एमाले बैठकमा ओली– ‘कुनै पनि बेला चुनावमा जानुपर्ने हुनसक्छ, तयार रहनुस्

काठमाडौंबैशाख ६, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कुनैपनि बेला निर्वाचनमा जानसक्ने भएकाले त्यसका लागि तम्तयार रहन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभा पुनःस्थापना भएपनि यसले राजनीतिक स्थायित्व प्राप्त गर्ने सम्भावना कमजोर रहेको ओलीको निष्कर्ष छ ।
सोमवार बसेको एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले देश कुनै पनि बेला निर्वाचनमा जानुपर्ने भएकोले तम्तयार अवस्थामा रहन पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

‘कुनैपनि बेला निर्वाचनमा जानुपर्ने भएकाले त्यसका लागि तम्तयार हुन पार्टी पंक्तिलाई आह्वान गरिएको छ,’ राजनीतिक प्रतिवेदनबारे एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
प्रतिवेदनमा अहिलेको राजनीतिक परिस्थितिको समीक्षा र निष्कर्षको रूपमा अहिलेको संसद्ले निकास नदिने उल्लेख गरिएको छ ।

‘प्रतिनिधि सभा पुनःस्थापना भएपनि मुलुकले राजनीति स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्या समाधान गर्ने सम्भावना कम हुने कुरामा विशेष जोड दिइएको छ,’ ज्ञवालीले भने ।

ओलीले नेकपाको तीन वर्षको एकीकरणको समीक्षा गर्दै आफूहरूको प्रयास सही भएपनि केही गलत पात्र र प्रवृत्तिका कारण असफल भएको निष्कर्ष निकालिएको छ ।

‘सरकारका तीन वर्षे कामको समीक्षा गर्दै धेरै प्रतिकूलतामा पनि महत्त्वपूर्ण उपलब्धि हासिल भएको राजनीतिक प्रतिवेदनमा उल्लेख छ,’ ज्ञवालीले भने ।

बैठकले पार्टी निर्माण र वैचारिक संगठनात्मक काम, जनआधार निर्माणको कामलाई तीव्र बनाउने निर्णय गरेको छ ।

बैठकले विभाजनकारी गतिविधिमा लागेका नेतालाई फर्किन आग्रह गरेको र नफर्के कारवाही गर्ने निर्णय गरेको ज्ञवालीले बताए । लोकान्तर बाट साभार

 

Comments are closed.