी पोखरा क्षेत्र एउटा पर्यटकीय क्षेत्र रहेकाले यस क्षेत्रमा रहेका सम्वन्धित संघसंस्थाहरुले पोखरा सुरक्षित छ भन्ने सन्देश बाहिर दिन सकियो र पर्यटक भित्र्याउन सकियो भने छिट्टै नै पुरानै अवस्थामा फर्कन सक्छौं भन्ने लाग्छ ।

पोखरामा यतिका धेरै अटो व्यवसायी हुनुहुन्छ । तपाईहरुको सक्रियतामा भूकम्प प्रभावित क्षेत्रमा केही विशेष पुनरुत्थानका कार्यक्रम हुन सक्थे होलानी ? के गर्नुभयो ?

हामी देशमा आइपरेको महाविपत्तिमा केही मात्रामा भएपनि सहयोग पुग्ने उद्देश्यले तत्काल कै अवस्थामा गोरखाको बारपाक, कास्कीमा भएका भूकम्प पीडितहरुलाई सहयोग गर्ने कार्य गरेका छौं । हामिले तत्कालै आफ्नो क्षेत्रबाट भूकम्प गएको भोलीपल्ट नै एशोसिएसनले उद्योग वाणिज्य संघको सहकार्यमा राहतका कार्यक्रम गरेका छौं । हामीले ५१ हजार रुपैयाँ बराबरको त्रिपाल र कम्वल वितरण गरेका छौं । त्यसैगरी संस्थाका व्यवसायीहरुले स्वतस्फूर्त रुपमा पनि सहयोग गरिरहनुभएको छ । बतास अर्गनाइजेसनले आफ्नै तरिकाले गरेको छ । अटोवेज प्रालि, कुँवर ब्रदर्स, विश्वकर्मा अटोमार्ट, लगायत थुप्रै अटो व्यवसायीहरुले सहयोग गरिरहेका छन् ।

अटो क्षेत्रका समस्याहरु केके छन् ?

यो क्षेत्रका मुख्य समस्याहरु भनेको अटो व्यवसायका लागि एउटा व्यवस्थित क्षेत्र पोखरामा नहुनु हो । जस्तो अटो भिजेलको रुपमा हामीले माग गरिरहेका छौं । पोखरा उपमहानगरपालिका र उपत्यका नगरविकास समितिसँग कुरा राखेका छौं । ट्राफिक व्यवस्थापन पर्याप्त नहुनु, स्पेयर पाट्समा भन्सार शुल्क बढी हुनु, अहिलेसम्म गाडीमा लक्जेरियस बस्तुमा राखेर भन्सार शुल्क अत्याधिक हुनु, आवश्यक रुपमा सडकको विस्तार नहुनु लगायतका समस्या अटो क्षेत्रमा विद्यमान छन् ।
राज्यप्रति सबैभन्दा धेरै राजश्व संकलन गरेर बुझाउने क्षेत्र हो यो । यस क्षेत्रबाट मात्रै राज्यले कुल राजश्व २० प्रतिशत हिस्सा ओगटेको हुन्छ । त्यही अनुरुपको सडक निर्माण र विस्तारका खर्च गरिएको छैन ।

यस्ता समस्या समाधानका लागि तपाईँहरुले चाँही के गर्दै हुनुहुन्छ ?

हामीले यस्ता समस्या समाधानका लागि स्थानीय निकायमा विभिन्न फोरमहरुमार्फत समस्याहरु राख्ने, केन्द्रीय स्तरका समस्याहरुलाई केन्द्रीय संस्था नेपाल अटो मोबाइल डिलर एशोसिएशन मार्फत सम्वन्धित विभाग तथा मन्त्रालयहरुमा राखिएको छ ।
ट्राफिक व्यवस्थापनका लागि गाडी तथा मोटरसाइल प्रयोगकर्ताहरुलाई खरिदको समयमा नै सम्वन्धित सोरुमबाट जानकारी गराएका हुन्छौं भने ट्राफिक कार्यालयबाट विभिन्न समयमा सनचेतनामूलक कार्यक्रम व्यवस्थापनका लागि सवारी साधन उपलब्ध गराउने र व्यवस्थापनका लागि विभिन्न सामाग्री पनि उपलब्ध गराउँदै आएका छौं ।
ग्राहकहरुलाई विभिन्न समयमा संस्थागत तथा व्यवसायिक प्रतिष्ठानहरुबाट अटो भेइकल संचालन तथा मर्मतको सम्वन्धमा विभिन्न अभिमूखिकरण कार्यक्रमहरु गरिरहेका छौं ।

अटो क्षेत्रमा लगानीको वातावरण र कत्तिको सुरक्षित छ ?

एकदमै सुरक्षित क्षेत्र हो अटो क्षेत्र । नेपाल एक अल्पविकसित राष्ट्र भएको र नेपालमा सडक विस्तारको अवस्थामा रहेको कारणले पनि आटो क्षेत्रमा लगानीको प्रशस्त संभावनाहरु छन् । कीनकी सडक र यातायातको विस्तार नै राष्ट्र विकासको मेरुदण्ड हो । यसले गर्दा अटो व्यवसाय आफैमा पनि सुरक्षित अवस्थामा छ ।

पोखरामा कस्ता खालको गाडीका प्रयोगकर्ता बढ्दै गएका छन् ?

पोखरामा दुवै खालो ग्राहकहरुको बसाई छ । उच्च घरानादेखि मध्यम बर्गसम्म । एकतिर व्यवसायिक रुपमा फाइदा हुने खालका गाडीहरु मध्यम वर्गले प्रयोग गर्न सक्ने गाडीको माग छ भने दोस्रो पोखरेलीहरु जा जिवदेशका राम्रा देशहरुमा बसाई गरी आएका व्यक्तिहरुले सुविधासम्मपन्न गाडीहरु प्रयोग गर्ने पनि बढेका छन् । साथै मोटरसाइकलमा पनि त्यही अनुसारको माग रहेको छ ।

गाडीका सुविधाका बारेमा उपभोक्ता अनविज्ञ हुँदा ठगिने गरेका छन् भनिन्छ नी ?

अन्तराष्ट्रिय ब्राण्डका गाडीहरु नेपालमा आएका छन् । तर, त्यसअनुरुपका गाडी प्रयोगकर्ताहरुमा मर्मतदेखि गाडी समस्याहरुमा अनविज्ञ रहनाले जतिपनि गाडीबाट पाउनुपर्ने सुविधाहरु लिएको देखिएको छैन । यसलाई उदाहरणको रुपमा कमसल खालका पार्टपुर्जाहरु प्रयोग गर्नु, समयमै मर्मतमा ध्यान नपुर्‍याउनु, अध्याधिक मात्रामा प्रयोग भइसकेका गाडीका पार्टहरु निकालेर नयाँ गाडीमा प्रयोग गर्नुका कारणले गर्दा जति माइलेज दिनुपर्ने हो दिएको पाईँदैन । यसमा जानकारी लिएर मात्र खरिद गर्न सम्पूर्ण उपभोक्ता बर्गमा अनुरोध गर्दछु ।

चोरीका गाडी ल्याएर सस्तोमा बेच्ने वा त्यही गाडीका सामान पुन प्रयोग वा विक्री गर्ने पनि बढेका छन् भनिन्छ । के भन्नुहुन्छ ?

विभिन्न माध्यमबाट भारतीय गाडीहरु नेपालमा आइ चलाउने र तिनै गाडीबाट पाट्र्सहरु निकालेर बजारमा विक्री वितरण गरेको पाइएको छ । यसका लागि निरुत्साहीत गर्नका लागि सम्वन्धित निकाय विशेष गरी भन्सार र सुरक्षा निकायले सशक्त रुपमा कारवाही गरी यस्ता कार्यलाई निरुत्साहित गर्न जरुरी छ । हामीले पनि यस्ता काममा निरुत्साहित गर्ने खालका कार्यक्रमहरु गरिरहेका छौं ।
अन्त्यमा ?
सम्पूर्ण पोखरेली देशमा भएको महाविपत्तिमा आ–आफ्नो क्षेत्रबाट सहभागी बनौं हामी पनि दुःखमा परेका नेपालीहरुलाई मलहम लगाउने कार्यमा जुटौं । यसका लागि हरदम सहकार्य गर्नका लागि हामी तयार छौं ।

Comments are closed.