पोखरा, १६ जेठ ।
कास्कीको सिल्दूजुरेमा निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत् आयोजनाको करिब ७५ प्रतिशत काम सकिएको छ ।
कहिले मजदूर आन्दोलन त कहिले प्रभावित क्षेत्रका बासिन्दाको अवरोधका कारण पटक पटक रोकिएको आयोजनाको काम करिब अन्तिम चरणमा पुगिसकेको आयोजनाका संयोजक रामराज कोइरालाले जानकारी दिए ।
आयोजना कास्कीको सिल्दुजुरे गाविस–९ बाहुन डाँडामा निर्माणाधीन छ । २०६९ साल पुसमा शिलान्यास भएको आयोजना २८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिईएपनि आयोजनाको सुरुंगमार्गमा पहिरो गएपछि केही समय निर्माणकार्य रोकिएको थियो भने प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनका कारण पटक पटक आयोजनाको निर्माण रोकिँदै आएको थियो ।
सन् २०१६ को मे महिनाभित्र आयोजना निर्माणको सम्पूर्ण काम सकेर विद्युत उत्पादन थालिने आयोजनाका संयोजक कोइरालाले बताए । वैशाख महिनाको अन्तिमसम्म तीन हजार ७ सय मिटर सुरुङ खनिसकिएको छ भने अब करिब ५ सय मिटरमात्रै सुरुङ खन्न बाँकी छ ।
विद्युत् गृह, सुरुङलगायतका काम एक वर्षभित्र सकेर विद्युत् वितरण गर्ने आयोजनाको लक्ष्य छ । आयोजनाको कूल लागत पाँच अर्ब २८ करोड रुपैयाँ भएपनि लागत बढ्नसक्ने अनुमान छ ।
कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा निर्माण सुरु गरिएको हो ।
चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ब्युरो–१० चेन्डुलाई निर्माणको जिम्मा दिइएको छ । बाँधको आवश्यक संरचना तयार गरी चार हजार २०० मिटर लामो सुरुङ निर्माण गरी सिल्दुजुरे– ९ डाँडाबारीमा पानी खसालिनेछ । आयोजना निर्माणबाट यस क्षेत्रका ५० हजार बासिन्दा लाभान्वित हुनेछन् ।
यसअघि सम्झौता अनुसार माग पूरा नगरेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले यही जेठ ११ र १२ गते आयोजनाको कामकाज ठप्प पारेका थिए । प्रभावित क्षेत्रको प्रतिनिधित्व गर्ने मादी नदी जलाधार प्रभावित क्षेत्र एवं समन्वय तथा सरोकार समिति र परियोजनाबीच विभिन्न बिषयका माग पुरा गराउने सहमति भएपछि तत्कालका लागि आन्दोलनको स्वरुप परिवर्तन गरी कामकाज सुरु गराएका थिए ।
प्रभावित क्षेत्रका बासिन्दाले कास्कीलाई लोडसेडिङ्ग जिल्ला मुक्त गर्न पहल नगरिएको, सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, बाटो, सिचाईं, पुल पुलेसो लगायतका समस्याहरु सम्बोधन नभएको र स्थानीय बासिन्दालाई दिने भनिएको शेयर उपलब्ध नगराईएको लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।
Comments are closed.