पोखरा, १० पुस । पहिलानै कास्की ट्राफिकलाई दिएको जग्गामा पोखरा उपत्यका नगर विकास समितिले पुनः टेण्डर खोलेर अर्कैलाई दिन थालेपछि, कास्की प्रहरी प्रमुख हरिबहादुर पालले समितिका अध्यक्ष प्रकाश खनालको सातो लिएका छन् ।
घटना करिब एक हप्ता अघिको हो । नगर विकासले खोलेको टेण्डर सवारी साधन चलाउन सिकाउने एउटा कम्पनीले पारेर काम गर्न सुरु गरेको थाहा पाएपछि, एसपी पाल सोही स्थानमा पुगेका थिए ।
त्यसपछि, उनले ट्राफिकलाई दिइएको जग्गामा तारबार लगाउन लगाएर, जहाँ जान परे पनि आफु नजाने तर ट्राफिकलाई प्राप्त भइसकेको ब्यापारीक प्रायोजनका लागि चलाउन नदिने बताएका थिए ।
“को हो प्रकाश खनाल ? मनपरी सरकारी जग्गा, त्यो पनि अरुलाई दिइसकेको बाँड्ने ?” – एसपी पालले भनेको कुरा उदृत गर्दै स्रोतले पोखरा हटलाइनसँग भन्यो–“अरु सरकारी जग्गा संरक्षण गर्नेकै जग्गा हडप्न खोज्ने ? हेरौला कसले लैजादौ रहेछ ।” स्रोतका अनुसार टेण्डर पारेर काम गरिरहेकाहरुको काम रोक्न प्रहरी गएपछि, उनिहरुले अध्यक्ष खनाललाई बोलाएका थिए । खनाल आएपछि, काम रोक्न गएका प्रहरीले एसपीलाई खबर गरे । एसपी आउने खबर पाएपछि, अध्यक्ष खनाल त्यहाँबाट हिँडेका थिए । वि.सं. २०६२ सालमा बसपार्कमा रहेको ट्राफिक कार्यालय हटाउने बेलामा, पृथ्बीचोक नजिकैको जग्गा ट्राफिकलाई दिने निर्णय भएको थियो । उक्त निर्णय तत्कालिन अध्यक्ष बिष्णु बाँस्तोलाको अध्यक्षतामा बसेको बैठकले कार्तिक १४ गते गरेको थियो । उक्त निर्णय अनुसार पृथ्बीचोकमा पूर्वतर्फ चाइना हेनानको अग्लो पर्खाल, पश्चिमतर्फ सामुदायिक सहारा क्लबको बाटो, उत्तरतर्फ प्रर्दशनी केन्द्रको पर्खाल र दक्षिणतर्फ टिम्बर कर्पोरेशनको जग्गाको सीमाना भनेर किटान भएको थियो ।
नगर विकास समितिले जग्गा दिने निर्णय गरेपछि, ट्राफिकले बोर्ड समेत राखेको थियो । तर टेण्डर प्राप्त गरेका ब्यक्तिहरुले बोर्ड हटाएर काम सुरु गरेका थिए ।
समितिका अध्यक्ष प्रकाश खनालले एसपी पालले आफुलाई हकारेको कुरा अरु मार्फत सुनेको भन्दै आफ्नै कानले नसुनेको कुरालाई आफुले गम्भिर रुपमा नलिने बताए ।
उनले बि.सं. २०६२ सालमा जग्गा दिने निर्णय भएपनि, ट्राफिक प्रहरीले जग्गा लिने बारेमा प्रक्रिया केही सुरु नगरेको र पछि ट्रक संचालक समितिले भाडामा लिइरहेकाले धेरै रकममा पुनः टेण्डर आह्वान गरिएको बताए । उनले प्रहरीले जग्गा कब्जा गरेको भन्दै कानुनी प्रक्रियामा जाने पोखरा हटलाइनसँग बताए ।
एसपी पालले कुनै हालतमा ट्राफिकलाई प्राप्त भइसकेको जग्गा अरुलाई भोगचलन गर्न नदिइने भन्दै कानुनी प्रक्रियामा जान कास्की प्रहरी पनि तयार रहेको बताए ।
“ट्राफिक प्रहरी कुन हालतमा बसेका छन् । सबै पोखरेलीले थाहा भएकै कुरा हो”–एसपी पालले पोखरा हटलाइनसँग भने–“बर्षायाममा पानीमा रुझेर बस्ने । सुत्नका लागि खाट नभएर भुइमा सुत्नु पर्ने अवस्थामा रहेका ट्राफिकलाई दिइएको जग्गा खोस्ने काम सह्य हुँदैन ।”
Comments are closed.