कम्युनिष्ट नेता सोमनाथ अधिकारी प्यासी द्वारा प्रदेश १ प्रमुखको पदभार ग्रहण

विराटनगर : कास्की पोखराका नेता सोमनाथ अधिकारी प्यासी ले बुधबार साँझ प्रदेश नम्बर १ को प्रदेश प्रमुखमा पदभार ग्रहण गरेका छन्। २०४८ सालको आम निर्वाचनमा कास्की–३ सांसद रहेका प्यासी २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा उम्मेदवार भएपनि पराजित भएका थिए। पार्टीमा भने उनी आठौँ र नवौँ महाधिवेशनबाट निर्वाचन आयोग प्रमुखका रूपमा काम गरेका थिए। काठमाडौंबाट बुधबार विराटनगर विमानस्थल ओर्लिएलगतै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले स्वस्ती वाचन र सेनाको सलामीपछि पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै उनले ‘नेपालको संविधानको धारा १६३ (२) बमोजिम सम्माननीय राष्ट्रपतिबाट मिति २०७६/७/१८ गते प्रदेश-१ को प्रदेश प्रमुखमा नियुक्त भई २०७६/७/१९ गते सम्माननीय राष्ट्रपति समक्ष पद तथा ओहदाको गोपनीयताको शपथग्रहण गरी आज मिति २०७६/७/२० गतेका दिन प्रदेश १ को राजधानी विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई कार्यभार सम्हाल्न पदबहाली गरेँ साथै कार्यालय सञ्चालनको अवस्थाबारे कर्मचारीहरूसँग जानकारी लिएँ’ लेखेका छन्। पदभार ग्रहण गर्दै प्रदेश प्रमुख अधिकारीले आफ्नो पदलाई तडकभडकपूर्ण नबनाउने बताए। प्रदेशका राजनीतिक शक्तिहरू, सामाजिक सांस्कृतिक आयामहरू, यहाँका आर्थिक र शैक्षिक क्षेत्रको अवस्था आदिको बारेमा जानकारी लिएर व्यवस्थितरूपमा आफ्नो कामलाई अघि बढाउने उनले बताए। उनले आफ्नो निश्चित जिम्मेवारी रहने भन्दै संविधान र कानूनअनुसार भएका निर्णयहरू कार्यान्वयन गर्ने तथा सोही अनुसार निर्देशनको भूमिका निर्वाह गर्ने उनले बताए। नवनियुक्त प्रदेश प्रमुख अधिकारी मंगलबार काठमाडौंमा शपथग्रहण गरी बुधबार अपरान्ह विराटनगर आएका हुन्। उनलाई विराटनगर विमानस्थलमा प्रदेश सरकारका मन्त्रीहरूले स्वागत गरेका थिए।

Comments are closed.