अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन भएको छ। ललितपुर भैँसेपाटीस्थित नयाँ घरमा शुक्रबार मात्रै सरेका श्रेष्ठलाई करेन्ट लागेपछि उपचारका क्रममा अल्का अस्पतालमा निधन भएको हो।
४९ वर्षीय श्रेष्ठ ललितपुरको थ्रिस्टार क्लबका अध्यक्षसमेत थिए। भ्रष्टाचारको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरेपछि एन्फा अध्यक्ष गणेश थापाले आफ्ना विश्वासपात्रका रुपमा रहेका श्रेष्ठलाई गत कात्तिकमा कार्यवाहक जिम्मेवारी दिएका थिए।
त्यसअघि उनी एन्फाका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता थिए। लेखा समितिले दोषी ठहर गरे पनि थापाको मुद्दालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको थियो। २०४३ सालदेखि थ्रीस्टारमा आवद्ध श्रेष्ठ तीन पटक यसका अध्यक्ष चुनिएका थिए।
श्रेष्ठका पत्नी निलु श्रेष्ठ, एक छोरा र एक छोरी छन्। श्रेष्ठको शव अहिले अल्का अस्पतालमा राखिएको छ। श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर अहिले ९ बजेदेखि ११ बजेसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिने भएको छ।
Comments are closed.