पोखरा, जेठ ३१
पोखराको लेकसाईडमा रहेको ओजन डिस्कोमा झगडा मिलाउन पुगेका प्रहरीमाथी कुटपिट गर्ने मुख्य अभियुक्तलाई प्रहरीले करिब ४ महिनापछि पक्राउ गरेको छ । गत फागुन २३ गते राती डिस्कोमा झगडा मिलाउन पुगेका प्रहरी जवान भीम बहादुर रानामाथी रड र वियरका बोतलले हानेर गम्भिर घाईते बनाउने कार्यका मुख्य दोषी भनिएका २६ बर्षीय प्रशान्त गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो । यही जेठ ३० गते पोखराको रामबजारबाट पक्राउ परेका गुरुङ्गलाई कास्की जिल्ला अदालतले आइतबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
गुरुङ्ग उक्त घटना लगत्तै फरार थिए । प्रहरीले उनको लामो समयदेखि खोजी गरिरहेको थियो । दुई समूहबीच भएको झगडा मिलाउन गएका प्रहरीमाथी डिस्कोमा कार्यरत युवाहरु आक्रमणमा उत्रिएका थिए । रानालाई ज्यानै मार्ने उद्देश्यले फलामे रड, वियरका बोत्तल र घातक हतियारले टाउको र संवेदनशिल अंगमा हानिएको प्रहरीको दावी छ ।
आक्रमणमा परी प्रहरी जवान राना गम्भिर घाईते भएपछि कास्की प्रहरीले आक्रमणमा उत्रिने ओजन डिस्कोका संचालक एवं एमाले युवा संघ गण्डकीका उपाध्यक्ष शिव गुरुङ्गसहित एक दर्जन युवालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका ओजन डिस्को एण्ड बारका संचालक महेन्द्र गुरुङ (भोटे) सहित १३ जनालाई १५ दिनपछि नै रिहा भएका थिए । प्रहरीले संचालक गुरुङ सहित त्यहाँ कार्यरत कर्मचारीलाई पक्राउ गरि सार्वजनिक मुद्धा र तिन जनालाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको थियो । सार्वजनिक मुद्धामा परेका १३ जना जनही दशदश हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । ज्यान मुद्धा लागेका किरण गुरुङ्ग यसअघि नै पुर्पक्षका लागि थुनामा परिसकेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिए ।
Comments are closed.