‘एक’- याे पुस्ताले बाँचेको अराजक समय भोगाईका बाछिटाहरु

mpहामीकहाँ काम भन्दा हल्ला धेरै हुन्छ । हल्लाहरु योजनाबद्ध पनि हुन्छन । पक्ष र विपक्षका दुवैखाले हल्ला कहिलेकाँही काम माथीको कामै नलाग्ने ऐजेरु पनि बन्छन् । जे होस, हामीकहाँ हल्ला हुन्छ । यस्तै, हल्लाको पछिपछि बजारमा आएको गजलकृति ‘एक’को वारेमा सामान्य पाठकिय टिप्पणी यहाँ प्रस्तुत गर्न खोज्दैछु । ‘एक’का पाठक वा यो टिप्पणीका पाठकहरुलाई मेरो नीजि धारणाहरुमाथी पुरै वा आंशिक असहमती राख्ने छुट छ । ‘एक’ एकाक्षरि काफियामा लेखिएको पहिलो गजलसंग्रहको दावा सहित बजारमा आएको कृति हो । भलै, एकाक्षरि काफिया माथिको प्रयोग नयाँ भने होइन ।

‘एक’ पोखरामा आउनु अघि ‘एक’का एकथान हल्ला पोखरा भित्रिएका थिए । एम.पी.का समकक्षी गजलकारहरु, जो आफ्नो स्वत्वको खोजी गजलका माध्यमले गरिरहेका छन् । उनिहरुले एकअर्थ एम.पी.लाई पैचो लगाए र एम.पी. पोखरा आए । हल्लाहरु पोखरा आए । ‘एक’ पोखरा आयो । यसर्थ, हल्लाको मनसुन भन्दा ढिलो आयो एम.पी.को ‘एक’ पोखरामा । एम. पी. माथीका हल्लाहरु विस्तारै दावा, पैचो वा गुन हुँदै विस्तारित छ बजारमा । पुस्तक संगसंगै केहि दावाहरु आएका छन् । दावा, एकाक्षरी काफिया प्रयोगको सन्दर्भसंग सम्वन्धित छ । एम.पी.को लेखन स्कुलिङ्संग सम्वन्धित छ । घराना वा तेरो मेरोसंग सम्वन्धित छ । मैले यति र तैले यतिसंग सम्वन्धित छ । एम.पी.का मित्रहरु केहि दावाहरुसहित एम.पी.संग दुश्मनी गरिरहेका छन् । प्रिय दुश्मनी । एम.पी.लाई पनि अहिलेलाई मन पर्ने दुश्मनी । ‘एक’ हल्ला गर्ने गजलसंग्रह भन्दापनि तर्क वा बहस गर्नुपर्ने गजलसंग्रह हो । यसले आफ्नो स्वत्व स्थापित त गर्ला तर, दुर्घटनारहित स्वत्वको सम्भावना देख्दिन । पूर्णशव्द काफियामा गजल लेख्दै गरेका वा प्रवेश नाकामा रहेका गजलकारहरुलाई गाँजेमाजे बनाउने खतरा पनि हो ‘एक’ । खैर ! ‘एक’ उस्को पहिलो नीजि सवारी हो । कुशल चालकपनि दुर्घटनामा पर्छ । आगामी बाटोका बाटेखर्च केहि निजी टिप्पणीहरुसहित एम.पी.लाई धेरै बधाई । 10419038_884972294929982_2507010242798084713_n
‘एक’ आजको वा आजसम्मको एम.पी.ले लेखेको हो । भोलिको एम.पी.ले ‘एक’ लेख्दैन । आज गरिने ‘एक’ माथीका टिप्पणीहरुपनि आजका लागि हुन् । ‘एक’ माथीका हल्लाहरु, दावाहरु, टिप्पणीहरु एक अर्थमा ‘एक’मा जन्मिएको एम.पी.को, मृत्यूउत्सव पनि हो । ‘एक’ जन्मिएको छ ‘एक’भन्दा अगाडीको एम.पी.को मृत्युमा । “यो ‘एक’ पनि मात्र रहर हो र यसमा भएका सवै गजलले एक चोटि आत्मसन्तुष्टि दिए । आफू जन्मेको बेला केहि हदसम्म । यसो भन्दा केहि फरक नपर्ला ‘एक’ मेरा पुराना सन्तुष्टिहरुको सामूहिक चिहान हो ।” एम.पी.ले स्वयं यस्ता केहि दावाहरु गरेका छन् ।
मेरो पाठकिय टिप्पणी, मेरो पाठकिय दावा र मेरा केहि दृष्टिकोणहरु ‘एक’संग एकाकार भएका छन् । जीवनपानीको भूमिका विज्ञानसम्मत छ । ‘एक’को सुर जत्तिको मिठो नभएपनि गजलकारले कृतिमा आफ्ना भनाइहरु सुर शिर्षकमा उल्लेख गरेका छन् । उनको सुर उनका मित्रहरुले गरेका हल्लाहरु जत्तिको पनि मिठो लाग्दैनन् । पुस्तकमा सुर लगत्तै राखिएको प्रकासकिय पुस्तकभरिकै नमिठो सुर हो ।
हाम्रो पुस्ताले बाँचेको अराजक समय भोगाईका केहि बाछिटाहरु छन् ‘एक’मा । तन्नेरी बयका एम.पी.को प्रेम र प्रेम अनुभुतिका केहि बाछिटाहरु पनि छन् । शालिन र अनुशासित प्रेमका आयामको धागोमा एम.पी.ले उनेको प्रेमफुल धेरै प्रेमिहरुलाई नोष्टाल्जिक बनाउने खालका छन् ।
मलाई हेरे झै लाग्छ यो तस्विरले
कस्ले बनाएछ उनका आँखा राखेर
पृ. ९

सुझाव तिमि देउ, कहाँ राखुँ तिमिलाई
भन यो दनियाको आँखा कहाँ लाग्दैन ?
पृ.४५

‘एक’ समग्रमा अन्य केहि एकहरुको संयोजन पनि हो । ‘एक’ भित्र एउटा प्रेमका बहुसंख्यक शेर लेख्ने प्रेमि गजलकार छ । जो अलिक भावुक छ । कोमल छ । शालिन पनि छ । उस्लाई आधुनिक प्रेमको तरिका पनि थाह छ । उस्लाई घुक्र्याउन पनि आउँछ । फकाउन पनि जानेको छ । प्रेमका सिमाहरुसंग भलिभाती जानकार प्रेमीजस्तो ।

निदाउन खोज्छु उसकै याद आँउछ
यो सिरानी पनि छ आलमारी जस्तो ।
पृ. ७

यो कस्तो सजाय तिम्रै तस्विर हेर्नुपर्ने
आफ्नो मनलाई पनि आफ्नो बनाउन ।
पृ. ४

गएको एक दशक, घटना गणितको एक शताव्दी पनि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशबाट देशका कुना कन्दराहरु परिचित छन् । एम.पी. को उमेर समयले रोदी मागीरहेका बेला रोदी बस्ने गाँउहरुमा जनवादी गीत गाउने जोशिला तरुण तन्नेरीहरु पसे । समयको तन्नामा शाषकको मृत शुक्राणु अलपत्र देखे, एम.पी.ले । मृत शुक्राणुको नजिकै कैयन सपनाहरुको आलो रगत पनि देखे । उनको उमेर समूहका कैयन प्रेमीहरुको प्रेम, आधा पाकेको अण्डाजस्तो कचपल्टिएको छ । अर्धनिन्द्राको बालकजस्तो । यसर्थ, जीवनलाई ब्रोइलर बनाउने हतारोमा दौडिरहेको समय र संगै दौडिरहेका एम.पी.ले देखे भोगेका असंख्य कथाहरुको पाण्डुलिपि पनि हो ‘एक’ । प्रेमका बिकृति विसंगति र अराजकताले डढेको कलेजो बोकेर प्रेम खोजिरहेको यूवाको गाँजेमाजे प्रेम डायरी पनि…. ।
आज तिम्रो भएन भने भोलि पनि हुँदिन
आएको छु अन्तिम पटक आँगनमा ।
पृ.३

उस्ले अन्तिम पत्र पठाउँदा पनि म खुुसी छु
पठाएको रहेछ पुछारमा क्रमस  लेखेर ।
पृ.१३

एम.पी. यहि पुस्ताको प्रतिनिधी पात्र हो । जस्ले आफैले बाँचेको समय र समाज प्रस्तुत गर्ने माध्यम नेपाली गजललाई बनाएको छ । पछाडी आगो र अगाडी अन्धकार बाँचिरहेको अभागी पुस्ता । यो पुस्ताले युद्ध भोगेको छ, देखेको छ वा साछी बसेको छ, समय अशान्त बनाउनका लागि शान्तीबार्ताहरु भएको समाचार पढेको छ । यसर्थ, ‘एक’ भित्र प्रेम र प्रेमजन्य घटना र दुर्घटना भन्दा बाहिरको अर्को गजलकार पनि छ । आफैले बाँचेको समयको साछी दोस्रो गजलकार । मलाई थाहा छैन । प्रेम र समयको अराजक पृष्ठभूमि बाँचेको गजलकार मध्य कुन एम.पी. हो र कुन केयरलेस । तर, नागरिकता, सवारी लाइसेन्स, पासपोर्ट, विभिन्न भाषाको ज्ञान र यहाँसम्म कि स्वास्थ्य परिक्षण पनि स्वयं बेचिने पूर्वतयारीका लागि गर्नुपर्ने वा गरिरहेको पुस्ताको प्रतिनिधिले प्रेम मात्र लेख्छ, मलाई पत्यार लाग्दैन । भलै, केहिलाई भजन लेखेर प्रसिद्ध हुनु होला । घर बनाउनु होला । एम.पी. यो मानेमा समयको इमान्दार गजलकार जस्तो लाग्छ । नकाव रहित लेखक । ‘एक’ मा प्रेमका आयामहरु मात्र छैनन् । अनुभूतिका प्रकारहरु पनि छन् ।
पुर्खासंग जमिन रैछ था पाउँदा खुसी लाग्यो
साहुले राखेको छ अझै तमसुक जोगाएर
पृ.३८

जति भएपनि नाजुक पत्थरहरु
बन्दैनन् काँचका अनुकुल पत्थरहरु ।
पृ.३७
हो, हामीलाई अप्ठ्यारो छ । आँखा खोलेर जागै बस्न पनि र आँखा चिम्लेर यो बर्तमानमा निदाउन । निदाइहाले पनि मनको सिनेमा फ्ल्यासब्याकमा पुग्छ । समयको कारुणिक फ्ल्यास ब्याक –
यो कस्तो तस्विर बनायौ तिमीले
बालक पिढीमा बम आँगनमा ।
पृ.३
कहाँ लगाएका हुन र आगो रहरले
बाध्यता हो खोजिन्न उज्यालो रहरले ।
पृ.४२

एमपि ‘एक’ मा नयाँ हुनन् तर जीवन संस्लेसणमा अनुभवी छन् । यो मेरो होइन, एक भित्रका एमपिको दावा हो । अनुभवले बनेका जीवन द्धष्टिकोणहरु, बाँच्नुका प्राप्तीहरु, क्रमस योजना र आसाहरुको आउने जाने क्रम श्रृङ्खला जीवनकै गतिमा प्रवाहित छन् ।

आज को छ यात्रामा हिजो को थियो पत्तै भएन
कहाँ छुट्यो उज्यालो, अध्यारो कहाँ भो पत्तै भएन ।

राखिदिएको थिएँ बजारमा, जिन्दगी सजिलै बिक्यो
किन्नेले के सोचेर किन्यो राम्रो या सस्तो पत्तै भएन ।
पृ.२८

‘एक’ अनेक यस्तै एकहरुको संयोजन हो । जीवनका अनेकन पक्ष र पाटाहरुको इन्द्रेणी । घामपानी जस्तो । कतै उज्यालोको खोजि त कहि अध्यारोका चिन्ताहरु । पत्रपत्र यादहरुको सुन्दर मखमलीजस्तो । पत्रपत्र घाउहरुको फोसिल जस्तो । समय र अनुभूतिको बुट्टे रुमाल जस्तो पनि । शव्दसिल्प पनि मिठो । विम्व प्रतिक संयोजनका सन्दर्भले पनि उज्यालो । उज्यालोको यो खोजमा एमपिले जन्माएका कतिपय शेरहरु स्वयं आगतको एमपि जन्माउने सामथ्र्य राख्दछन् ।

कहिलेकाँही समयले सुन बनाउँछ हामिलाई
अफसोच ! त्यो बेला समाचार भाउ घटेको आउँछ ।
पृ.४३

चकलेटको खोल जसरी नचम्क ए ताराहरु हो !
गर्न सक्छन यी बालबच्चा हमला आकासमा ।
पृ.२९

बाल्यकालका यादहरु अभाव दवाव वा प्रभावको रुमालमा पोको पारेर सावा अक्षरहरुको खोजीमा नेपाल खाल्टो या स–साना गाउँहरुको छोटे दादा, छोटे राजधानीहरुमा छिरेका हज्जार एम.पी.हरुले मात्र भिडको हिस्सा बन्न शायदै खोज्छन् । खोज्नु अलग कुरा, भिडहरुबाटै खोजिनु अलग । जीवन जटिलताका प्रश्नहरुले पाइलैपिच्छे चिमोटनु र आफैमा अनुत्तरित हुनुको पिडा पनि मज्जाकै हुन्छ । मिराकलजस्ता सवालहरु । बुझे बुझे जस्तोपनि लाग्ने । केहि पनि त बुझिएनछ जस्तो पनि लाग्ने ।

कहिल्यै राखिएन रहेछ दुरी आफैसंग
र त भएन आजसम्म चिनाजानी आफैसंग

हिजोको आफै, आजको आफै, भोलिको आफै
झुक्किई रहन्छु मै धेरैचोटी आफैँसँग ।
पृ.३३

आज पानीमा भोली आगोमा टेकिनेछ
पाइलै पिच्छे यसरी आगोमा टेकिनेछ ।

आगो भुसमा लागेको हो होसियार
अब जहाँ टेकेनी आगोमा टेकिनेछ ।
पृ.३०

कैलालीदेखि बत्तिएको एउटा चरो । इञ्जिनियरिङ्गको एउटा विद्यार्थी । महिनौ लगाएर घरदेखि आउने पैसाले दैनिकीहरुको अंकगणीत मिलाउदै गरेको लक्का जवान पनि । मलाई थाहा छ, उसले लेखेका कतिपय गजलहरु ‘एक’ मा छैनन् । यहाँ उद्दरण नगरिएका गजल शेरहरुको पनि आफ्नै स्वत्व छ । लेखकले एकअर्थमा लेखेका शेरहरुमाथी पाठक हज्जार अर्थको आँखा ओच्छ्याउन सक्छ । एम.पी. र केयरलेस ‘एक’ भित्रका केही तखल्लुस पनि हुन । तखल्लुुस प्रयोगका सन्दर्भमा यिनको चामत्कारिकता कमजोर लाग्छ । कतिपय मक्तामा एमपि अथवा केयरलेसको सट्टामा अरु नै कुनै नाम राखेर हेर्दा पनि अर्थगत बैविध्य भेटिदैन ।

एमपी मर्न मात्र बाँकी छ भित्र
तयार बसेका छन् मलामी बाहिर
पृ.२

यसो त तखल्लुसको कमै प्रयोग गरेका छन एमपिले । कतै सावधानीहरुपनि छन् ।

केयरलेस हुनुपर्छ पक्कै त्यो
जो फुललाई पनि नहेरी गयो ।
पृ.२६

‘एक’ सम्पूर्णत ः मुरद्दफ गजल हो । गजलमा प्रयोग भएका रदिफ यति सामान्य छन कि रदिफजस्तै पनि लाग्दैनन् तर काफिया प्रयोग र शव्दसंयोजनको कलाले सवैजसो मिसरा बलवान लाग्छन् । कृतिको शिर्षक, कतै उल्लेख गरिएपनि नगरिएपनि एकाक्षरी काफिया प्रयोगको आत्मसन्तुष्टिबाट जन्मेको हो । काफियाको प्रयोग आलोचनासहित स्विकार छन् । एम.पी.ले प्रयोग गरेका काफियाहरुको विषयमा आज पर्यन्त विषद् छलफल हुने कुराको अनुमान लगाउन सक्छु । एम.पी.का कतिपय मतलाहरु जिज्ञासा र समाधानको गजल बैशिष्ठ्य भन्दा फरक छन् । रुखा लाग्छन् । मिसरा ए सानी पूर्व लाग्दा मिसरा ए उला पश्चिम लागेजस्ता पनि लाग्लान कतिपय । कतिपय गजलमा गजलका अन्य शेरहरुको तुलनामा तुलनात्मक मतला कमजोर लाग्छन् । कतै सुरुचिकर लाग्ने उनको उपस्थिती कतै भने बिरसिलो लाग्छ । कोरा चिन्तन जस्तो । जिवन दर्शन र प्रेमका प्रति एम.पी.का केहि दावाहरु पनि छन् । दावाहरु हुनुपर्छ पनि । पाठकलाई हाजमोला नचाहिने अवस्थासम्मका दावाहरुले गजलकारलाई स्थापित नै गर्छन । विषयगत विविधता, शैलिगत पृथकता, कला, भाव र विचारका नविन सौन्दर्यको गजलपुष्पमा चिन्तनको सुवास मग्मगाउनु उनका गजलको सबल पाटो हो ।

समग्रमा, गजलसंग्रह ‘एक’, ‘एक’ का लागि भन्दै वा भनाईदैं छुटेका हल्लाका गाडीहरुकै दावाजस्तै अत्यन्तै पृथक, नयाँ र फरक गजलसंग्रह भने होइन । भयङ्करै भएको पनि होइन । यो निरन्तरताकै स्वभाविक बाटो हो । यो फरक हो कि, यो भिडको घच्चाघमासानमा एम.पी. फरक तरिकाले हिँडन रुचाएका छन् । भावको सघनता र विषयको गम्भिरताले धेरै चिज भनिरहेका छन् । नयाँ नै नभएपनि नयाँ तरिका मन पराएका छन् । उनले मन पराएको नयाँ तरिका पाठकलाई पनि रुचोस शुभकामना ।
अन्त्यमा,

एमपीले आफ्नो पुस्ताका लागि लेखिदिएको मन पर्ने एउटा शेर

आफूसंग भएको उज्यालोलाई आगो संझी
सधैं भागिरहन्छ जुनकिरी आफैसंग । समाप्त

Comments are closed.