उपल्लो मादी अनिश्चितकालिन बन्द

83489705aa9378fc0f579f1f6f7d74f0_Lपोखरा, १२ जेठ/ कास्कीको सिल्दूजुरेस्थित उपल्लो मादी जलविद्युत आयोजना अनिश्चितकालिन बन्द भएको छ । सम्झौता अनुसार माग पूरा नगरेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले निर्माणाधीन उपल्लो मादी हाइड्रो पावर परियोजनाको निर्माण कार्य ठप्प पारेका हुन् ।
प्रभावित क्षेत्रको प्रतिनिधित्व गर्ने मादी नदी जलाधार प्रभावित क्षेत्र एवं समन्वय तथा सरोकार समिति र परियोजनाबीच भएको २२ बुँदे सम्झौता कार्यान्वयन नभएपछि स्थानीय बासिन्दा र मजदूरहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले यही सोमबारदेखि आयोजनाको सम्पूर्ण कामकाज रोकेका छन् । २०६९ साल चैत २४ गते भएको सम्झौताका अधिकांश बुँदा परियोजनाले पूरा गराउन चासो नदिएको र पटक पटक सचेत गराउँदा पनि वेवास्ता गरिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीय बासिन्दा तथा सरोकार समितिका सल्लाहकार लाल बहादुर गुरुङ्गले जानकारी दिए ।
कास्कीलाई लोडसेडिङ्ग जिल्ला मुक्त गर्न पहल नगरिएको, सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, बाटो, सिचाईं, पुल पुलेसो लगायतका समस्याहरु सम्बोधन नभएको र स्थानीय बासिन्दालाई दिने भनिएको शेयर उपलब्ध नगराईएकाले आयोजना विरुद्ध लाग्नु परेको प्रभावित क्षेत्रका बासिन्दाले मंगलबार विज्ञप्ति निकालेर जनाएका छन् ।
परियोजनाले यसअघि २०७० साल असार मसान्तसम्म प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर उपलब्ध गराउने भनेपनि शेयर नै आव्हन नगरेको स्थानीयले आरोप लगाएका छन् । पछिल्लो पटक शेयर उपलब्ध गराउन आग्रह गर्दा व्यवस्थापन पक्षबाट दुईबर्ष अघि नै शेयर आव्हन गरिएको र स्थानीय बासिन्दा कोही पनि मागका लागि नआएकाले त्यो समय सकिईसकेको जवाफ पाएको गुरुङ्गले बताए ।
“परियोजनाले शेयरका लागि सूचना नै प्रकाशित गरेको छैन” उनले भने– “हामीलाई झुक्याउनका लागि शेयर आव्हन गरेको समय सकियो भनिएको छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत शेयर दिने व्यवस्था नगरेसम्म हामीले काम गर्न दिँदैनौं ।”
परियोजनाले सुरुमा २५ मेगावट क्षमताको भनेर स्विकृती लिएपनि पछि प्रभावित क्षेत्रका बासिन्दासँग स्विकृती नै नलिई ५ मेगावट थपिएको उनले बताए ।
“परियोजनाले कहिल्यैपनि कुनै काम गर्दा हामीसँग समन्वय गर्ने गरेको छैन । कागजपत्र भित्रभित्रै मिलाएर क्षमता समेत थपिएको छ तर हाम्रो मागका सम्बन्धमा सधैं वेवास्ता गर्ने गरिएको छ ।” उनले भने । थप ५ मेगावट थपिएपछि प्रभावित क्षेत्रका बासिन्दाले त्यसको पनि क्षतिपूर्ति पाउनुपर्ने उनको माग छ ।
चीनको थ्रि गर्जेज कम्पनी र नेपालको निजी क्षेत्रको लगानीमा २५ मेगावट क्षमताको यो परियोजनाको साढे २ बर्ष अघि शिलान्यास गरिएको थियो । २८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि लक्षित समय नजिकिँदै गर्दा आयोजना अझै सम्पन्न भैसकेको छैन । सुरुमा आयोजना निर्माणका लागि ५ अर्ब २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएपनि आयोजनाको लागत भने बढेको छ ।
आयोजनाका लागि सिल्दूजुरे गाविसको चासुबाट ४ किलोमिटर सुरुङ निर्माण गरी बाहुनडाँडामा विद्युतगृह निर्माण गरिएको छ । आयोजनाबाट पाँच गाविस सिल्दुजुरे, नामार्जुङ, थुमाकोडाँडा, कालिका र पार्चे गाविस प्रभावित क्षेत्र हुन् ।

Comments are closed.