एजेन्सीबाट यात्रु ठगिए–पृथ्वीराजमार्ग

एकराज गिरी
पोखरा ७ बैशाख ।ट्राभल एजेन्सीहरुले कमिशनको खेलमा यात्रुहरु ठगिने गरेको भन्दै पृथ्वी राजमार्ग बस संचालक समितिले एजेन्सीमार्फत टिकट बुर्किङ गरेका यात्रुलाई अव यात्रा गर्न नदिने भएको छ । हिमालपारीको जिल्ला मुस्ताङसम्म बस सेवा संचालन गरेको समितिले एजेन्सीहरुले सरकारले तोकेको भन्दा बढी रकम लिने गरेको भन्दै यात्रुलाई बसमा यात्रा गर्न नदिने बताएको हो ।

unnamed (3)

सरकारले पोखराबाट जोमसोमसम्म ९ सय ९५ रुपैयाँ तोकिएको भएपनि उनीहरुले ३ हजारसम्म रकम लिने गरेको पृथ्वीराजमार्ग बस संचालक समितिले बताएको छ । पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष ऐनकुमार साईले एजेन्सीहरुले कमिशन खाने तर बढी रकम लिएको दोष आफुहरुलाई आउने गरेको बताए । ‘कमिशनका नाममा ट्राभल एजेन्सीका कारण यात्रु ठगिएका छन् ।’ साइले भने, ‘सरकारले तोके भन्दा बढी रकम लिने एजेन्सी तर बद्नाम हाम्रो भएको छ ।’ एजेन्सीमार्फत टिकट लिएका यात्रुलाई नबोक्ने उनले जिकीर गरे ।

उनले एजेन्सीले समितिलाई ९ सय ९५ रुपैयाँ मात्रै बुझाउने गरेको तर यात्रुसँग कमिशनका नाममा महङ्गो रकम लिने गरेको र दोष समितिलाई आउने गरेका कारण समितिकै काउण्टरबाट टिकट लिन आग्रह गरे । जोमसोमका लागि पोखराको लेकसाइडमै टिकट काउण्टर राखिने र त्यहीबाट टिकट काट्नसमेत समितिले आग्रह गरेको छ ।पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले विभिन्न बाधा र व्यवधानकाबीच विश्वसम्पदा सूचिमा सूचिकृत प्रसिद्ध तीर्थ स्थल हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथसम्म तीर्थयात्रीलाई मध्यनजर गरी पोखरादेखि जोमसोमसम्मको बससेवालाई स्तरीय बनाउन लागि परेको वताए । समितिले गत चैत्र १ गतेबाट पोखरादेखि मुस्ताङ्गको जोमसोमसम्म सिधा यातायात सेवा संचालन गरेको थियो । सेवालाई अझ व्यवस्थित बनाउनका लागि समितिको टिकट बुकिङ्ग काउण्टर लेकसाईडबाट आवश्यक बुकिङ्गको व्यवस्था गरिएको वताउँदै केसीले सोही काउण्टरबाट मात्र टिकट बुकिङ्ग गरी निर्धारित भाडादरमा नै सुलभ तथा सुनिश्चित यात्रा गर्न यात्रुहरुलाई आग्रह गरे ।

Comments are closed.