ओली नेपालको ३८ औं प्रधानमन्त्री

11218812_1076782532345665_2877840587260835469_nआश्विन २४, २०७२

एमाले अध्यक्ष केपी शर्मा ओली ३८ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । ओली नयाँ संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्री हुने सौभाग्य पाएका छन् ।

संसदको तेस्रो ठूलो दल एमाओवादी, चौथो ठूलो दल राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहितका साना दलको समर्थनमा ओली प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

संसदमा आइतबार भएको मतदानमा ओलीको पक्षमा ३३८ सांसद् उभिए भने उनका प्रतिद्वन्द्वी कांग्रेस सभापतिसमेत रहेका कामचलाउ प्रधानमन्त्री सुशील कोइरालाले २४९ मत पाए । प्रधानमन्त्री निर्वाचन प्रक्रियामा ५८७ जना सहभागी थिए ।

सहमतिको सरकार बनाउन प्रमुख दल एक ठाउँमा नआएपछि अन्तत: बहुमतीय प्रक्रियाबाटै प्रधानमन्त्री चयन भएको हो ।

ओली २०७० सालमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए ।

ओलीलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए भने राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका साना दलले समर्थन जनाएका थिए ।

सबैलाई साथ लिएर अघि बढ्छु : नवनिर्वाचित प्रधानमन्त्री ओली

२४ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

व्यवस्थापिका संसदको आइतबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने बताए ।

शान्ति सुव्यवस्था कायम गर्ने र रचनात्मक कामलाई प्राथमिकता दिने उनले बताएका छन् । ओलीले आफूलाई मत दिने तथा समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

Comments are closed.