‘एमाले आउन ढिला नगरौँ’ :नेता रुद्र रानाभाट

पोखरा ।

नेकपा माओवादी केन्द्र छोडेका कस्केली नेता रुद्र रानाभाटले नेकपा एमाले प्रवेश गर्न माओवादी नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । शुक्रबार मादी गाउँपालिका ७ छाचोकमा आयोजित चुनावी सभामा बोल्दै उनले अबको विकल्प एमाले भएकाले एमाले प्रवेश गर्न आह्वान गरेका हुन् ।

माओवादी छोडेर एमाले आउनेलाई सम्मानित पूर्वक व्यवस्थापन गरिन भएकाले ढिला नगर्न उनले सुझाए । ‘माओवादी केन्द्र र त्यहाँका नेताहरुलाई लाञ्छना लगाउन चाहँदिनँ । साथीहरुलाई विनम्र साथ भन्छु नेकपा एमालेमा आउन ढिला नगर्नुहोला,’ उनले थपे, ‘३० गतेसम्म भनेको शुभ समय हो । तिहारमा टिका साइतमा लगायो भने त्यसको अर्थ हुन्छ । भोलिपल्ट लगाए त्यो कार्टुन बन्छ । त्यसैले ३० वैशाखभन्दा ढिलो नगर्नुहोला ।’

माओवादी केन्द्र मादी गाउँपालिका कमिटी उपाध्यक्ष रहेका रानाभाट गत २० वैशाखमा एमाले प्रवेश गरेका थिए । अहिले चुनाव जित्न र जनतालाई झुक्याउन पाँच दल एकजुट भएको तर चुनाव सकिएपछि गठबन्धनको नाम निशान नरहने उनले दाबी गरे ।

चुनावी सभामा बोल्दै मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले मादीमा चुनाव जितेर स्वार्थ पूर्ति गर्न एक भएका दललाई सबक सिकाउने बताए । उनले झुटा आश्वासन दिने गठबन्धनका उम्मेद्वारको विश्वास नगर्न मादीका मतदातालाई आग्रह गरे ।

बेरोजगारी घटाउन युवा केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिने अध्यक्ष उम्मेद्वार महेन्द्रले बताए । ‘युवाहरुका भविष्य उज्जवल बनाउने गरी कार्यक्रम ल्याउने छौँ । हाम्रोमा गरिबी कम छ । तर, भएकोलाई घटाउने गरी अगाडि बढ्छौँ,’ उनले भने ।

संघ र प्रदेशको बजेट ल्याएर भौगोलिक बनावटलाई मध्यनजर गरेर सडक बनाउने उनले बताए । अनुदान र तालिमका कार्यक्रममा पक्षपात नगरी सबैलाई जोड्ने अध्यक्ष उम्मेद्वार महेन्द्रको प्रतिबद्धता छ । ‘अध्यक्ष एउटा वडाको, उपाध्यक्ष एउटा वडाको भएर जित्यो भने हामीलाई हेर्दैन भन्ने नसोच्नुहोला । १२ वटै वडामा समान विकास गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ उनले भन ।

उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले चुनाव जितेपछि अघिल्लो अपुरा योजनालाई पूर्णता दिने र जनतामुखी नयाँ कार्यक्रम पनि ल्याउने बताइन् । ‘यहाँका महिला दिदीबहिनीलाई पेसा–व्यवसायमा जोड्ने छु । यहाँको पिछडिएको वर्ग, बालबालिका, वृद्धलाई पनि सम्बोधन गर्ने छु,’ उनले भनिन् । मादीबासीको जीवनस्तर उकास्न शिक्षा, र कृषिमा विशेष जोड दिने उपाध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाइन् ।

Comments are closed.