पोखरा, २९ चैत ।
नर्सिङकी विद्यार्थी ओसिम गुरुङको रहस्यमयी हत्या भएको भन्दै पोखराका नर्सिङ कलेजका विद्यार्थीहरुले विरोध जनाएका छन् । हत्याको सत्यतथ्य छानविनका लागि उनीहरुले पोखरामा आईबार बृहत शान्ति र्याली निकाले ।
पोखरा नर्सिङ कलेजका विद्यार्थीहरुको अगुवाईमा भएको र्यालीमा स्वतस्फुर्त रुपमा मानिसहरुले सहभागिता जनाएका थिए । विभिन्न नर्सिङ कलेजका विद्यार्थीहरुसँगै, शिक्षकशिक्षिका, संचारकर्मी, मानवअधिकारकर्मीहरु ‘ओसिम हत्याको सत्यतथ्य छानविन हुनुपर्ने’, ‘हत्यारालाई कारबाहि हुनुपर्ने’ जस्ता प्लेकार्डसहित र्यालीमा सहभागी भएका थिए ।
मानवअधिकारचोकबाट शुरु भएको र्यालीली चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, सृजनाचोक, रत्नचोक, राष्ट्रबैंक चोक हुँदै शहिदचोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभा मार्फत ओसिम गुरुङका साथीहरुले प्रशासनलाई चाडो भन्दा चाँडो हत्याको सत्यतथ्य छानविन गर्न दवाव दिए । महिला हिंसा तथा बलात्कार विरुद्धको अभियानका संयोजक सुस्मा पौडेलले घटनाको प्रकृति हेर्दा ओसिमले आत्महत्या नगरि हत्या गरेको जस्तो देखिएकोले छानविन निष्पक्ष रुपमा हुनुपर्नेमा जोड दिईन् ।
नेपाल नर्सिङ संघ कास्कीका उपाध्यक्ष क्षेत्र रोकाया, ओसिमका काका दिपक गुरुङ तथा अन्य विद्यार्थी संगठनका पदाधिकारीहरुले सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरे ।
ओसिम गुरुङको गत माघ २ गते उनका प्रेमी मनोज गुरुङ र उनको परिवारले नवलपरासीस्थित रामनगरको घरमा हत्या गरेको आफन्त र साथीभाईहरुले आरोप लगाएका छन् । मनोजको परिवारले भने आत्महत्या गरेको दावी गर्दै आएको छ ।
Comments are closed.