औधोगिक व्यापार मेला अनिश्चित

पोखरा, २३ कार्तिक
पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १० देखि २० गतेसम्म पोखरामा आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ अनिश्चितकालको लागि पर धकेलिएको छ । संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको २१ औँ बैठकले मेला अनिश्चितकालको लागि पर सार्ने निर्णय गरेको महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिए ।

संघले वर्तमान विषम परिस्थितिका कारण मेला पर सार्नु परेको जनाए पनि सीमामा जारी अवरोध र भारतको अघोषित नाकाबन्दीले सृजना गरेको विषम परिस्थितिलाई ध्यान दिएरै मेला पर धकेलिएको हो ।

यस अघि लेखनाथ उद्योग वाणिज्य संघले समेत घोषित मेला पर सारेको जनाएको थियो । पोखरा उद्योग वाणिज्य संघका महासचिव प्रजुका अनुसार स्थिति सहज भएपछि मेला आयोजना हुनेछ ।

मेलाको आगामी मिति लेखनाथ उद्योग वाणिज्य संघसँगको छलफलपछि तय गरिने उनले जनाए । कास्कीमा रहेका दुई उद्योग वाणिज्य संघले यस अघि आपसी समझदारीमा भिन्नाभिन्नै समयमा मेला गर्ने घोषणा गरेका थिए ।

Comments are closed.