पोखरा हटलाईन
पोखरा, साउन ३०
कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीले शुक्रबार खेलाडीहरुलाई राहत वितरण गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा एन्फा कास्कीले नोवल कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित फुटबल खेलाडी तथा फुटबल खेलसँग सम्बद्ध पदाधिकारीहरुलाई राहत वितरण गरेको हो ।एन्फा कास्कीमा आबद्ध २२ वटा क्लवका आर्थिक अवस्था कमजोर भएका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा पत्रकारलाईसमेत राहत वितरण गरिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । उनका अनुसार कुल ५० जनालाई एन्फाको तर्फबाट जनही १ हजार ५ सयको दरले चेक प्रदान गरिएको हो ।
त्यस्तै, एन्फाको राहत वितरण कार्यक्रममा लायन्स क्लव अफ पोखरा सेनटेनियललेपनि खेलाडी तथा खेल पदाधिकारीहरुलाई नगद राहत वितरण गरिएको थियो । जनही १ हजारका दरले राहत वितरण गरिएको क्लवका अध्यक्ष पर्वत कायस्थले जानकारी दिए ।कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, सहारा क्लव पोखराका अध्यक्ष केशबबहादुर थापा लगायतले राहत हस्तान्तरण गरेका थिए ।कार्यक्रममा बोल्दै खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरीले कोभिड–१९ बाट प्रभावित खेलाडी तथा खेल पदाधिकारीलाई रकम सानै भएपनि खेलाडीलाई राहत पुग्ने बताए । खेलाडीलाई अप्ठेरो पर्दा सम्बन्धित खेल संघले हामी छौं है भन्ने विश्वास दिलाउनुपर्ने भन्दै उनले भने,‘खेलाडीको सुख, दुःखमा सहारा बन्न नसक्ने खेल संघको कुनै औचित्य हुन्न, यसलाई मनन् गरेर एन्फा कास्कीले राहत वितरण गरेकोमा धन्यवाद ।’ खेलाडीलाई नगद प्रदान पश्चात बोल्दै गिरीले खेलाडीको समस्या, सफलता र पिडाको कथा कलम मार्फत उजागर गर्ने मञ्चले खेलाडी हकहितको लागि काम गर्दै आएको औल्याए । कोरोनाको कारणले वर्षेनी प्रदान गर्दै आएको पोखरा स्पोर्टस अवार्ड समेत प्रभावित भएको बताए । ‘खेलाडीलाई प्रोत्साहन स्वरुप हामिले गर्दै आएको पोखरा स्पोर्टस अवार्ड कोरोनाको कारण प्रभावित बनेको छ । कोरोना संक्रमण सकिए हामिले अवार्ड वितरणलाई निरन्तरता दिने छौ’ उनले भने । संक्रमण बढ्दो क्रममा रहेकाले आफै सुरक्षित रहदैँ सरकारको नियम पालना गर्न समेत आग्रह गरे ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले एन्फा केन्द्रले खेलाडीलाई राहत स्वरुप ७५ हजार पठाएको र सो रकम जस्ताकोतस्तै वितरण गरिएको बताए । अध्यक्ष गुरुङले खेलाडी तथा पदाधिकारीलाई केहि समय पहिले नै सहयोग गर्नुपर्ने भएपनि नाम संकलनको कारणले ढिला भएको बताए । एन्फाले मोफसलमा रहेका फुटबल संघ मार्फत खेलाडी तथा पदाधिकारीलाई सहयोग गर्नु खेलाडीको लागि मात्र नभएर संघको लागि समेत महत्वको विषय रहेको बताए । त्यस्तै लायन्स क्लब अफ सेन्टेनियलका अध्यक्ष प्रगत कायस्थले संघले गर्ने हरेक सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले खेलाडीको हौसला प्रदानगर्न संघले गरेको कार्यप्रति आभार प्रकट गरे ।
Comments are closed.