एक हजार आठ सय लाईसेन्समा प्वाल
दुर्घटनामा कमी
पोखरा, २८ जेठ
जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी चेकजाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीको कडाइसँगै सवारी दुर्घटनामा पनि कमी आएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु माथी चेकजाँचमा कडाई गरेपछि पछिल्लो समय सडक दुर्घटनामासमेत कमी आएको प्रहरीको दाबी छ ।
जिल्ला ट्राफिक कार्यालय कास्कीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा २४ वटा मात्र सडक दुर्घटना भएका छन् । चालु आवको हालसम्मको तथ्याङ्क अनुसार यो संख्या ७८ पुगेको छ । गत आर्थिक वर्ष २०७०÷०७१ मा ८७ वटा सडक दुर्घटना भएका थिए ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुको सवारी चालक अनुमति पत्रमा प्वाल पार्न थालेपछी मापसे गरी सवारी चलाउनेहरुको संख्या घट्दै गएको छ ।
‘लाईसेन्समा प्वाल पार्न थालेपछि मापसे गरेर सवारी चलाउनेहरु घटे र सडक दुर्घटनामा पनि कमी आएको छ’, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख श्यामु अर्यालले भने । चालु आवमा मात्र एक हजार सात सय ९५ जनाको लाईसेन्समा प्वाल पारिएको उनले जानकारी दिए ।
दुर्घटनाको संख्यामा कमी आएपनी ठूला प्रकृतिका एउटै दुर्घटनामा धेरै मानिसको ज्यान जान सक्ने भएकाले मृत्यु संख्यामा भने सुधार आउन नसकेको प्रहरीको भनाई छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेको लाईसेन्समा प्वाल पार्ने काम कास्कीमा गत आर्थिक वर्षदेखि सुरु भएको थियो । मापसे वाहेक जथाभावी सवारी चलाउने, ड्युटीमा रहेको ट्राफिकसँग अनावश्यक विवाद गर्ने जस्ता कार्य गरे सवारी चालकहरुको अनुमति पत्रमा प्वाल पार्ने उनले जानकारी दिए ।
मापसे गरेर सवारी चलाउनेको संख्यामा कमी ल्याउन जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लाका विभिन्न ठाउँमा हरेक हप्ता जनचेतना मुलक दुई वटा कक्षा संचालन गर्दै आएको छ । तर, पछिल्लो समयमा सहभागि नै नहुँदा ती कक्षाहरु समेत चल्न सकेका छैनन् । यस वाहेक राजमार्ग र आसपासका विद्यालयलाई लक्षित गरि जिल्ला ट्राफिक कार्यालयले ट्राफिक सचेतना संवन्धि कार्यक्रम समेत चलाउँदै आएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीमा अहिले ६१ जना कार्यरत छन् । न्यून जनशक्तिका कारण अझैपनि ट्राफिक सचेतना सम्वन्धिका कार्यक्रमहरु गाँउ गाँउसम्म पुग्न सकेका छैनन् ।
विभिन्न संघ सस्था तथा सरोकारवाला अन्य निकायहरुसँग समन्वय गर्दै ट्राफिक कार्यालयले शहरका विभिन्न ठाँउमा जेव्रा क्रस, रोड मार्किङ, तथा पार्किङ रेखा वनाएको छ । हाईवे सडकमा १ सय ९३ वटा ट्राफिक संकेत वोर्ड, नो पार्किङ एरिया निर्धारण, फुटपाथ व्यवस्थापन, शहर भित्रका अव्यवस्थित होर्डिङ वोर्ड तथा निर्माण समाग्री हटाउने, पोखरा नगर भित्रका सडकमा रोड डिभाईडर थप गरेर व्यवस्थित लेन निर्माण गदै आएकाले प्रशंसनीय वन्दै गएको छ ।
Comments are closed.