एन्फा अगाडि र सहारा पछाडि हटेपछि विवाद मिल्यो

ANFAपोखरा २ पुस ।पोखरामा संचालन हुने दुई ठुला फुटबल प्रतियोगिताको मिति जुधेपछि उत्पन्न विवाद समाधान भएको छ । एन्फा कास्कीले प्रतियोगिता पुस २२ देखि माघ ३ गतेसम्म संचालन गर्ने र सहाराले माघ २० वा २७ गतेको मिति माग गरेपछि विवाद समाधान भएको हो ।अखिल नेपाल फुटबल संघ एन्फाले केन्द्रीय उपमहासचिव गणेश भटराईलाई विवाद समाधानको जिम्मेवारी दिएको थियो । भट्टराईको पहलमा एन्फा कास्की र सहारा क्लबका पदाधिकारीको वार्तापछि एन्फाले एक साता अगाडि सार्ने र सहाराले माघ तेस्रो साता पछिको मिति माग गरेपछि पोखरामा संचालन हुने दुई ठूला फुटबल प्रतियोगिताको विवाद अन्त्य भएको हो ।

 यसअघि एन्फा कास्कीले पुस २८ देखि मनकामना पोखरा दर्शन कप र सहारा क्लबले तेहौ संस्करणको आहा रारा गोल्ड कप माघ ६ गतेबाट गर्ने तयारी गरेका थिए । एक साताको फरक मै प्रतियोगिता संचालन गर्ने दुई संस्थाको विवादले अन्यौलता छाएको थियो । ‘एन्फा र सहाराका पदाधिकारी सहित भएको छलफलबाट विवाद मिल्यो,’ एन्फा कास्कीका अध्यक्ष धर्मसिंह लामिछानेले भने । ‘एन्फा उपमहासचिव गणेश भट्टराईको सहभागीतामा एन्फा र सहाराका पदाधिकारीसहित भएको छलफलले समस्याको समाधान निकालेको हो’, एन्फा अध्यक्ष लामिछानेले भन,े ‘अव खेल खेलाउने विषयमा विवाद छैन् ।’

यता सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले पनि एन्फा अगाडि सर्ने र आफुहरु पछाडि जाने सहमति भएको बताए । ‘सौहादपूर्ण वातावरणमा बसियो । सधै विवाद नहोस् भन्ने हिसाबले मिल्यो,’ अध्यक्ष आचार्यले भने, ‘एन्फा कास्कीको प्रतियोगिता पछाडि सरेकाले यस वर्ष मिलाएर गर्ने र आगामी वर्षदेखि एन्फाले मंसिर पहिलो हप्ताभित्रै र सहाराले माघमै गर्ने सहमति भयो ।’‘हामी मिति सार्नेमा सहमत भएको हौ, तर, एन्फा केन्द्रले लिखित रुपमा मिति तोकेर दिएको छैन्, त्यसले गर्दा अन्यौलमा छौ,’ अध्यक्ष आर्चायले भने । आफुहरुले विवाद मिलाउने जिम्मेवारी पाएका उपमहासचिव भट्टराईसंग माघ २० गतेको मिति माग गरेको उनले बताए । ‘पहिला हामीले २० वा २७ गते मध्य एक जुन भएपनि हुन्छ भनेका थियांै तर अहिले माघ २० गतेको मिति उपयुक्त हुने भएकाले, त्यही मिति मिलाईदिन आग्रह गरेका छौ’ उनले भने ।Sahara

विवाद समाधानको जिम्मेवारी पाएका गणेश भट्टराईलाई यस विषयमा जिज्ञासा राख्दा विवाद समाधान भएको बताउँदै एन्फाका सिइओ देश बाहिर भएका कारण मिति तोक्न समस्या भएको र बुधबार टुङ्गो लाग्ने बताए । ‘केन्द्रीय अध्यक्ष नभएको र कार्यवाहक अध्यक्ष र सिइयो पनि बाहिर भएका कारण बैठक बस्न नपाएको र उहाँहरु आज (मंगलबार) नेपाल आएकाले बुधबार मिति टुङगो लाग्ने छ ।’ माग गरे अनुसार नै निर्णय गर्न आफुले आग्रह गरेको बताए । ‘उहाँहरुले मागे अनुसार नै बुधबारको बैठकले निर्णय गर्ने छ,’उपमहासचिव भटराईले भने ।

Comments are closed.